छाउपडी प्रथा कानुन कार्यान्वयन गर्न चुनौती


कानुन भन्दा देउतासँग डराउँछन् महिला

प्रकाशित मिति :2017-11-16 14:45:06

-डीबी विष्ट-

बझाङ । धेरैजसो बझाङ्गी महिलाहरु देउतालाई खुशी पार्न भन्दै महिनावारीको समयमा अझै घरबाहिर ‘छाउपडी गोठ’बस्ने गरेका छन् ।

छाउपडी सम्बन्धी कानुन बनिसक्दा पनि सो बारे जानकारी नहुँदा उनीहरु छाउगोठमै बस्ने गरेका हुन् ।

महिनावारी भएको समयमा अझैपनि छाउगोठमा बस्ने गरेको सुर्मा गाउँपालिका–१ निवासी बसन्ती बोहराले बताइन् । उनले छाउपडी प्रथा सम्बन्धी बनेको कानुनबारे आफुलाई थाहा नभएको बताइन् ।

‘कानुनमा के छ भन्ने कुरा थाहा छैन । हामीलाई कानुन भन्दा पनि धेरै देवी–देउताकै डर लाग्छ’– बोहराले भनिन् ।

छाउपडी प्रथाले महिलाहरुलाई थुप्रै समस्या सिर्जना गर्ने भएपनि परिवारको विरुद्धमा जान नसक्ने गरेको पीडितहरु बताउँछन् । जनचेतना अभिवृद्धिपछि महिनावारी भएका महिलामाथि हुने विभेदमा केही सामान्यीकरण भएपनि विद्यमान कानुनी प्रावधानबारे भने बेखबर रहेको थलारा गाउपालिका ९ निवासी सुनिता भण्डारीले बताइन् ।

महिनावारी भएको अवस्थामा विभेद हुने भएपनि आफ्नै परिवारका विरुद्धमा उजुरी गर्न नसक्ने उनको भनाई छ । त्यसमा पनि सदियौदेखि चलिआएको यो प्रथा अलंघन गरेमा देउता रिसाउने अन्धविश्वासले ग्रामिण महिलामा जरो गाडेको उनी बताउँछिन् ।

‘महिलाहरु कानुन भन्दा देउतासंग बढी डराउछन् । त्यसैमा पनि कानुन अनुसार आफ्नै आमाबुवालाई जेल हाल्न पनि त सकिदैन’ –भण्डारीले भनिन् ।

वर्षौदेखि कुप्रथाको रुपमा रहेको सुदूरपश्चिमको छाउपडी प्रथा सजिलै तोड्न नसकिने यस क्षेत्रका महिला अधिकारकर्मीहरु बताउँछन् ।

महिला अधिकार मञ्च बझाङकी उपाध्यक्ष जयन्ती जोशीले कानुनी व्यवस्थाबारे ग्रामिण महिलालाई जानकारी गराएर कार्यान्वयन गर्दै लैजान सकेमात्रै सुधार हुने बताउँछिन् ।
‘घर परिवारको विरुद्ध विभेद भयो भनेर महिलाहरुले मुद्धा हाल्ने हिम्मत गर्न सक्दैनन् । त्यो कार्य जोखिमपूर्ण पनि छ । त्यसैले यसलाई विस्तारै बुझाउँदै कार्यान्वयन गर्नुपर्छ’ –उपाध्यक्ष जोशीले भनिन् ।

दलित महिला संघ बझाङकी अध्यक्ष आशा विकले वर्षौदेखि महिनाबारी हुँदा छाउगोठमा राख्दै आएको समाजले यस सम्बन्धी बनेको कानुन कार्यान्वयन गर्ने चुनौती रहेको बताइन् ।

‘छाउपडीलाई विभेद गरेकै भरमा उनीहरुले परिवारको नाममा मुद्धा हाल्न सक्दैनन् । भोली त्यही घरमा तिनै महिला गएर पुन बस्नु पर्ने भएकाले पनि त्यो साहस महिलाले जुटाउन सक्दैनन् । त्यसैले लामो समयदेखिको यो प्रथा मान्दै आएको समाजमा छाउपडी सम्बन्धी कानुन कार्यान्वयमा चुनौति देखिन्छ’– उनले भनिन् ।

अधिवक्ता मोहन दौल्यालले छाउपडी प्रथा अपराध हो भन्ने मान्यता स्थापित हुनु सकारात्मक भए पनि यसको व्यवहारिक प्रयोग निकै जटिल हुने बताउछन् ।

यस क्षेत्रकोे सामाजिक, साँस्कृतिक अवस्था हेर्दा कानुन कार्यान्वयन भैहाल्छ भन्न नसकिने उनी बताउँछन् ।

कानुनले छाउप्रथालाई अपराध घोषणा गर्नु राम्रो पक्ष भएको बताउदै नेपाल बार एसोसिएसन बझाङका अध्यक्ष पृथ्वीबहादुर सिंहले बताए । यद्यपी छाउपडी कानुनको प्रभावकारी कार्यान्वयनको लागि चेतनाको स्तर माथि उठाउनु अनिवार्य हुने उनको भनाई छ ।

तर, यस क्षेत्रका धार्मिक तथा साँस्कृतिक जानकारहरुले भने छाउपडी माथि हुने विभेद हटाउन नयाँ कानुन पर्याप्त नहुने भन्दै यसका लागी व्यापक जागरण अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

‘छाउपडी प्रथालाई सबैको साझा अभियान र बहसको विषय बनाउन सके मात्र यो अन्धविश्वास हट्न सक्छ’ –सामाजिक तथा साँस्कृतिक अगुवा विष्णु भक्त शास्त्रीले भने ।

बझाङ जिल्लामा करिब ३३ हजार परिवारको बसोवास रहेको छ । यी परिवारका २५ हजार भन्दा बढी छाउगोठ रहेको बताइन्छ । ९९ प्रतिशत महिलाहरु महिनावारी भएको अवस्थामा छाउगोठमा नै बस्ने गरेको विभिन्न तथ्यांकहरुले देखाएको छ ।

बझाङमा २ वर्ष पहिले एक जना महिलाको छाउगोठमा सर्पको टोकाईबाट ज्यान गएको थियो । त्यसैगरी पछिल्लो समयमा छाउगोठमा यौन जन्य हिंसाका घटनाहरु हुने गरेपछि छाउप्रथा सार्वधिक चासोको विषय बनेको थियो ।

‘मुलुकी अपराध संहिता विधेयक, २०७४’ले महिलाको रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडी वा त्यस्तै अन्य कुनै किसिमका भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गरे वा गराएमा अपराध मानेको छ । यस्तो कसुर गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: