प्रतिस्पर्धामा महिला


प्रकाशित मिति :2017-11-15 11:34:28

-प्रतीक्षा काफ्लेप्रकाश बराल-

४ नम्बर प्रदेशका ११ जिल्लामा प्रतिनिधि र प्रदेशसभाका ५४ सिटमा हुन लागेको निर्वाचनमा कांग्रेस र वाम गठबन्धनबाट तीन जना मात्रै महिला उम्मेदवार छन् ।

प्रतिनिधिसभाका १८ सिटमा वाम गठबन्धनले स्याङ्जाबाट एमाले केन्द्रीय सदस्य तथा पूर्वसांसद पद्मा अर्याल र कांग्रेसले बागलुङमा सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खडकालाई उठाएका हुन् । प्रदेशसभाका ३६ सिटमध्ये कांग्रेसले कास्कीको क्षेत्र ३ ‘क’ मा शारदा पौडेललाई उठाएको छ । एमालेले मनाङको प्रदेश ‘ख’ मा खाण्डा लामा गुरुङलाई उम्मेदवार बनाए पनि उनले स्वतन्त्र उम्मेदवार दीपक मनाङेलाई समर्थन गर्दै मनोनयन फिर्ता लिएकी थिइन् । वाम गठबन्धनबाट प्रदेशसभातर्फ महिला उम्मेदवार छैनन् ।

 २०७० को संविधानसभा निर्वाचनमा कास्की क्षेत्र २ बाट जितेकी पौडेलको प्रतिस्पर्धा यसपटक प्रदेशसभामा माओवादीका रामजी बरालसँग छ । लामो समय जिल्लाको महिला संघ नेतृत्व गरेकी उनले संविधानसभामा एमालेका कृष्ण थापालाई पछि पारेकी थिइन् । स्याङ्जामा अर्यालको प्रतिस्पर्धा कांग्रेस उम्मेदवार शिक्षामन्त्री गोपालमान श्रेष्ठ र बागलुङमा खडकाको प्रतिस्पर्धा वाम गठबन्धन उम्मेदवार एमाले जिल्ला अध्यक्ष सूर्य पाठकसँग छ ।

वालिङ–१ त्रियासीकी ४९ वर्षीया अर्याल पूर्वसांसद एवं एमाले पूर्वजिल्ला अध्यक्ष पनि हुन् । महिला र बालबालिका क्षेत्रमा आवाज उठाउँदै आएकी उनको नाम जिल्लाबाट उम्मेदवारी सिफारिसमा निर्विरोध परेको थियो । उनी यसपटकको निर्वाचनमा वाम घटक एक हुनुले उत्साह बढेको बताउँछिन् । ‘पहिलेदेखि नै अन्यायको विरुद्ध बोल्थें,’ उनले भनिन्, ‘महिला, उत्पीडित समुदाय र श्रमजीवी जनताको पक्षमा बोल्दै आएँ । जनताले माया गर्नुहुन्छ भन्ने विश्वास छ,’ अर्यालले भनिन् । दोस्रो संविधानसभा निर्वाचनमा बागलुङ–१ बाट कांग्रेसका हरि खड्का विजयी भएका थिए । २०७१ मंसिरमा दुर्घटनामा परेर उनी दिवंगत भएपछि पार्टीले उपनिर्वाचनमा उनकी पत्नी चम्पालाई उम्मेदवार बनायो । त्यसै बेलादेखि राजनीतिमा सक्रिय उनी अहिले जिल्लाका २७ प्रतिस्पर्धीमध्ये एक्ली महिला उम्मेदवार हुन् । कांग्रेसले निवर्तमान सांसद प्रकाश शर्मा पौडेललाई प्रदेशसभामा पठाएर खड्कालाई प्रतिनिधिसभामा उठाएको हो । व्यवस्थापिका संसद्को सदस्य रहँदा विकासनिर्माणलाई प्राथमिकतामा राखे पनि कार्यकर्तालाई समान व्यवहार गर्न नसकेको आरोप उनीमाथि छ । टिकट ल्याउन सफल भए पनि सबै नेता र कार्यकर्ता मिलाएर जान उनलाई सजिलो छैन । उपनिर्वाचनमा खड्काले बागलुङ–१ बाट १७ हजार १ सय ५४ मत ल्याएर एमाले उम्मेदवार मना केसीलाई हराएकी थिइन् ।

नयाँ संरचनाअनुसार बागलुङको पुरानो क्षेत्र २ को धेरै भाग अहिलेको १ मा गाभिएको छ । उक्त क्षेत्र पनि कांग्रेसले जितेको थियो । अघिल्ला निर्वाचनको हिसाब गर्दा अहिले वाम गठबन्धनको मत कांग्रेसभन्दा झन्डै ५ हजार बढी हुने आकलन छ । तर, खड्काले आफ्नो काम र प्रतिबद्धता बुझेर जनताले मत दिने विश्वास गरेकी छन् । ‘तीन वर्षमा जेजस्तो काम गर्न सकेँ, त्यो हेरेर जनताले मत दिनेछन्,’ उनले भनिन्, ‘यो क्षेत्रको विकासका लागि अझै धेरै काम गर्ने प्रतिबद्धता र वाचा लिएर आएकी छु ।’ यो क्षेत्रमा राष्ट्रिय जनमोर्चा निर्णायक मानिन्छ । राजमोले वाम गठबन्धनलाई सघाएकाले खड्काको जित सहज भने छैन । जिल्लाकै एक्ली महिला उम्मेदवार भएकाले ५० प्रतिशत महिलाको सहानुभूति आफूलाई हुने खड्काको बुझाइ छ । वाम गठबन्धनले भने सबै सदस्य जितेपछि समानुपातिकमा महिलालाई लैजाने दाबी गरेको छ । ‘प्रत्यक्षमा महिलाहरू जित्ने गरी जान नसक्ने देखेर समानुपातिकलाई सुरक्षित बनायौं,’ माओवादी प्रचार विभाग सदस्य कृष्ण केसीले भने, ‘समाजको पुरुषवादी चिन्तन नहटेकाले महिलालाई हार्ने गरी नल्याएका हौं ।’

साभार : कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: