
मनमाया जिरेल
सर्मिला बुढाथोकी\महिला खबर
दोलखा । रा नभएको दुःखमा बुबाको अकाल मृत्यु भोगेका छोरीहरूलाई कस्तो पीडा हुन्छ होला ! जिल्ला समन्वय समिति दोलखाकी उपप्रमुख मनमाया जिरेल, जसले त्यो पीडा भोगेकी छन् ।
छोराको आसमा सात जना छोरी जन्मिएपछि मनमायाका बुबा अनबहादुर जिरेलले रक्सीलाई साथि बनाए र रक्सीले नै खायो उनलाई । विगत सम्झिइन् मनमायाले ‘छोरा नभएको पीडामा बाबुले रक्सीलाई साथीमात्र बनाएका थिएनन् । छोराको पर्खाइमा सात ओटा छोरी जन्माएकी आमा कुमारी जिरेललाई छोरा नजन्माएकै कारण मानसिक तनाव समेत दिन्थे बेला बेलामा ।’
‘सुत्केरी आमालाई छोडेर बुवा हप्तौंसम्म घर आउदैन थे’ मनमायाले भनिन् ‘हामी साना थियौं । बुबा घर नआउँदा हुने दुःख र पीडा अझै आँखा भरी छन् ।’ छोरी भएकोमा दुःखी बनेका तीनै…. का छोरीहरू मध्य जेठि छोरी मनमाया जिल्ला समन्वय समितिको उपप्रमुख छिन् भने उनको माईली बहिनी शान्ती जिरेल २०६४ सालमा समानुपातिक सभासद् बनेकी थिइन् । मनमाया भन्छिन्, ‘सायद बुबा जिउँदै भएको भए छोरीहरूको प्रगती देखेर खुसी हुन्थे होलान र छोरा नभएपनि हुनेरहेछ भन्ने बुझ्थे होलान । तर बुबा नहुँदा भने छोराप्रतिको उहाँको उच्च चाहना देखेका मान्छेहरूलाई छोरी पनि सन्तान नै हुन् भन्ने परेको छ ।’
छोरा र छोरीलाई विभेदको नजरले हेर्ने समाजमा हुर्कीएकी मनमायालाई विगतको जीवन भोगाईले सधै पीडा दिइरहन्छ । २०२७ सालमा साविकको जिरी गाविस वडा नम्बर ७ मा निम्न वर्गिय परिवारमा जन्मिएकी उनी ७ दिदी बहिनी मध्येकी जेठी हुन् ।
‘पाँच छोरी जन्माएपछि आमाले एउटा छोरा जन्माएकी थिइन् । छोरा जन्माएर समाजको मुखमा बुजो लगाएकी मेरी आमाको खुसी १५ दिन भन्दा टिक्न सकेन’ मनमायाले भनिन्, ‘१५ दिनमै रहरको छोरा गुमाएकी मेरी आमाको चित्कारमा म सहयात्री नहुने कुरै भएन । त्यसैले अध्ययन छाडेर जीविको पार्जनका लागि गिटी कुट्ने, बालुका बोक्ने काममा सघाउँन थाले । त्यही बेला मेरो कक्षा पाँचबाट अध्ययनमा पूर्णविराम लाग्यो ।’
आर्थिक अवस्था कमजोर भएकै कारण मनमायाकी आमाले छोरीहरूलाई सामान्य बाहेक शिक्षा दिन सकिनन् । तर पनि आफ्नो लगाव र मेहनतले सातै दिदीबहिनी आफ्नो खुट्टामा उभिएको उनले बताइन् । ७० बर्षकी आमाले अहिले छोरीहरूप्रति गौरव गरेको देखेर विगतको पीडामा केहि हदसम्म भएपनि मल्हम लाग्ने गरेको मनमायाको अनुभव छ ।
‘अहिले आमालाई छोरा नभएकै कारण पछुतो छैन, उनी अहिले हाम्रो प्रगतिमा गौरव गर्छिन्’ मनमायाले भनिन् ।
सिमान्तकृत जाति मानिने जिरेल जातिको प्रतिनिधित्व गर्दै जिल्ला समन्वय समिति दोलखाको उपप्रमुख पदमा निर्वाचित भएकी मनमाया स्थानीय निकाय मार्फत विभेदपूर्ण समाज परिर्वतनमा भूमिका खेल्ने बताउँछिन् । ‘अहिले स्थानीय निकायलाई धेरै अधिकार छ’ मनमायाले भनिन्, ‘त्यसको उपयोग गरेर छोराछोरीमा विभेद गर्ने समाज परिर्वतनमा सबै लाग्नुपर्छ ।
Comment Here!