दुर्गमका गर्भवतीको पीडा, हेलिकोप्टर भए ज्यान जोगिन सक्छ


प्रकाशित मिति :2017-11-09 13:21:30

अप्रिल अधिकारी\महिला खबर

रामेछाप । उमाकुण्ड गाउँँपालिका–१ गुम्देल तेक्षिम गाउँँकी ३८ वर्षीया डाली शेर्पालाई चौरी गोठमा सुत्केरी व्यथाले च्याप्यो । उनी सहज रुपमा गाउँँमै सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट काठमाडौं लगियो । काठमाडौंको सुविधा सम्पन्न अस्पतालमा सफलतापूर्वक सन्तान जन्माइयोे । हाल आमा र बच्चा दुबैको स्वास्थ्य अवस्था राम्रो छ ।

डालीलाई काठमाडौंसम्म लग्नका लागि हेलिकोप्टर चार्टर गरे बापत १ लाख ५० हजार तिर्नुप¥यो ।

केही समय अघि गुम्देलकै पुटी शेर्पालाई सुत्केरी व्यथाले च्याप्यो । गाउँमै साधारण तरिकाले सुत्केरी हुने अवस्था नदेखिएपछि उनलाई पनि हेलिकोप्टरबाट काठमाडौं लगियो । तर समयमै अस्पताल पु¥याउन नसकिएपछि पेटको सन्तान गुमाउनु पर्यो । निकै मुस्किलका साथ चिकित्सकले आफ्नो ज्यान बचाएको उनले सुनाइन् ।

हेलिकोप्टरबाटै सुत्केरी हुन गुम्देलकै छोटी शेर्पा पनि केही समय अघि काठमाडांै पुगिन् । चिकित्सकले शल्यक्रिया गरेर आमा र सन्तानको ज्यान जोगाए । हेलिकोप्टरबाट समयमा नै अस्पताल पुर्याइएकाले आमा र सन्तान दुबैको ज्यान सकुशल छ ।

फायल फोटो

ग्रामिण भेगका गर्भवती महिलाले सुत्केरी हुनका लागि आर्थिक, शारीरिक र मानसिक रुपमा व्यहोर्नु पर्ने भार सम्बन्धि यी त केवल उदाहरणीय घटना मात्रै हुन् । वैवाहिक जीवनका लागि अनिवार्य जस्तै मानिने सन्तानोत्पादन कार्य पहाडि जिल्लामा अभिशाप बनिदिदा त्यहाँका मान्छेहरूले राज्यविहीनताको अवस्था महसुस गर्न बाध्य छन् ।

गाउँमै परम्परागत हिसाबले सहजै सुत्केरी हुन नसकेको अवस्थामा सहरका अस्पतालमा लैजान ठूलो धनराशी खर्च गर्नुपर्ने बाध्यता छ । हुनेखानेहरूले त महिला र सन्तानको ज्यान जोगाउन हेलिकोप्टरको बन्दोबस्त पनि गर्न सकेकै छन् तर हुँदा खानेहरूका लागि भने सन्तान जन्माउने निर्णय सोचनीय विषय बन्ने गरेको छ भन्छन् गुम्देलका स्थानीय रामचन्द्र विक । ‘आर्थिक रुपमा बिपन्नले गर्भवतीलाई अस्पताल लैजान नसक्दा महिलाको ज्यानै जान्छ’ उनले थपे ।

स्थानीय स्वास्थ्य संस्थामा रहने स्वास्थ्यकर्मीहरूसँग गर्भ परिक्षण गराउँदा पनि त्यसले खासै महत्व राख्न नसकेको स्थानीय महिलाहरू बताउँछन् । गर्भावस्थामा गर्भ परिक्षण गर्दा स्वास्थ्यकर्मीले सामान्य भनेर सुझाव दिए पनि कतिपयमा भने सुत्केरी अवस्थामा ठूलै समस्या आएका उदाहरणहरू पनि बाक्लै रहने गरेको छ । स्वास्थ्यकर्मीले सामान्य भनिएका महिलाहरू स्वास्थ्यकर्मीको भरमा ढुक्कले बस्दा अन्तिम अवस्थामा जटिल समस्या आएपछि काठमाडौंका सुविधा सम्पन्न अस्पतालमा जानुको विकल्प नहुने उनीहरू बताउँछन् ।

जिल्लाको उत्तरमा रहेको दुर्गम गाउँ गुम्देलमा १२ महिना नै सडक संचालन हुदैन । बर्षातको समयमा सडकमा ठूलै सास्ती व्यहोर्नु पर्ने यहाँका सडकहरूमा हिउँदमा समेत यातायातका साधन संचालन हुन कठिनाइ हुन्छ । सडक समस्याका कारण यहाँ एम्बुलेन्स सेवा पनि उपलब्ध छैन । भर्खरै मात्र गाउँमा एम्बुलेन्स पुगेको भए पनि प्रभावकारी रुपमा संचालन हुन भने नसकेको उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्कीले बताइन् ।

गाउँमा भर्खर पुगेको एम्बुलेन्स भएकोले पनि व्यवस्थित संचालनका लागि तयारीहरू भइरहेको उनले जानकारी दिइन् । यातायात सुचारु हुँदा पनि सडक मार्गबाट काठमाडौं पुग्न पुरै दिन खर्च गर्नुपर्ने अवस्था छ । सडकको दुरावस्थाका कारण पनि नियमित र प्रभावकारी एम्बुलेस सेवा संचालनमा समस्या हुने कार्कीले बताइन् ।

सडक सुचारु भएको अवस्थामा स्वस्थ मान्छेलाई समेत सडक यातायातका साधनबाट काठमाडौं पुग्न कठिन हुन्छ भने सुत्केरी हुने बेलाका महिलाहरूका लागि भने झन् यात्रा कष्टकर हुने गरेको स्थानीयहरू बताउँछन् । सडकलाई व्यवस्थित गर्नु यस क्षेत्रका बासिन्दाहरूका लागि पहिलो आवश्यकता रहेको कार्कीको भनाइ छ ।

बर्थिङ सेन्टरको तयारी

गाउँका गर्भवती महिलाहरूका लागि गाउँमा प्रभावकारी रुपमा गर्भ परिक्षण र सहज रुपमा सुत्केरी हुनेसक्ने स्थिति नरहेको उपाध्यक्ष कार्कीले बताइन् । उनले महिलाहरूका लागि कम खर्च र कम जोखिममा सुत्केरी हुन गाउँमा बर्थिङ सेन्टर संचालन गर्ने तयारी भइरहेको समेत बताइन् ।

यता जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख प्रकाश प्रसाद शाहले गुम्देलमा वर्थिङ सेन्टर संचालन गर्ने उद्देश्यका साथ त्यहाँको स्वास्थ्य चौकीमा स्थायी कर्मचारी पठाइएको तर भवन अभावका कारण बर्थिङ सेन्टर संचालन गर्न समस्या भएको बताए ।

उनले स्थानीय निकायबाट भवन बनाउन सक्ने स्थिति भएर भवन बनेमा त्यसका लागि जिल्ला स्वास्थ्य कार्यलयले आवश्यक औजार तथा उपकरणहरूको प्रबन्ध गरेर नियमित रुपमा संचालन गर्न सक्ने बताए । त्यस क्षेत्रका महिलाहरूलाई सुत्केरी हुने ठूलै खर्च लाग्ने र जोखिम पनि उतिकै रहेको अवस्थाले निकट भविष्यका त्यस क्षेत्रमा बर्थिङ सेन्टर संचालन गर्ने तयारीमा रहेको स्वास्थ प्रमुख शाहले जानकारी दिए ।

गुम्देलका महिला सुत्केरी हुन अझै पनि पुरानै चलनको विधि अपनाउने गर्दछन् । उनीहरू कित झुन्डिएर या त थिचिएर सुत्केरी हुँदै आएका छन् । महिलाहरूले यो सामान्य हुन्छ भन्ने ठानेर केही लापर्वाही गर्ने गरेका कारण पनि उनीहरूमा समस्या आउने गरेको स्थानीय रामचन्द्र बिकले बताए ।

धेरै जटिल अवस्था आएमा मात्र महंगो शुल्क तिरेर हेलिकोप्टर चार्टर गर्दछन् । गाउँमा पुगेको संचार सुविधाले त्यसलाई सहज बनाएको स्थानीयहरू बताउछन ।

गुम्देल जिल्लाको सबै भन्दा ठूलो गाविस (हाल गाउँपालिकाको एउटा वडा) हो । सो गाविसको लाहाछेवरको महिलाले स्वास्थ्य संस्था जान समेत एकदिन पैदल नै हिडनु पर्ने अवस्था छ । गर्भ परिक्षण र नियमित खोप सेवा लिन जान समेत मुस्किल पर्ने त्यस क्षेत्रका महिलाहरूले बताउदै आएका छन ।

पुर्वाधार पुगेका स्वास्थ्य चौकीहरूमा सुरक्षित सुत्केरी सेवा भएपनि जिल्लाका गुम्देल जस्ता विकट गाउँमा भने जिल्ला स्वास्थ्यले हालसम्म प्रभावकारी सुत्केरी सेवा संचालन गर्न सकेको छैन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: