आँटिली अष्टलक्ष्मी


प्रकाशित मिति :2017-12-10 16:33:36

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य काठमाडौं क्षेत्र नम्बर ८ को ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी भएकी छन् । पार्टी कार्यकर्ता, शुभेच्छुक र शुभचिन्तकबाट प्रदेश नम्बर तीनको सम्भावित मूख्यमन्त्रीको चर्चा पाइरहेकी शाक्य नेपालको वामपन्थी इतिहासकी ज्यूँदो साक्षी समेत मानिन्छन् । महिलालाई दोस्रो दर्जाको हैसियत दिने नेपाली समाज रुपान्तरणका लागि राजनीतिमा लागेर उनले गरेको त्याग र संघर्षको गाथा यस्तो छः

जुन बेला घरमा राजनीतिक वातावरण होइन राजनीतिक कुरा गर्ने अवस्थासमेत थिएन । घरमा राजनीति अलिकति पनि छिरेको थिएन । त्यही बेला अष्टलक्ष्मी शाक्य भने राजनीतिमा लाग्ने सोच्न थालिसकेकी थिइन् । आफ्नो आमाबुबासँग दोहोरो कुरा गर्नसमेत नपाईने त्यो बेलाको समयमा भूमिगत राजनीतिक जीवन सुरु गर्नु धेरैका लागि कल्पना बाहिरकै कुरा हुन्छ । त्यसमा पनि छोरी भएर । तर उनी एउटा चिठी लेखेर सदाका लागि आफ्नो जन्मघर, जन्म दिने आमाबाबु तथा दाजुभाइ, दिदीबहिनीलगायत परिवारका सबै सदस्य छोडेर हिंडेकी थिइन् । आफू सुत्ने सिरानी मुनि एउटा चिठी छोडेर भुमिगत हुँदाको दिन सँझिदा अहिले पनि कुनै बेला त कहाली लाग्छ, तर त्यो भन्दा बढी चाहिं गर्व नै लाग्छ ।

नामः अष्टलक्ष्मी शाक्य ।
जन्मः २०१० साल असोज, झोंछे, काठमाडौं 
हालः काठमाण्डुको इचंगु नारायण गाविस ४, काठमाडौं 
पार्टीः नेकपा एमाले
जिम्मेवारीः पार्टी उपाध्यक्ष । नवनिर्वाचित प्रदेशसभा सदस्य 

२०३६ साल नेपाली राजनीतिक इतिहासमा जति महत्वपूर्ण ऐतिहासिक दिन हो, उनको व्यक्तिगत जीवनमा पनि त्यत्तिकै महत्वपूर्ण छ । ०३६ सालकै पुस ४ गते उनले सँधैका लागि घर छोडेकी थिइन् । काठमाडौं शहरको नेवार समुदायमा जन्मिएर आफ्नो जीवन नेपाली कम्युनिष्ट राजनीतिमा होमिएकी उनको अहिले पनि १८ घण्टाभन्दा बढी समय राजनीतिमै बित्छ ।

अष्टलक्ष्मी शाक्य

उनी २०१० सालमा काठमाडौं शाक्य परिवारमा जन्मिएकी हुन् । उनका बुबा दरबारको लागि, सुनचाँदीको गरगहना बनाउने व्यवसाय गर्थे । खानपान, लवाईखवाइमा कहिल्यै कमी हुँदैनथ्यो परिवारमा । तर धनसम्पत्तिले मात्र सबैलाई कहाँ चित्त बुझ्छ र ? उनलाई त्यस्तै भयो, आफ्नै कपडा धोइदिन आउनेहरूलाई परिवारका अरु सदस्यले गरेको व्यवहार मन नपर्ने, बुबाको कारखानामा काम गर्ने कालीगढहरूलाई गाली गरेको कहिल्यै मन नपर्ने, घरमा छोरा र छोरीबीच हुने गरेको विभेदहरूप्रति विद्रोह जाग्ने, काम गर्ने गरिबहरूका लागि उनीहरूलाई केही सहयोग गर्न पाए हुन्थ्यो भन्ने भावना जाग्थ्यो । तर त्यसका विरुद्ध कहिल्यै बोल्न पाईंदैनथ्यो घरमा । आफूमा आएको त्यस्तो स्वभाव हुँदै गएपछि उनले राजनीतिबाट नै त्यो विभेद, अन्याय र अत्याचारविरुद्ध काम गर्ने बाटो देखिन् र त्यतैतिर लागिन् । केही लजालु र सोझी भए पनि परिवर्तनशिल विचार र विद्रोहको भावनाले घरभित्रको सुखसयल र घरपरिवारको माया भन्दा देशको परिवर्तन र राजनीतिक मोहले बढी तान्यो ।

२०२८ सालमा एसएलसी पास गरेपछि उनी क्याम्पस पढ्नुको अलावा चिनिया भाषा पनि सिक्न थालेकी थिइन् । उनको मिल्ने साथी सुलोचना मानन्धरसँगै चिनिया भाषा सिक्दा चीनियाँ क्रान्ति र त्यहाँको कम्युनिष्ट सिद्धान्त बुझ्न थालिन् । त्यो बुझाइले उनलाई भूमिगत बनाउने ठूलो सहयोग गर्यो । माओत्सेतुङको विचारहरू बुझ्न थालिन् । अझ भाषा सिकाउने वामपन्थी विचारका गुरु डा. महेशमान श्रेष्ठ थिए । तर उनले चीनीया भाषासँगै चीनिया क्रान्तिका कुरा धेरै सिकाए । त्यससम्बन्धी अध्ययन सामग्रीहरू दिए । चीनमा महिला अधिकारकर्मीहरूले गरेको संघर्ष र उनीहरूको जीवनी तथा योगदानहरू पनि जान्न थालिन्, झन् उत्सुकता पनि थपिंदै गयो । खोजी खोजी आफैं पनि पढ्न थालेको शाक्यको भनाइ छ । त्यसपछि रत्नराज्य लक्ष्मी क्याम्पसमा पढ्न थालेकी उनी पढाइमा भन्दा राजनीतिक छलफल र बहसमै बढी चासो दिन थालिन् । आफूले बढेको शिक्षा पनि बुर्जुवा लाग्न थाल्यो, क्रान्तिले झन् तताउँदै घरदेखि पढाइ सबै छोड्ने सोचाइ आउन थाल्यो । त्यतिबेलासम्म उनको परिवारले कलेज र छोरीको अध्ययनको बारेमा शंका गर्दै निगरानी गर्न थालिसकेका थिए ।

यस्तो थाहा पाएर विवाह गरिदिने कुरा घरमा चल्न थाल्यो । तर त्यो थाहा पाउने बित्तिकै साथी मार्फत विवाह गर्ने केटा पत्ता लगाएर विवाह नगर्ने निर्णय सुनाइ दिइन् । त्यसपछि उनले घरमा गाली, कुटाइ त कति खाइन् कति ? तर निर्णय बदलिनन् । भनिछन्, ‘बरु घर छोड्का लागि झन् आँट आयो ।’ अन्ततः घर छोड्ने निर्णय नै भइसके पछि आफूलाई खर्च अभाव हुने सोचेर भोजमा जाने भनेर सुनका गरगहनासमेत लिएर हिंडिन् । देश र जनताको अधिकार प्राप्ति, निरकुंश शासनको अन्त्य र प्रजातन्त्र प्राप्तिको आन्दोलनमा हिंड्न पाएकोमा उनलाई खुशी लाग्थ्यो तर व्यक्तिगत रुपमा हेर्ने हो भने आमा र बाबुसमेत छुट्टिए, दिदीबहिनी दाजुभाइ कता हो कता ? कसैलाई थाहा नहुने । उनको परिवारमा परिवारमा विखण्डन नै आयो ।

भूमिगत भएको करिब एक डेढ वर्षमै उनको पार्टीकै नेताहरूको सहयोगमा विवाह भयो । अर्का भूमिगत नेता क. श्याम अर्थात अमृत कुमार बोहोरासँग उनको विवाह भएको हो । पार्टीको झण्डा मुनि बसेर जनता र क्रान्तिका लागि सँगै लड्ने वाचा गरिसकेका उनीहरूको विवाहले क. टिका र क. श्यामलाई अब जीवनको सहयोद्धा पनि बनायो । पार्टीको काम गर्दागर्दै एक छोरी (आस्था) र एक छोरा (विश्वास) जन्मिए । तर हुर्काउन उनलाई जति कठिन भयो, त्योभन्दा बढी कठिन बच्चाहरूलाई भएको महसुस गर्थिन् । कहिले नुन र पानी उमालेर त कहिले ढुटो, पीठो जे हुन्छ त्यसैको खोले पकाउँदै पेट पाल्ने उनलाई बच्चा भए पछि के खुवाउने भन्ने अप्ठ्यारो भयो । भूमिगत हुने बित्तिकै आफूले पाएको सिन्धुपाल्चोकको पिस्कर गाउँको जिम्मा पाएकी उनलाई केही सहज हुन्छ भनेर काठमाण्डुमै बसेर गर्ने कामको जिम्मेवारी दियो । उनले दुवै बच्चा अस्पताल (त्यो बेलाको शान्ता भवन अर्थात अहिलेको पाटन अस्पताल) मै बच्चा जन्माइन् । त्यति बेला काठमाडौं उपत्यका कमिटीको सदस्यको जिम्मेवारीमा थिइन् उनी ।

जुनसुकै पेसा, क्षेत्रमा भए पनि गर्भवती अवस्था र बच्चा जन्माएर हुर्काउनु महिलाको लागि ठूलो चुनौति हुन्छ । त्यसमा पनि भूमिगत राजनीति गरेर आमा हुँदाको अवस्था सँझिदा अहिले पनि कहाली लाग्छ उनलाई । बच्चाको आमालाई जहाँ भन्यो त्यहाँ बास नदिने समस्या पनि पथ्र्यो । बच्चा पाउनेले किन यसरी हिंड्नु भन्ने भनाइ पनि कतिपय ठाउँमा सुन्नु पर्यो । 

दुवै बच्चालाई १५ महिनाको हुँदासम्म आफूसँगै राखिन् । राजनीतिमा लाग्नेहरूका लागि उनीहरूको सन्तान पार्टीकै सन्तान हो भनेर छोराछोरीलाई पार्टी नेताहरूको घरमा कहिले कहिले कहाँ छोड्दै हिंडिन् । पछि छोरीलाई झापाको शनिश्चरेमा झुमा देवानको माइतीमा उहाँका आमाबाबु (मनमाया र भुवन ंिसंह) देवानलाई जिम्मा दिइयो । छोरालाई भने (छविलाल अर्थात अमरसिंहको घरमा राखियो । थाहा नपाई छोडेर हिंडेर भ्याएको बेला उनीहरूलाई भेट्न जाँदा पनि नबोल्ने भइसकेका थिए । जुनसुकै पेसा, क्षेत्रमा भए पनि गर्भवती अवस्था र बच्चा जन्माएर हुर्काउनु महिलाको लागि ठूलो चुनौति हुन्छ । त्यसमा पनि भूमिगत राजनीति गरेर आमा हुँदाको अवस्था सँझिदा अहिले पनि कहाली लाग्छ उनलाई । बच्चाको आमालाई जहाँ भन्यो त्यहाँ बास नदिने समस्या पनि पथ्र्यो । बच्चा पाउनेले किन यसरी हिंड्नु भन्ने भनाइ पनि कतिपय ठाउँमा सुन्नु पर्यो । श्रीमान् चिनाउन पनि गाह्रो एक्लै बच्चा बोकेर हिंड्ने कस्ती होला भनेर कुरा काट्नेहरू पनि भेटिन् उनले तर धेरै चाहिं सहयोग नै पाएर राजनीति छोड्नु परेन । यसलाई आफूले गरेको संघर्षपछिको सफलता मान्छिन् उनी ।

भूमिगत राजनीतिमै लागेका शान्ता मानवी, सीता खड्का, सुशिला श्रेष्ठ, गौरा प्रसाई, राधा ज्ञवाली जस्ता महिलाहरू उनका भूमिगत राजनीतिका सहकर्मीहरू हुन् । सँधै भेट नभए पनि उनीहरू महिला अधिकार प्राप्तिका लागि त्यत्तिकै चिन्तित भएर लाग्थे । ठाउँठाउँमा महिला भेलाहरू हुुन्थ्यो । पूर्वका महिलाहरू प्रत्यक्ष राजनीतिमा नलागे पनि राजनीतिप्रति सचेत भएकाले त्यो क्षेत्रमा महिला भेलाहरू पनि हुन्थ्यो । तर पहिलो महिला भेला भने ०३७ सालमै हेटौंडामा भएको थियो ।

काठमाण्डुमै जन्मिएर पनि अलि परको कलंकी र काठमाडौंको नाका थानकोटसम्म नदेखेकी उनी जिम्मेवारी सम्हाल्दै सिन्धुपाल्चोकको गाउँदेखि पूर्वको मेचीका घरघर पुगेकी छिन् । एक दशकभन्दा बढीको भूमिगत अवस्थामा वनमा जेलजीवन पनि भोगिन् । अन्ततः २०४६ सालको परिवर्तनलाई आफ्नो उद्देश्यको महत्वपूर्ण पाटो सफल भएको ठान्छिन् । त्यो परिवर्तनले खुला राजनीतिक जीवन सुरु भयो भने उनको विखण्डन भएको पारिवारिक मिलन पनि भयो । आफ्ना छोराछोरीलाई आफूसँगै ल्याउनुका साथै बाबुआमा, दाजुभाइ दिदीबहिनी समेतलाई उनले विगत बिर्साउँदै फेरि एकै परिवारमा बनाउन सफल भएको क्षणलाई पनि उनी बिर्सिन सक्दिनन् ।

२०५६ सालमा काठमाडौंबाट सांसद बनेकी उनी दोस्रो संविधानसभाकी सदस्य समेत भइन् भने पार्टीका विभिन्न विभाग तथा अरु जिम्मेवारीहरूमा पनि छन् । उद्योग मन्त्रालय र महिला बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेकी छन् । झण्डै ४ दशकको राजनीतिक जीवनबाट उनी अझै थोकेकी छैनन् । अहिले पनि उनको सम्पूर्ण समय राजनीतिमै बित्छ । समाजको आर्थिक, सामाजिक, सांस्कृतिक आदि सबै खाले रुपान्तरण गर्ने आधार राजनीति नै हो भन्छिन् । राजनीतिमा लाग्न महिलाहरूको लागि अझ कठिन छ तर महिलाहरूले अझ राजनीतिमा लाग्नु आवश्यक ठान्ने राजनीति भित्र अवसर पनि त्यत्तिकै देख्छिन् ।

प्रस्तुतीः लक्ष्मी बस्नेत

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: