रेडियोमा बोल्ने रहरले अभियन्ता बनिन् मच्छे


प्रकाशित मिति :2017-11-14 11:04:26

–महिला खबर –

काठमाडौं ।  सानोमा रेडियोमा मान्छे बोलेको सुन्दा उनी अचम्म मान्थिन् । यो सानो भाँडोमा कसरी मान्छे पसेर बोलेका होलान् भन्ने जिज्ञासा हुन्थ्यो । पछि त्यही रेडियोमार्फत उनले आफ्नो आवाज मात्र दिइनन्  आम महिलाको आवाजलाई बाहिर ल्याउन सफल भइन् । उनी हुन् दुर्गम जिल्ला सोलुखुम्बुको अति विकट गाउँ मुक्लीको मैदेलमा जन्मेकी मच्छे गुरुङ ।

रेडियोमा त्यसरी बोल्न सकुँला  भन्ने सोचेकी पनि थिइनन् उनले । जहाँ इच्छा, त्यहाँ उपाय, आवाजविहिन महिलाको मुद्धालाई राष्ट्रियकरण गर्ने र महिलाको मुद्धालाई मानव अधिकारको रुपमा स्थापित गराउने अभियान लिएर उनी रेडियो सगरमाथासँग जोडिन पुगिन् । रेडियो प्रवेश उनका लागि महिला अधिकारको लागि काम गर्ने खुड्किलो बन्यो । शासनमा गरीब र सिमान्तकृत महिलाको सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले उनले ५ बर्ष रेडियो कार्यक्रम चलाइन् ।

राज्यका ४ महत्वपूर्ण अंग शिक्षा विद्यालय व्यवस्थापन समिति, स्वास्थ्य, खानेपानी र वन उपभोक्ता समितिमा महिला सहभागिताको लागि उनले रेडियोमार्फत चलाएको अभियानले सार्थकता पायो । अहिले शिक्षा, स्वास्थ्या, खानेपानीमा महिला सहभागिता देखिएपनि बन उपभोक्ता समितिमा महिलाको उपस्थिति उल्लेख्य रुपमा देख्न सकिन्छ ।

गाउँकै स्कूलबाट एसएलसी गरेकी उनको संघर्षका दिन उच्च शिक्षा अध्ययनका लागि राजधानी छिरेपनि शुरु भयो । रत्नराज्य लक्ष्मी क्याम्पसमा आइए भर्ना सगैँ उनले काम गर्न थालिन् । पढाइसँगै काम गर्दै जाने सिलसिलामा जब उनी महिला अधिकार र बालिकाको शिक्षाको बारेमा सचेत हुँदै गइन् तब उनलाई महिलाको बिषयमा बोल्ने र आवाज उठाउने भनेको मिडिया रहेछ भन्ने लाग्यो । त्यसपछि नेपाल प्रेस इन्स्टिच्युटबाट पत्रकारिता सम्बन्धि तालिम १० महिनाको कोर्ष गरिन उनले ।

गाउँमा हुर्कदादेखि नै समाजमा महिलामाथि भएको लैंगिक हिंसा र जातिय विभेदलाई नियालेकी उनले कलेज पढदादेखि नै यस्ता विभेद विरुद्ध लाग्ने निधो गरिन । बालश्रमिकका लागि अनौपचारिक शिक्षा क्षेत्रमा ४ बर्ष काम गरेपछि उनले एक गैरसरकारी संस्था मार्फत महिलाको मुद्धामा काम गर्ने अवसर पाइन । दुईबर्ष सम्मको कामको दौरानमा महिला अधिकार, महिला शिक्षा, समान अधिकार, महिला स्वास्थ्य, महिला हिंसा र राजनीतिमा महिला सहभागिताका बिषयमा उनलाई राम्रो सिकाई भयो ।

पत्रपत्रिकामा महिलाको बिषयले राम्रो कभरेज नपाएको देखेर, आवाजविहिन महिलाको आवाज उठाउन र वकालत गर्न मिडिया मात्र प्रभावकारी माध्यम हो भन्ने लाग्यो । त्यसपछि, गुरुङले महिला अधिकारको बारेमा आवाज उठाउनका लागि सञ्चार माध्यम प्रभावकारी भएको ठम्याइन र मिडियालाई पेशाको रुपमा रोजिन । एन्टेना फाउन्डेसनमा इन्टर्नसिपबाट शुरु गरेको पत्रकारिता रेडियो सगरमाथामा पुगेर अझ, निखारिने मौका मिल्यो उनलाई । सगरमाथामा काम गर्दै गर्दा उनी जनजाति पत्रकार संघको ललितपुर शाखाको सदस्य र कोषाध्यक्षसमते हुनुभयो ।

रेडियोमा कार्यक्रम चलाउँदा महिलाका सवाललाई केन्द्रित गरेर रेडियो कार्यक्रम चलाउने उनले महिला अधिकार, महिला सहभागिता, महिला शिक्षा, रोजगारी, महिलाको बेचबिखन, महिला शशक्तिकरण र महिला हिंसा विरुद्धमा केन्द्रित रहेर ४ सय बढी कार्यक्रम बनाइन ।

रेडियोमा बारम्बार उठाएको राज्यका संरचनामा महिला सहभागिता कार्यान्वयन नै भयो । संविधानसभामा र हालको व्यवस्थापकिा संसदमा झण्डै ३३ प्रतिशत महिला सहभागिता हुनु ठुलो उपलब्धी मान्न सकिन्छ । यसको श्रेय उनलाई पनि जान्छ । समाजमा विद्यमान लैंगिक विभेद, अन्याय, अत्याचार र असमानताको विरुद्धमा आवाज उठाउन रेडियो सशक्त माध्यम रहेको उनको अनुभव छ ।

संविधानसभामा महिलाको सहभागिता र संविधानसभाभित्र महिला सभासदको अर्थपूर्ण सहभागिताका लागि उनले रेडियो कार्यक्रम सहअस्तित्व मार्पत निरन्तर दवाव दिइरहिन । पहिलो संविधानसभा विघटन भएको रात उनी रेडियोमा नै काम गर्दै थिइन । संविधानसभा विघटन भएको समाचार रेडियोबाट वाचन गर्दा उनलाई कम्ता दुख लागेको थिएन मुक्तकण्ठले उनले संविधानभा विघटन भएको समाचार वाचन गरेको दिन उनी आज पनि झलझलि सम्झन्छिन । महिलाको अधिकार मानव अधिकार हो र महिलालाई दोश्रो दर्जाको नागरिकको रुपमा हैन मानवको रुपमा व्यहार गरिनुपर्छ भनेर गुरुङले रेडियोमार्फत निरन्तर आवाज उठाइन ।

राज्यका हरेक संरचनामा महिला र त्यसमा पनि आदिवासी जनजाति महिलाहरुको समानुपातिक सहभागिताका लागि उनले रेडियो मार्फत निरन्तर पैरवी र वकालत गरिन । त्यसो त अहिले राज्यका संरचनामा महिलाको समानुपातिक सहभागिताको बिषयलाई सबै मुख्य दलहरुको घोषणा पत्रमा नै उल्लेख गरेका छन, यसलाई पनि उनी महिला आन्दोलनको उपलब्धी ठान्छिन् । महिलामाथि हुने हिंसा अन्त्यका लागि पनि सरकारले घरेलु  हिंसा कसुर र सजाय ऐन ल्याएको छ यसको कार्यान्वयनका लागि उनले बारम्बार रेडियोमार्फत आवाज उठाइन ।

उनलाई महिलाकै विषयमात्र एकतर्फी गरे भन्ने आरोप पनि आयो, तर निरन्तर आवाज उठाउन छाडिनन् । युगौदेखि गाउँ समाजमा महिलाले भोगेका समस्या र महिलामाथि भएका विभेद विरुद्धमा आवाज उठाउँदा महिलावादीको बिल्ला भिर्नुपर्दा उनलाई नराम्रो लागेको थियो तर त्यही कामलाई कदर गर्दै संघसंस्थाले सम्मान गर्दा भने गर्व लाग्ने गरेको उनी बताउछिन । महिला मात्र भनेर नहुने र महिला भित्र पनि विविधताको आधारमा महिलामाथि विभेद हुने गरेको उनको अनुभव छ । जनजाति महिला, अपांगता भएका महिला, दलित महिला, मधेसी महिला, मुस्लिम महिला र एकल महिलाका समस्या फरक फरक हुने गरेका उनको तर्क छ । विविधता नेपालको सौन्दर्य भएको सन्दर्भ उल्लेख गर्दै सरकारले आदिवासी जनजाति महिला लगायत अन्य महिलालाई एउटै ठाउँमा राखेर समान व्यवहार गरिनु विभेदकारी हुने बताउँछिन गुरुङ ।

फरक फरक विविधता बोकेको महिलाको समस्यालाई फरक फरक ढंगले नै सम्वोधन गरेर समाधान गर्नुपर्ने उनको जोड छ । श्रोतमाथिको महिलाको पहुँचका लागि सरकारले बालिका तथा महिलाका लागि विशेष शिक्षा कार्यक्रम लागु गर्नु पर्ने उनको सुझाव छ ।

संस्कारको आड र संरचनाका कारण महिलामाथि विभेद हुने गरेको उनी बताउँछिन । जनजाति समुदायमा जन्मिएर एमए, एलएलवि अध्ययन गरेका उनले महिलाको बिषयमा कलम चलाउँदै आएकी छन् । गुरुङ परिवारमा जन्मेर कसरी कानुन बिषय पढेको भन्दै साथीहरुले प्रश्न गर्दा विभेदको महसुस हुन्छ उनलाई । महिला हक अधिकारको सवालमा धेरै उपलब्धी भएपनि व्यक्तिको सोचाइमा परिवर्तन नभए सम्म यस्ता उपलब्धी संस्थागत गर्न चुनौती रहेको उनको ठम्याई छ । राजनीति र राज्यका संरचनामा महिलाको सहभागिता नै महिला अधिकार स्थापित गर्ने मुलमन्त्र भएकोले राजनीतिमा महिलाको अर्थपूर्ण सहभागितामा उनको जोड छ । झण्डै २० बर्षपछि हुन लागेको स्थानिय निर्वाचनले धेरै महिला नेतृहरु जन्माउनेमा उनी आशावादी छिन ।

अध्ययनको क्रममा उनी दुई बर्षयता अमेरिकामा छिन् । त्यहाँ पनि उनले लैंगिक समानता र महिला अधिकारको बारेमा देश बिदेशमा भएका विभिन्न तालिममा सहभागिता जनाएकी छन । गुरुङले महिलाको हैसियत संबन्धी आयोग UN Commission on status of women र जनजाति स्थायी मञ्च UN Permanent Forum  मा समेत सहभागी हुने मौका पाएकी छन । विदेशको अध्ययन र अनुभवले महिलाको क्षेत्रमा थप काम गर्ने उर्जा मिल्ने उनले बताइन् । हाल नेपाल अमेरिकी पत्रकार संघ नेजाका केन्द्रिय सदस्य समेत रहेका उनी आदिवासी जनजाति महिला महासंघ अमेरिका फिओना मार्फत आप्र्रवासी महिलाहरुको अधिकारको क्षेत्रमा काम गर्दै आएकी छन । उनी न्यूयोर्कबाट प्रकाशित एभरेष्ट टाइम्स पाक्षिक पत्रिका र सञ्चारिका अनलाइनमा आवद्ध छिन । उनले जनजाति पत्रकार महासंघ फोनिज ललितपुरको बोर्ड सदस्य, नेपाल परिवार विकास प्रतिष्ठानको उपाध्यक्ष, सञ्चारिका समूह र आदिवासी महिला कानुनी सचेतना समूह INWOLAG को सकृय सदस्यको रुपमा काम गर्दै आएकी छन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: