लैंगिक हिंसा न्यूनिकरणमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
सत्यता र गोपनियतामा ध्यान दिन आग्रह
-महिला खबर-
ललितपुर । लैंगिक विभेदका हिंसालाई अन्त्य गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहने एक कार्यक्रमका सहभागिहरूले जोड दिएका छ ।
सञ्चारिका समूह, महिला पुनःस्थापना केन्द्र ओरेक) नेपाल र प्लान इन्टरनेशनलको संयुक्त आयोजनामा ललितपुरमा भएको अन्र्तक्रियामा सहभागिले सञ्चार माध्यमले लैंगिक हिंसाका विषयलाई उठान गर्दा सत्यता र गोपनियतामा ध्यान दिनुपर्ने बताए ।
सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्माले कार्यपत्र प्रस्तुत गर्दै सञ्चारमाध्यमले हिंसा प्रभावित महिलालाई न्याय दिने खालका समाचार सम्प्रेषण गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘सञ्चारमाध्यमले महिलाका समस्यालाई उजागर मात्र नगरेर समस्या समाधानका उपायलाई समेत बाहिर ल्याउनुपर्छ । महिलाका विषय धेरै छन् । पछिल्लो समय महिलाका विषयलाई समाचारको विटको रुपमा समेत हेर्न थालिएको छ । ’
शर्माले महिलाको विषयमा रिपोटिङ गर्दा गहिराईमा पुगेर, लैंगिकताका विषयलाई पहिचान गर्नुपर्ने बताइन् ।
आरेक नेपालकी कोषाध्यक्ष पार्वती बस्नेतले लैंगिक विभेदमा आधारित हिंसाको वर्तमान अवस्था र चुनौतिहरूका बारेमा कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उनले पित्तृसत्तात्मक सोचका कारण नै महिलाहरू हिंसा भोग्न बाध्य भएको बताइन् । सञ्चारमाध्यमले महिलाका समाचार सम्प्रेषण गर्दा गोपनियतामा ध्यान नदिँदा महिलाहरू दोहोरो जोखिममा पर्ने बताइन् ।
पत्रकार टंक पन्तले सञ्चारमाध्यमले आवाजविहीनहरूको आवाजलाई बाहिर ल्याउनुपर्ने बताए ।
हिंसाकै कारण महिलाहरू पीडित बनेको भन्दै पन्तले त्यस्ता विषयलाई पत्रकारीता मार्फत उजागर गर्नुपर्ने बताए ।
सहभागिहरूले पत्रकारले समाजमा स्वंय सेवकको भावले काम गरेको बताएका थिए । कार्यक्रमको सहजिकरण सञ्चारिका समूहकी महासचिव कमला पन्थीले गरेकी थिइन् ।
Comment Here!