योगेश भट्टराईको प्रतिवद्धताः हरेक विद्यालयमा एक वर्षभित्र महिला शौचालय
-माला पालुङवा-
ताप्लेजुङ । नव निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सचिव योगेश कुमार भट्टराईले ताप्लेजुङका प्रत्येक विद्यालयमा एक वर्षभित्र व्यवस्थित महिला शौचालय निर्माण गर्ने प्रतिवद्धता गरेका छन् ।
शौचालयको अभावमा विद्यालयमा अध्ययनरत छात्राहरूले विद्यालय छोड्ने गरेकाले अबको एक वर्षमा जिल्लाका प्रत्येक विद्यालयमा शौचालय निर्माण सम्पन्न गर्ने भट्टराईको प्रतिवद्धता छ ।
‘विद्यालय उमेरका किशोरीहरूलाई पढाईमा निरन्तरता दिन प्रेरित गर्नको लागि प्रत्येक विद्यालयमा महिला शौचालय निर्माण गरिनेछ ।’ भट्टराईले भने, ‘छात्राहरूले विद्यालय छोड्नुको कारण मध्ये महिनावारीका बेला विद्यालयमा शौचालय तथा पानीको व्यवस्थापन नहुनु पनि प्रमुख कारण देखिएको छ । अब यसको अन्त्य हुन्छ । ताप्लेजुङ्का सबै छोरीहरू स्कुल जानेछन् ।’
प्रत्येक विद्यालयमा महिला शौचालय निर्माणका लागि आफ्नो पार्टीका कार्यकर्तालाई परिचालन गरिने पनि उनले बताए ।
ताप्लेजुङका सञ्चारकर्मीसँग कुरा गर्दै सचिव भट्टराईले जिल्लामा कार्यरत संघ संस्थालाई गोष्ठी र तालिममा मात्रै सिमित नभएर शौचालय निर्माणमा लाग्न पनि सुझाव दिए । उनले विद्यालयमा शिक्षण नगराउँने शिक्षकको खोजी गरि कारबाही प्रकिया समेत अगाडी बढाउँने चेतावनी दिए ।
सचिव भट्टराईले पाँच वर्ष भित्रमा जिल्लाका महिला तथा बालबालिकाको स्वास्थ्य, शिक्षा, रोजगार र नेतृत्व विकासमा आमूल परिवर्तन ल्याइने बताए ।
Comment Here!