-प्रकाश पार्की-
डडेल्धुरा । उमेरले ६१ वर्ष पुगेकी दुर्गा पाण्डे एक महिनादेखि कखरा सिक्न विद्यालय जान थालेकी छिन् । उनलाई सानैदेखि पढ्ने रहर नभएर भने होइन् । अशिक्षाले ग्रसित हाम्रो समाज जसले छोरीलाई शिक्षा दिनुहुन्न भन्ने पुरानो मान्यताले उनको पढ्ने रहर सानैमा निमाेठि दिएको थियो । आज त्यही पढ्ने रहर बुढेसकालमा पुरा गर्दै छिन् दुर्गा ।
डडेल्धुराको अमरगढी नगरपालिकामा रहेको भृकुटी आधारभूत विद्यालयमा कक्षा एकमा अध्ययनरत ६५ जना विद्यार्थीसंग उनले पनि कखरा सिक्दै छिन् ।
पाण्डे एक महिना अघि आधारभूत विद्यालयको कक्षा १ मा भर्ना भएर अध्ययन गरिरहेको विद्यालयका प्रधानाध्यापक नरेश नगरकोटीले बताए ।
दुर्गा अरु विद्यार्थी जस्तै लगनशील र निरन्तर विद्यालय आउने गरेको प्रधानाध्यापक नगरकोटी बताउँछन् ।
‘सानो छदाँ घरपरिवारले पनि छोरीले पढ्नु हुन्न, इज्जत जान्छ भने र गोठालो पठाए । अहिले आएर पढ्ने रहर लाग्यो । अहिले कक्षा १ मा भर्ना भएर पढिरहेको छु’–दुर्गाले भनिन् ।
आफुले जीवनमा भोगेको ज्ञान पढिसकेको र अब किताबी ज्ञान पढ्न विद्यालय भर्ना भएको उनी बताउँछिन् । ‘सानोमा पढ्ने रहर पूरा भएन । बुढेसकालमा आएर पढ्ने रहर पुनःजाग्यो र किताबी ज्ञान कस्तो हुन्छ । जान्ने चाह पनि थियो’–दुर्गाले भनिन् ।
कक्षा एकका सबै विद्यार्थीहरुले उनलाई बज्यै भनेर बोलाउँछन् । उनी भने आफ्ना साथीहरुले बज्यै भनेर बोलाउँदा लाज लाग्ने बताउँछिन् ।
दुर्गा आफ्नो बाल्यकाल सम्झदै भन्छिन् –म ८ वर्षकी छदाँ बुबाको मृत्यु भयो । १० वर्षको हुँदा मेरो बिहे भयो । १२ वर्षकी हुँदा आमा गुमाए । सानोमा न घरपरिवारको साथ पाए, न पढ्न पाए बाल्यकाल सम्झेर त अहिले मन खिन्न हुन्छ । छोरीले पनि पढ्न पाउछन् भन्ने थाहा पाएपछि अब पढ्छु भनेर भर्ना भए ।’
श्रीमानले वि.स २०३५ सालमा ६ महिनाकी दुधे छोरीसहित घरबाट निकाली दिए दुर्गालाई । श्रीमानले घरबाट निकालेपछि छोरी र आफ्नो पेट पाल्न उनले अमरगढीमा आएर बाख्रा, कुखुरा पाल्न सुरु गरिन् ।
अहिले उनकी छोरी एएनएम भएर स्थानीय एक स्वास्थ्य चौकीमा काम गर्छिन् । उनका एक नाति र एक नातिनी पनि छन् ।
Comment Here!