बालविवाह शून्यमा


प्रकाशित मिति :2017-11-27 10:13:17

पार्वती पाण्डे\महिला खबर

कपिलवस्तु । कपिलवस्तुको पश्चिमी भेगमा पर्ने साविक बहादुरगञ्ज र पुरुषोत्तमपुर गाविस बालविवाह मुक्त घोषित भएका छन् । आइतबार छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी ती दुई गाविसलाई बालविवाह मुक्त घोषणा गरिएको हो ।

बहादुरगञ्ज गाविस हाल कृष्णनगर नगरपालिकाको वडा नं. ८ र ९ कायम गरिएको छ भने पुरुषोत्तमपुर गाविस कृष्णनगर नगरपालिकाको वडा नं. ५ मा पर्छ । बहादुरगञ्ज र पुरुषोत्तमपुर गाविस समेत गरी हाल बालविवाह मुक्त घोषणा भएका गाविसहरू ६ वटा पुगेका छन् ।

जिल्लामा यसअघि बुद्धभूमि नगरपालिकाको वडा नं. ४, ५ र ९ (साविक हरिहरपुर, बुड्ढी र बरकुलपुर गाविस) बालविवाह मुक्त घोषित भइसकेका छन् । गाविसमा गठित बालक्लब, कालिका स्वावलम्बन सामाजिक केन्द्र र सेभ द चिल्ड्रेनको पहलमा जिल्लाका साविकका ६ गाविसहरू बालविवाह मुक्त घोषणा भएको प्रायोजित कार्यक्रम संयोजक अजय कुमार चौधरीले जानकारी दिए ।

नेपाल सरकारले सन् २०३० सम्ममा देशलाई वालबिवाह मुक्त घोषणा अभियानसँगै कपिलवस्तुमा पनि बालविवाह मुक्त घोषण अभियानले तिब्रता पाएको हो । आइतबार आयोजित कार्यक्रममा कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले समाजमा विकृतिको रुपमा रहेको बालविवाहलाई सदाका लागि अन्त्य गरिनुपर्नेमा जोड दिए ।

मधेशी र मुस्लिम समुदायमा अशिक्षा र चेतनाको अभाव नै बालविवाहको मुख्य जड भएकाले हरेक बालबालिकामा शिक्षाको ज्योति जगाउनुपर्ने उनले जिकिर गरे । नगरप्रमुख शाहले बालविवाह देशकै ठूलो समस्या रहेकोले यसमा स्थानीयहरू आफै सक्रिय भएर लागेमा छिट्टै अन्त्य हुने दावी गरे । ‘बालविवाहकै कारण अकालमै ज्यान गुमाउनुपर्ने, सम्बन्ध विच्छेद, स्वास्थ्य समस्याबाट ग्रसित हुनुपर्ने जस्ता भयावह समस्या आउने भएकाले यसबारे गाउँगाउँमा जनचेतना जगाउन आवश्यक रहेको छ,’ उनले भने ।

यसैबीच नगरप्रमुख शाहले कृष्णनगर नगरपालिकालाई यसैवर्षभित्र बालविवाह मुक्त घोषणाको लक्ष्य राखेको जनाउँदै सम्पूर्ण संघसंस्था, नागरिक अगुवा, बालक्लब, युवाक्लब लगायतसँग सहकार्य गरी अभियानलाई तिब्रता दिइने प्रतिबद्धता जाहेर गरे ।

कार्यक्रममा कृष्णनगर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राममिलन चौधरीले लामो प्रयासपछि साविक वहादुगञ्जलाई वालबिवाह मुक्त घोषणा गर्न सफल भएकोमा खुसी व्यक्त गरे । सन् २०१५ मा वहादुगञ्जमा वालविवाहको सर्वेक्षण गर्दा २८ प्रतिशत वाल बिवाहको तथ्याङ्क आएकोले यो अन्त्य गर्नुपर्छ भन्ने अभियान लाग्दा आज अभियान सफल भएको बताए ।

यस वर्षमा साविक वहादुगञ्ज गाविस तथा हाल कृष्णनगर नगरपालिका वडा ८ र ९ मा वालबिवाहको सर्वेक्षण गर्दा २ प्रतिशतभन्दा कम भएको पाइएकोले बालविवाह मुक्त घोषणा गरेको वडाध्यक्ष चौधरीको भनाई छ ।

यता कृष्णनगर नगरपालिका वडा न ५ का वडाध्यक्ष मोहम्मद जमील खाँका अनुसार सन् २०१५ मा सर्वेक्षण गर्दा बालविवाहको सख्या २४ प्रतिशत र सन् २०१६ मा सर्वेक्षण गर्दा ५.३ प्रतिशत बालविवाहको समस्या थियो । तर यस वर्षको सर्वेक्षण अनुसार शुन्य प्रतिशतमा झरेपछि बालविवाह मुक्त घोषणा गरिएको हो उनले भने ।

कालिका स्वावलम्बन सामाजिक केन्द्रका अध्यक्ष सुन्दर केशव गुप्ताले बालविवाह मुक्त घोषणासँगै अबका दिनमा पनि यस क्षेत्रमा अभियानलाई निरन्तरता दिनुपर्ने बताए । कृष्णनगर नगरपालिकाको आयोजना तथा कालिका स्वावलम्वन सामाजिक केन्द्र र सेभ द चिल्ड्रेनको सहयोगमा कृष्णनगर नगरपालिकाका तीन वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: