लैंगिक हिंसाविरूद्ध अभियान कहिलेसम्म ?


प्रकाशित मिति :2017-12-11 10:34:26

-रीता अधिकारी-

‘म यो चाहन्न कि महिलाले पुरुषमाथि अधिकार जमाउन्, महिलाले पहिला आफैंमाथि अधिकार जमाउनुपर्छ ।’ नारीवादी लेखिका मेरी क्राफ्टको यो भनाइ महिला हिंसा नियन्त्रणको सन्दर्भमा आज पनि उत्तिकै सान्दर्भिक छ । यतिबेला महिला हिंसा विरुद्धको सोह्रदिने अन्तर्राष्ट्रिय अभियान चलिरहेको छ । यो अभियान चलिरहेकै बेला पनि लैङ्गिक हिंसाका घटना उत्तिकै सार्वजनिक भइरहेका छन् ।

नेपालमा लैङ्गिक हिंसा र महिला हिंसा पर्यायवाची जस्तै बनिसकेको छ । हाम्रो देशमा परापूर्व कालदेखि नै महिला हिंसाको अवस्था अत्यन्तै लज्जाजनक छ, जसले सिंगो समाजलाई नै कुरूप बनाइरहेको छ । कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका महिला आफ्नै परिवारदेखि राज्यसम्मको हिंसाको चपेटामा परेका छन् । आज पनि हाम्रो समाजमा महिलाले भोगिरहेका बलात्कार, बेचबिखन, यौन शोषण, कुटपिट, हत्या, दाइजो, वेश्यावृत्ति, यातनाजस्ता हिंसाको सूची धेरै लामो छ । महिला विरुद्ध हुने शारीरिकभन्दा पनि मानसिक हिंसाको अवस्था अझ डरलाग्दो छ ।

महिला हिंसालाई राज्यले पनि गम्भीर फौजदारी अपराध मात्र होइन, राज्यविरुद्धकै अपराधको रूपमा स्वीकार गरेर कडा कदम चाल्नुपर्छ 

 कुनै व्यक्ति वा समूहमाथि उसको इच्छा विपरीत हुने दुव्र्यवहार हिंसा हो । कसैको आत्मसम्मानमा चोट पुर्‍याउने वा दुस्ख दिने नियतले गरिने नियोजित वा अनियोजित सबै व्यवहार हिंसाभित्र पर्छन् । महिलामाथि हुने सबै प्रकारका हिंसा लिङ्गमा आधारित हिंसाको डरलाग्दो रूप हो । महिला हिंसा गम्भीर फौजदारी अपराध भए पनि हाम्रो समाजमा यसलाई निजी र पारिवारिक मामिला मानी धेरैजसो यस्ता मुद्दा गाउँघरमै मिलापत्र गराइन्छ । महिला हिंसालाई सामान्य, घरायसी र निजी मामिलाका रूपमा हेरिने हुनाले थोरैमात्र त्यस्ता घटना मिडियामा आउँछन् । शारीरिक रूपमा अङ्गभङ्ग नभएसम्म वा देखिने प्रमाण नभएसम्म यस्ता हिंसाका घटना न मिडियाको खबर बन्छ, नत प्रहरीमा दर्ता नै हुन्छ ।

नेपालले यो अन्तर्राष्ट्रिय अभियान मनाउन थालेको पनि वर्षौं बितिसकेको छ । हरेक वर्ष राजधानी, जिल्ला सदरमुकाम लगायतका सहर–बजारमा महिला हिंसा विरुद्धका कार्यक्रम आयोजना गरिन्छन् । केही थान वक्ताले महिला उत्थानका चर्का भाषण र कार्यपत्र पनि प्रस्तुत गर्छन् । सहरिया नारी समाज प्लेकार्ड र अखबारका पानामा महिला मुक्तिको आवाज कोर्दै गर्दा बहुसंख्यक ग्रामीण महिला यसप्रति बेखबर हुन्छन् । सबैजसो क्षेत्रमा महिला हिंसा भइरहेको भए पनि बहुसंख्यक महिला घरेलु श्रमिक हुन्, मजदुर हुन्, जसले आफूमाथि भइरहेको व्यवहार हिंसा हो भन्नेसम्म पत्तो पाउँदैनन् । हिंसा हो भन्ने थाहा पाउनेले पनि त्यसविरुद्ध आवाज उठाउन सकिरहेका छैनन् । आवाज उठाइहाले पनि त्यसको सुनुवाइ कतैबाट हँुदैन ।

महिला विरुद्ध हुने हिंसामध्ये घरेलु हिंसा सबैभन्दा बढी हुने गरेको अध्ययनले देखाएको छ । यसको अर्थ महिलाहरू सबैभन्दा बढी आफ्नै परिवारमा, आफन्तबाटै असुरक्षित छन्, पीडित छन्, चाहे पुरुषबाट होस् या महिलाबाटै । आक्रमण त्यसमाथि हुन्छ, जो कमजोर छ । परिवारमा पनि यही नियम लागू हुन्छ । जबसम्म महिलाहरू आवाज उठाउन सक्दैनन्, कमाउन सक्दैनन्, उजुरी गर्न सक्दैनन्, उनीहरूमाथि हिंसा हुने सम्भावना रहिरहन्छ । हाम्रो समाजमा महिला हिंसाले संस्थागत रूप धारण गरिसकेको छ । यो आज एक्कासी देखापरेको पनि होइन । यो त महिला र पुरुष बीचको ऐतिहासिक शक्ति सम्बन्धको उपज हो । यसले पीडितलाई तत्काल हुने शारीरिक पीडा त छँदैछ, त्यसको जुन मनोवैज्ञानिक पीडा हुन्छ, स्वाभिमानमा चोट पुग्छ, त्यसले सिंगो समाजमै दीर्घकालीन असर पुर्‍याउँछ । समाज विकासको क्रमलाई नै हजार कदम पछाडि धकेलिदिन्छ । त्यसैले अब यो अभियान सोह्र दिनमात्र नभई तीन सय पैंसठी दिन नै हरेक घरबाट हरेकको मनैबाट सुरु हुन जरुरी छ । हिंसाको बिज मनमा रोपिन्छ । जबसम्म सबैको मनमा महिलाहरू साँचिकै पीडित छन्, मैले यस्तो व्यवहार गर्नु हिंसा हो भन्ने अनुभूति हुँदैन, तबसम्म त यस्ता कार्यक्रमको कुनै अर्थ रहँदैन ।

यो त अन्तस्करणवादी अभियान हो, जसले हरेक व्यक्तिको मानसिकता र दृष्टिकोणमा आमूल परिवर्तन चाहन्छ । युगौंदेखि चलिरहेको नारीवादी आन्दोलनको एक हिस्सा हो, यो । यसलाई सम्बोधन गर्न नेपालमा कानुनको अभाव पटक्कै होइन, समस्या त्यसको कार्यान्वयन पक्षको हो । महिला अधिकारको रक्षा कानुन बनाएर मात्र सम्भव छैन भन्ने कुरा हाम्रो अभ्यासले पुष्टि गरिसकेको छ । कानुनले त मानिसको बाहिरी आचरणमात्र नियन्त्रण गर्ने रहेछ । कानुन जतिसुकै महिलामैत्री भए पनि मानिसको सोचाइ, दृष्टिकोण, धारणा महिलामैत्री नभएसम्म हिंसा अन्त्य सम्भव छैन । त्यसैले महिलाप्रतिको हाम्रो दृष्टिकोण, धारणा, व्यवहार बदलिन जरुरी छ । समस्या हाम्रो सोचमा छ ।

महिलाले अधिकार पहिला आफैंमाथि जमाउनु आवश्यक छ । आफ्नो शरीरमाथिको अधिकार जबसम्म हँुंदैन, तबसम्म त हिंसा जारी रहन्छ । त्यसैले महिला आफै पनि उठौं, जागौं, आफूलाई सशक्त बनाऔं, अत्याचारको विरुद्धमा आवाज उठाऔं । अन्याय गर्नेभन्दा सहने अपराधी हो । आफूमाथि र आफ्नो नजिकमा भइरहेका हिंसाविरुद्ध आवाज उठाऔं, सहयोगी हातहरूको कमी छैन ।

जहाँ, जसले, जसरी गरे पनि हिंसाको पीडा एउटै हुन्छ, पीडाको भाषा एउटै हुन्छ । विकसित देशहरूमा पशुपन्क्षी अधिकारको चर्को बहस चल्दै गर्दा महिला अधिकार पनि मानवअधिकार हो भन्नलाई कति दिन आन्दोलन गर्ने रु कति वर्ष अभियान चलाउने रु अब त अति भो, महिला हिंसा अन्त्य गरौं, यसले सिंगो राष्ट्रलाई नै पछाडि धकेलिरहेको छ । अब महिला हिंसालाई राज्यले पनि गम्भीर फौजदारी अपराधमात्र होइन, राज्य विरुद्धकै अपराधको रूपमा स्वीकार गरेर कडा कदम चाल्न अबेर भइसकेको छ ।

साभार : कान्तिपुर दैनिक

    Comment Here!

Related NEWS
मुख्य खबर

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: