रुपा गहतराज\महिला खबर
नेपालगंज । बाँके जिल्ला सुत्केरी र गर्भवतीको मृत्यु हुने दरमा उच्च रहेको छ । सुधारका लागि अब प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखिएको छ ।
गर्भवती महिलाको स्वास्थ्य जाँच, निगरानी र हेरचाहका लागि यसअघि स्वास्थ्य चौकीले महिला स्वास्थ्य स्वयम्सेविकाको सहयोग लिँदै आएपनि अब प्रविधिको प्रयोगलाई प्राथमिकताको रुपमा अघि सार्ने तयारी गरिएको हो ।
मातृ तथा बाल स्वास्थ्य सेवा समन्वयका लागि मोबाइल सेवा कार्यक्रमको लागि आयोजित गोष्ठीमा बाँकेमा मातृ मृत्युदर उच्च रहेको देखाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँके र मेडिक मोबाइल गैरसरकारी संस्थाले आयोजना गरेको गोष्ठीमा बाँकेमा सुत्केरी र गर्भवतीको अवस्थामा सुधार गर्न मोबाइल प्रयोग विधिलाई प्राथमिकतामा राखेको बताइएको छ ।
स्वास्थ्य चौकी र अस्पतालमा कम्प्युटर प्रणाली मार्फत गर्भवतीको मोबाइल नं.लाई लिंक गरेर गर्भवतीले जाँच गर्नुपर्ने समय, सुत्केरीको मिति, खोप लगाए नलगाएको तथा सुत्केरीलाई प्रवाह हुनुपर्ने सेवा लगायत विषयमा निगरानी राख्ने विधि अघि बढेको हो । गर्भवतीको स्वास्थ्य जाँचदेखि सुत्केरी हुँदासम्म विभिन्न मानवीय तथा व्यवहारिक लापरवाहीले समस्या उत्पन्न हुने गरेको स्वास्थ्यकर्मीको भनाई छ ।
स्वास्थ्य संस्थामा पुगेको २ घण्टापछि मात्र गर्भवतीले सेवा पाउने गरेको तथ्याँक सार्वजनिक गर्दै सो विषयमा भएको लापरवाही बारे निगरानी बढाउने तयारी अघि सारिएको छ । त्यस बाहेक एम्बुलेन्स व्यवस्थापन, बाटो असुविधा, लगायत विभिन्न कारणहरू मातृ मृत्युदरको कारक रहेको स्वास्थ्य अधिकृत सरिता चन्दले जानकारी दिइन् ।
प्रारम्भमा बाँकेका १५ वटा स्वास्थ्य संस्थाहरू मेडिक प्रविधि लागु गर्न लागिएको छ । उच्च सुधारको अपेक्ष गरिएको बाँकेमा ५३ प्रतिशत महिला स्वास्थ्य संस्था बाहिरै सुत्केरी हुने गरेको तथ्य पनि सार्वजनिक गरिएको छ ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख खिम बहादुर खड्का, बाँकेका सबै गाउँपालिका र नगरपालिका प्रमुख, स्वास्थ्य संस्थाका पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो ।
Comment Here!