-सर्मिला बुढाथोकी–
दोलखा । मसिंर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान कसरी गर्ने भन्नेबारे दोलखाका ग्रामिण भेगका महिला मतदाता अन्यौलमा छन् ।
दोलखा कालिञ्चोक गाँउपालिकाकी मङ्गली थामी चुनावमा मतदान गर्न आतुर छिन् । तर उनलाई प्रतिनिधिसभा र प्रदेशसभा भनेको के हो ? कसरी मतदान गर्ने भन्ने बारे थाहा छैन् ।
६२ बर्ष टेक्दै गरेकी मङ्गली भन्छिन् – भोट त धेरै पटक हालेको हो तर यो पटक प्रदेशसभा र प्रतिनिधिसभाको भन्छन् त्यसैले कसरी भोट हाल्ने अन्यौलमा छु । पैले पैलेको चुनावमा पनि अन्तिम तिर दलका नेताहरु आएर भोट हाल्न सिकाउथे अहिले पनि सिकाउलान नी – मङ्गलीले भनिन् ।
भीमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पाक्षमावतीकी सष्टिका श्रेष्ठ पनि भोट हाल्ने तरीका बारे अन्यौलमै छिन् । सडक निर्माणमा मजदुरी गर्ने सष्टिका आफुले धेरै नपढेकोले प्रतिनिधिसभा र प्रदेश सभाको बारेमा खासै ज्ञान नभएको बताउछिन् ।
‘प्रतिनिधिसभा र प्रदेशसभामा भोट कसरी हाल्ने तरीका बारे थाहा छैन । खै अब कसैले भोट हाल्ने बेला सिकाए भने राम्रै होला नत्र जस्तो जानिन्छ त्यस्तै गरौला’–सष्टिकाले भनिन् ।
स्थानीय तहको चुनावमा जिल्ला निर्वाचन कार्यालयले मतदाताको घर घरमा गएर मतदान शिक्षा दिने गरेकोमा यो पटक त्यसरी मतदान गर्ने बारेमा सिकाउन कोहि पनि नआएको मतदाताहरुको गुनासो छ ।
सष्टिकासंगै मजदुरी गर्ने देवी विश्वकर्मा पनि आफुलाई प्रदेशसभा र प्रतिनिधिसभाको लागि मतदान गर्ने तरीका थाहा नभएको र कसैले सिकाउन पनि नआएको बताउछिन् । ‘खै कसैले मतदान गर्ने तरीका बारे भनेको छैन । भोट हाल्ने दिनसम्म त थाहा पाईएला नी– देवीले भनिन् ।
दोलखामा १ लाख ४७ हजार ९ सय २३ मतदाता मध्ये ७४ हजार ४५ जना महिला र ७३ हजार ८ सय ७८ जना पुरुष मतदाता रहेका छन् । जसमा ५० प्रतिशत मतदातालाई पनि मतदान गर्ने तरीका बारे राम्रो ज्ञान नभएको सरोकारवालाहरु बताउछन् ।
कूल मतदाता मध्ये महिला र ग्रामीण क्षेत्रका मतदातालाई अहिलेको व्यवस्था अनुसार मतदान गर्ने तरीकाबारे कम ज्ञान रहेको सरोकारवालाहरुको भनाई छ ।
जिल्ला निर्वाचन कार्यालय दोलखाका प्रमुख सच्युतराज उप्रेती यो पटक मतपत्रको छपाईमा भएको ढिलाईका कारण बेलैमा मतदान शिक्षा दिन नसकिएको उल्लेख गर्दै कार्तिक २५ गतेबाट भने स्वयंसेवकहरु मतदान शिक्षाको लागि खटिईसकेको बताउछन् ।
‘मतदान शिक्षाको लागि स्वयंसेवकहरु अहिले सबैठाँउमा पुगिनसकेकोले समस्या भएको हुनसक्छ । निर्वाचनको बेलासम्म सबैठाँउमा मतदानको बारेमा जानकारी गराई सकिने छ– प्रमुख उप्रेतीले भने ।
Comment Here!