–खेमा बस्नेत–
काठमाडौं । झापाकी ४३ वर्षीया निर्मला लिब्बु २०१६ नोबेम्बर १९ मा बैदेशिक रोजगारका लागि कतार गईन् । घरमा लागेको ऋण तिर्न ऋण नै खोजेर उनी कतारको युनाइटेड कम्पनी पुगिन् ।
छोरीछोरीलाई पढाउने र ऋण तिर्न पैसा कमाउने सपना बोकेर खाडीमुलक गएकी निर्मलाले आफूगएको कम्पनी ठग रैछ र आफू ठगिमा परेको थाहा पाईन् ।
‘हामी ८ जना नेपाली दिदीबहिनी युनाइटेड भन्ने कम्पनीमा काम गर्न गएका थियौं । तर त्यहाँ गएपछि थाहा भो त्यो कम्पनी ठग रहेछ र हामी ठगिएका रहेछौं,’ निर्मलाले महिला खबरसँग भनिन् ।
निर्मला लगायत अन्य सात जनाले त्यहाँ बस्नका लागि परिचय पत्र बनाउन कम्पनीसँग माग गरे तर कम्पनीले आईडी बनाउँन ३५ सय रिलय (करिब एक लाख रुपैयाँ) माग्यो ।
‘कम्पनीले आईडी कार्ड नबनाईदिँदा अरु नेपालीहरूलाई त्यहाँको प्रहरीले समातेको हामीले थापा पाएका थियौं । त्यसैले बारम्बार कम्पनीलाई आइडी कार्ड बनाउँन अनुरोध गर्दा ३५ सय रियल दिएमा मात्र बनाइदिने कम्पनीले सर्त राख्योे’ उनले भनिन् ।
काठमाडौं सिनामंगलस्थित सूर्य इन्टरनेशलन मेनपावरबाट कतारको युनाइटेड कम्पनीमा काम गर्न नेपालबाट उडेका उनीहरू अहिले कम्पनीले नाम परिवर्तन गरेर गोल्डेन युनाइटेड राखेको उनी बताउँछिन् ।
रोजगारका लागि खाडीका ६ देश र मलेसिया जाँदा फ्रि भिसा र फ्रि टिकट उपलब्ध गराउने सरकारी निर्णय विपरीत म्यानपावर कम्पनीहरूले कामदारसित रकम असुल्ने गरेका छन् ।
निर्मलाले आफू जाँदा मेनपावरलाई ८० हजार रुपैयाँ दिएर गएकी थिईन् । ऋणमाथि ऋण थपिएको थियो तर आफू जाँदाको ऋण समेत तिर्न नपाउँदै आफू नेपाल फर्किएको बताउँछिन् ।
‘जाँदा फ्रि हुन्छ भनेको सुनेकी थिए । तर हामीसँग मेनपावरले ८० हजार लिएको थियो । बिल माग्दा पनि दिएन् । उता कम्पनीले भने ९ महिनाको मात्र तलब दिएको थियो लागेको ऋण तिर्न नपाउदै फर्किए’ निर्मलाले भनिन् ।
उनीसंगै नेपाल फर्किएकी झापा पृथ्वीनगरकी ४३ वर्षीया कमला लिब्बुलाई पनि कम्पनीले न भनेको तलब नै दियो नत आइडी कार्ड नै बनाईदियो । ‘मलाई यहाँबाट १२ सय रियल दिन्छु भनेर लगेको थियो तर त्यहाँ जम्मा दुई सय रियलमा काम लगायो’ कमलाले भनिन् ।
उनीसँग पनि कम्पनीले आइडी बनाउन तीन हजार बीस रियल मागेको उनी बताउँछिन् । ‘मसँग तीन हजार बीस रियल माग्यो आइडी बनाउँन । त्यही पनि काम गरिरहेका थियौ तर बिचमा तलब रै रोकिदियो’ उनले भनिन् ।
नत आइडी बनाईदिने नत भनेको जती तलब नै दिने कम्पनीले श्रम शोषण गर्न थालेपछि उनीहरू नेपाली दुतावासमा नेपाल फर्किन चाहन्छौ भन्दै पुगे । कम्पनीले टिकटको पैसा दिएपछि उनीहरू हिजो राती अर्थात मसिंर १६ गते नेपाल पुगेका हुन् ।
यसरी फर्किनेमा मोरङ बज्याङकी ३६ वर्षीय निर्मला चौधरी, खोटाङ दिक्तेलकी ३३ वर्षीय सुशिला आचार्य, दिक्तेलकै ३२ वर्षीय निर्मला घिमिरे, झापाकी ३५ वर्षीय निर्मला लिम्बु, झापा पृथ्वीनगरकी ४४ वर्षीय कमलादेवी लिम्बु, झापा थपलियाकी ३७ वर्षीय लक्ष्मी पाठक, झापा बुधबारेकी ३९ वर्षीय दुर्गादेवी रिजाल र पाँचथर अमरपुरकी ३४ वर्षीय लिंगुमा तामाङ रहेका छन् ।
उनीहरूले नेपालबाट कतार जादा कम्पनीलाई प्रतिव्यक्ति ८० देखि ९० हजार तिरेर कतार उडेको उनीहरू बताउँछन् ।उनीहरूले यस्ता ठग कम्पनीहरूमा नजान पनि सबै नेपालीहरूलाई अनुरोध गरेका छन् ।
आप्रवासी कामदार महिलाहरूको अधिकारका लागि काम गर्न संस्था आमकास नेपालका अध्यक्ष विजया राई श्रेष्ठका अनुसार नेपाल फर्किएका ८ जना महिलाहरूले ३ देखि ५ महिनासम्मको तलब समेत कम्पनीले नदिएको बताईन् ।
Comment Here!