-जी भट्ट-
महेन्द्रनगर । दोस्रो संविधानसभा निर्वाचनमा झिनो मतान्तरले कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टसँग पराजित भएपछि निरन्तर कार्यक्षेत्रमा खटिएकी बिना मगरलाई यसपालिको निर्वाचन जित्न सहज थियो । ‘जन्मभूमिको सेवा गर्ने अठोट’ साथ निरन्तर स्थानीय स्तरमा खटिएकाले यसपालिको निर्वाचन जितिनेमा ढुक्क थिइन् उनी ।
निर्वाचन अभियानमै खटिएका बेला नेकपा एमालेसँग वाम गठबन्धन भएपछि नेकपा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य समेत रहेकी बिनालाई निर्वाचन जित्न कुनै समस्या नै थिएन । उच्च आत्मविश्वास र हर्षाेल्लासपूर्ण वातावरणमा निर्वाचन प्रचारप्रसार गरिरहेकी बिनालाई एकाएक पतिशोक परेपछि निर्वाचन प्रचारप्रसार प्रभावित भयो । जुन शोकको प्रभाव बिनालाई निर्वाचनमा सानदार जीत मिल्दासम्म कायमै रहेको छ ।
मंसिर ३ गते अकल्पनीय रुपमा पति प्रकाश दाहालको मृत्यु भएदेखि बिना खुलेर हाँस्न सकेकी छैनन् । मतदाताको विशाल साथ पाएर प्रतिस्पर्धी भन्दा दोब्बर मतले जित्दा समेत बिनाले खुलेर हाँस्न सकिनन् ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालयले विजयी उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्न आयोजना गरेको कार्यक्रममा बोल्दै बिना मगरले भनिन्, ‘मलाई माया गरेर जनताले यत्रो मत दिए । तर, मलाई खुसी मिल्दामिल्दै दुःखी हुनुपरेको छ । मैले मेरो जीवन साथी प्रकाश गुमाए, म प्रकाशलाई सम्झिन्छु ।’ बिनाले प्रकाशलाई सम्झँदै गर्दा आँखाबाट आँशु खसालिन् । राजनीतिक रुपमा जीवनकै ठूलो सफलता हात पार्दाको क्षण श्रीमान साथमा नहुँदा निकै दुखी बनेको बताइन् ।
कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनकी उम्मेदवार बिना मगरले निकटतम प्रतिद्वन्द्वीभन्दा दोब्बर मतान्तरले विजयी भएकी थिइन् । बिनाले ३८ हजार ४ सय ६७ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत मात्र पाएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बिनाले दिवानभन्दा १९ हजार २ सय ४८ बढी मत पाएकी छन् । ८८ हजार ५९ मतदाता रहेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा ६३ हजार ३ सय १ मत खसेकोमा ६० हजार २ सय ६३ मत सदर भएको थियो ।
प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएसँगै बिना मगर कञ्चनपुरबाट प्रत्यक्ष निर्वाचित भएर केन्द्रीय संसदमा पुग्ने पहिलो महिला बनेकी छन् । बिना मगर विजयी भएको क्षेत्रबाट प्रदेशसभा १ बाट तारालामा तामाङ र प्रदेशसभा २ बाट कुलवीर चौधरी विजयी भएका छन् । बिना मगरले खासै खुसीयाली मनाउन नपाएपनि वाम गठबन्धनका नेता कार्यकर्ताले विजयी ¥याली र अविर साटासाट गरेका छन् । महेन्द्रनगरदेखि सुरु भएको विजय ¥याली बेलडाँडी, बेलौरी, लालझाँडी हुँदै पुनर्वाससम्म पुगेको थियो ।
बिनाले विजेताको प्रमाणपत्र बुझ्दै जनताले दिएको मतको कदर गर्दै दक्षिणी क्षेत्रको आर्थिक विकास गर्ने उद्घोष गरेकी छन् । निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत गुणराज श्रेष्ठले प्रतिनिधिसभा सदस्य निर्वाचित प्रमाणपत्र हस्तान्तरण गर्दै बिनालाई निर्वाचित भएको घोषणा गरे । बिनाले दक्षिणी क्षेत्रको एकीकृत दीगो विकास र समृद्धिका लागि काम गर्ने बताइन् ।
‘निर्वाचन प्रचारका क्रममा हामीले सार्वजनिक गरेका प्रतिवद्धतापत्रलाई मुख्य मार्गचित्र मानेर यस क्षेत्रको विकासमा लाग्नेछु,’ विजयी घोषणा भएपछि बिना मगरद्वारा जारी धन्यवाद ज्ञापनपत्रमा लेखिएको छ, ‘स्थानीय, प्रदेश र केन्द्र सरकारमा वाम गठबन्धनकै नेतृत्व हुने भएकाले विकास गर्न सहज हुनेछ ।’ बिनाले जनतासँग निरन्तर जनसम्पर्क स्थापित गर्न, गुनासो सुन्न र समस्या समाधानका लागि स्थानीय तहमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गर्ने पनि घोषणा गरेकी छन् ।
Comment Here!