महिला मतदाताको अवस्था


प्रकाशित मिति :2017-11-27 11:38:56

-गौरी तमु-

 मंसिरको कान्तिपुर दैनिकमा बझाङबाट वसन्तप्रताप सिंहको ‘आफैं भोट हाल्न पाउँदैनन् महिला’ समाचारमा आँखा पर्‍यो । समाचारमा लेखिएको थियो, ‘जयपृथ्वी नगरपालिका–१ कैलाशकी सिद्धादेवी सिंहलाई सामान्य लेखपढ गर्न आउँछ, उनले कक्षा ६ सम्म अध्ययन पनि गरेकी छन् । उनी मोबाइल चलाउँछिन्, मतपत्रमा लेखिएको अक्षर पनि पढ्न सक्छिन् । चिह्न छुट्याउन सक्छिन्, तर विडम्बना उनले आफ्नै हातले अहिलेसम्म मतपत्रमा छाप भने लगाउन पाएकी छैनन् । हुम्लाको साविक लाली गाविसबाट २०५३ मा विवाह गरी बझाङ आएकी सिद्धाले अहिलेसम्म भएको ५ वटा चुनावमा आफै मतदान गर्न पाइनन् । भोट हाल्न घरमै बोलाउन आउँछन्, लाइन लगाउँछन्, अनि जब भोट हाल्ने बेला हुन्छ, तपाई बिगार्नु हुन्छ, हामी हालिदिन्छौं भनेर मतपत्र खोस्छन् । गाउँकै जान्ने–सुन्नेले त्यसो भनेपछि कसरी नाइँ भन्नु ? उनीहरूले मत हाल्छन्, हामी नङमा रङमात्रै लगाएर फर्किन्छौं । उनले आफूमात्रै होइन, गाउँका अधिकांश महिलाको मत दलका एजेन्ट, कार्यकर्ता, आफन्त र छिमेकीहरूले हालिदिने गरेको सुनाइन् ।’ यो समाचार पढ्दै गर्दा दुई वर्ष र केही महिना अघिका दुइटा प्रसङ्ग फ्ल्यासब्याक बनेर आए ।

 दुई वर्षअघि फागुनमा म मधेसतिर आफन्तको विवाहमा गएकी थिएँ । संयोगले त्यो वर्ष त्यस गाउँमा मंसिरदेखि फागुनसम्म ३ जना नयाँ बुहारी भित्रिएका रहेछन् । विवाहकै माहोलबीच कुराकानीकै सन्दर्भमा केही बुहारी गर्भवती भएको प्रसङ्गलाई जोड्दै एकजनाले भने, ‘अब दुई/तीन वर्षभित्र यो गाउँको बोर्डिङको व्यवसाय राम्रै हुने भयो ।’ अर्कोले थप्यो, ‘बोर्डिङ मात्रै होइन, फलानो पार्टीमा पनि ३ जना भोटर बढे ।’ त्यतिबेला ती कुरालाई मैले सामान्य रूपमा नै लिएँ, किनकि त्यतिबेला चुनावी माहोल थिएन । त्यसपछिको अर्को घटना हो, सँगै पढेकी र अहिले शिक्षण पेसामा आबद्ध तनहुँ जिल्लाकी साथीले केही महिनाअघि फेसबुक च्याटमा भन्दै थिइन्, ‘के गर्ने साथी, जति पढेलेखे पनि हामी महिलाको त राजनीतिक आस्था कतापट्टि हो ? के हो भन्ने निश्चित नहुने रहेछ । विवाहपूर्व माइतीमा बाबा र दाइहरूले जुन पार्टीमा भने त्यही पार्टीलाई भोट हालियो । विवाहपछि अहिले घरतिरबाटै भोट दिनुपर्ने भएकाले उहाँ (श्रीमान) सँगै गाउँमा नाम दर्ता गर्न पो आएकी छु ।’
विवाहपूर्व र विवाहपश्चात ठ्याक्कै विपरीत आस्थाको राजनीतिक परिवारमा होमिएकी उनलाई मैले सोधेंँ, ‘त्यसोभए तिमीले अबको भोट कुन पार्टीलाई दिने त ?’ उनले भनिन्, ‘यता घरपट्टि नजिकैका आफन्त पनि उम्मेदवार छन्, तर उनी मेरो आस्था विपरीतको पार्टीका मान्छे हुन् । उहाँले (श्रीमान) पनि बेलाबेला अब त तिमीले यही पार्टीलाई भोट दिने हो, केही आर्थिक सहयोग पनि गर्नुपर्छ भन्नुहुन्छ । बारम्बार यहीँ कुरा सम्झाउँदा एकदिन मैले रिसाएर मेरो इच्छा हो, जता दिए पनि दिन्छु भन्दा झन्डै घरझगडा नै परेको । त्यसैले अब जता दिए पनि मेरो आस्थाको पार्टीलाई भोट हाल्छु । तर बाहिर खुलेर यो पार्टीलाई भोट दिएँ चाहिँ भन्दिन । किनकि म घरमा झगडा र अशान्ति चाहन्न ।’

यहाँ माथि उल्लेखित दुवै प्रसङ्गलाई सम्झिरहँदा नेपालमा दुई प्रकारका त्यस्ता लाखौं सिद्धादेवीहरू छन् । एकथरी सिद्धादेवीहरू जो निरक्षर छन्, केही बुझ्दैनन्, पति, पिता र छोराले जहाँ भन्यो, जसलाई भन्यो त्यहीँ भोट हाल्छन् । अर्काथरी सिद्धादेवीहरू जो साक्षर छन्, सबै बुझ्छन्, तर घरमा शान्ति होस्, झगडा नहोस् भनेर खुलेर आफ्नो आस्थाको पार्टीमा भोट हालेको बताउन चाहँदैनन् । पछिल्लो समय स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पार्टी एकीकरणदेखि कार्यकर्ताद्वारा पुरानो पार्टी त्याग र नयाँ पार्टी प्रवेशको जुन लहर चल्यो, यसमा अधिकांश पुरुष कार्यकर्ताको सहभागिताले पनि यो पुष्टि गर्छ कि नेपालमा धेरै महिलाले आफ्नै निर्णयको पार्टी र आस्था भएको पार्टी होइन, उहिलेदेखि आजसम्म पिता, पतिदेखि नातिसम्मको पार्टीलाई ल्याप्चे लाए र लाइरहेका छन् । जुन निकै सोचनीय र गम्भीर विषय हो । यद्यपिीइतिहासलाई फर्केर हेर्ने हो भने नालापानीको लडाइँदेखि प्रजातन्त्र प्राप्ति र २०६३ को दोस्रो जनआन्दोलनमा भएको महिलाको सक्रियता र १९७४ देखिको योगमाया न्यौपाने र २०१५ सालदेखिको द्धारिकादेवी ठकुरानीजस्ता महिलाको योगदानलाई नकार्न सकिँदैन । त्यो समयदेखि यो समयसम्म आइपुग्दा नेपाली महिलाले धेरै अधिकार पाएका छन्, महिलाहरू पनि पुरुषसरह हरेक क्षेत्रमा अगाडि आइरहेका छन् । देशमा राष्ट्रपतिदेखि सभामुख र प्रधानन्यायाधीशजस्ता उच्च ओहदामा महिलाले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरिसकेका छन् । तर बाहिरी रूपमा जसरी जुन सुन्दर आवरण महिलाका पक्षमा देखिन्छन्, अझै पनि महिला मतदाताको भित्री वास्तविकता र पीडा अर्कै छ ।

साँच्चै नेपालका महिलाहरूले आफैले छानेको पार्टी र उम्मेदवारलाई विना रोकटोक, खुलस्त रूपमा भोट हाल्न पाउने समय कहिले आउला ? के महिलाहरूले बुथमा गएर छाप लगाएका सबै भोट उनकै स्वेच्छाको भोट हो त ? प्रश्न गम्भीर छ । यद्यपि निर्वाचनमा महिलाहरूले आफूलाई एक कदम अगाडि उभ्याउने सुनौलो समय आएको छ । विवेकपूर्ण र स्वच्छ किसिमले आफूलाई मनपरेको उम्मेदवारलाई भोट हाल्न पाउनु सम्पूर्ण महिला मतदाताको दायित्व र अधिकार हो ।

साभार : कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: