बलात्कार गरेर फरार संजय ११ वर्षपछि पक्राउ


प्रकाशित मिति :2017-12-14 15:08:36

–इन्दिरा भट्टराई–

विराटनगर । एघार वर्ष अगाडि किशोरी बलात्कार गरि फरार भएका हात्तिमुढा–५ गोकुवाका संजय माझी हिजो पक्राउ परेका छन् ।

आफूले बलात्कार गरेकी किशोरीको हाल बिहे हुन लागेको खबर पाएपछि गाउँ फर्केका उनी बलात्कृत (हाल युवती) कै पहलमा प्रहरी फन्दामा परेका हुन् ।

आफ्नो बिहे हुन लागेको थाहा पाएपछि घर फर्केका उनलाई पक्राउ गर्न पहल गर्दा दुई पटक निमुवा प्रहरी र स्थानीयद्वारा भगाइए पनि तेस्रो पटक प्रहरीबाट उम्किन असफल भएको पीडितले बताइन् । उनले आउँदो फागुनमा आफ्नो बिहे हुन लागेको पनि बताइन् ।

मोरङका प्रहरी उपरीक्षक अरुणकुमार विसीले पीडक माझीलाई आज अदालत लाने बताएका छन् ।

यसरी भएको थियो बलात्कार

उनी १३ वर्षकी थिइन् । २०६३ पुस १५ गते, हात्तिमुढा–५ गोकुवा (बुढीगंगा गाउँपालिका–४) मा साढे चार बजे साथिहरूसँग खेसरीको साग टिप्दै रमाइलो गर्दै थिइन् । घरमा खानको लागि साग टिप्ने लगायत सानासाना काममा उनी आमालाई सघाउँथिन् । सानै उमेर भएकोले ठुलाठुला काम गर्नु उनका लागि कर थिएन । कक्षा ४ मा पढ्ने उनलाई रमाइलो मान्दै सानासाना काम गर्दा पुगिहाल्थ्यो ।

आफूले दाई भनेर बोलाउने २२ बर्षीय सन्जय माझी गाई लिन त्यतै आउँदै थिए । संजय उनले साग टिप्दै गरेको ठाउँमा आए र उनलाई समाते र भुइमा लडाए । उमेरमा उनी भन्दा साना दुई जना साथिहरूले संजयलाई कुटे । तर बलिया संयजले उनीहरूलाई कुटेर उल्टै लखेटे । र उनको मुख छोपे, नाक थुने र बलात्कार गरे । भावुक बन्दै उनी भन्छिन् ‘रातको ८ बजे म घरमा थिएँ । चेत खुल्दा आफ्ना खुट्टामा तेल दलिएको थियो । पीडा सहन सक्ने अवस्था थिइन ।’

त्यो दिन सम्झदा अझै पनि उनका आखा रसाउँछन् । गला अवरुद्ध हुन्छ । ‘११ बर्ष भयो । तर आज पनि मलाई उतिकै दुखेको छ’ उनी भन्छिन्, ‘यसले सजाय नपाएसम्म मलाई आराम हुदैन ।’

आफूमाथि भएको पीडादायी घटना सहन नसकेकी उनले घर परिवारको सहयोगमा भोलि पल्टै प्रहरीमा उजुरी दर्ता गराइन् । पीडित न्यायको खोजिमा पुगेपछि आरोपी संजय फरार भए । उनी घर र गाउँमा टिकेर बस्न सकिनन् । विराटनगरस्थित एबीसी नेपालको सुरक्षित आवास (सेफ हाउस) को शरणमा आइन् ।

कहाली लाग्दो त्यो क्षण सम्झदैं न्याय खोजिरहेकी उनी २ वर्ष सेफ हाउसमै बसिन् । कक्षा ४ मा अध्ययन गर्दै गर्दा भोग्नु परेको नियतीले केहि वर्ष पढाईमा अवरोध भयो । तर, पनि एसएलसीसम्म अध्ययन सकाइन् । एबीसीसहित अन्य सामाजिक संघ र संस्थाहरूले उनलाई बारम्बार सहयोग र आत्मबल थप्दै गए । एबीसी नेपालमा कार्यरत सारदा शाहका अनुसार उनी अन्जान थिइन्, बेकसुर थिइन् र न्यायको लागि लड्न प्रतिवद्ध थिइन् ।

सामान्य आर्थिक आय भएको परिवारमा भएको भए त्यो घटना त्यसै सेलाउने थियो । तर, डटेर पीडकलाई कारवाहीको दायरामा ल्याउन प्रयत्नरत रहँदा रहँदै २४ वर्षको भइन् । त्यहि न्यायको पर्खाइमा रहँदा–रहँदै आफ्नो पनि जीवनको नयाँ अध्याय थाल्नुछ । पीडा भुल्ने अवस्था पनि छैन । पीडक पक्राउ नपरि विवाह नगर्ने मनसाय थियो उनको । तर, पनि संघर्षका लागि साथ थप्ने योजनामा उनले विवाह गर्ने मन गरिन् । घरपरिवारले विवाहको लागि दुलाहा खोजे । विवाह हुने हल्ला थियो गाउँभरी ।

उनको विवाह हुने भनेपछि गाउँ फर्के संजय । घर छोडेको एघार वर्षपछि उनी गाउँ फर्केका थिए । पीडा भुल्न नसकेकी उनलाई चित्तै बुझेन । उजुरी गरेकै निमुवा प्रहरीमा पुगिन् र आफ्नो उजुरीमा फरार रहेका व्यक्ति गाउँमा आएकोले पक्राउ गरिदिन भनिन् । स्थानीय केहि व्यक्ति र निमुवा प्रहरीको मिलेमतोमा उल्टै संजयलाई भगााईयो । दुई पटकसम्म भगाइएका संजय केहि दिनपछि पुनःगाउँमा देखिए ।

उनी मानव अधिकारवादी संस्था इन्सेक पुगिन् । इन्सेकको समन्वय, सल्लाह र सुझावका आधारमा सरासर जिल्ला प्रहरी कार्यालयसम्म गईन् । अन्याय विरुद्ध लडेकी उनले न्याय दिलाउन अपिल गरेपछि जिल्ला प्रहरी कार्यालयले सादा पोशाकमा बुधबार (मंसिर २७ गते) प्रहरी पठायो ।

विवाह भोजमा रमाइरहेका संजय बल्ल प्रहरी फन्दामा परे । एघार वर्षसम्म न्यायको प्रतिक्षामा बसेकी उनी माथि कर्तुत गर्ने संजय बल्ल प्रहरी नियन्त्रणमा परे । जति भागे पनि आँखिर संजय उम्किएनन् ।

सादा पोशाकमा खटि गएको भक्त विष्ट र ज्ञानु बस्नेतको प्रहरी टोलिले सन्जयलाई नियन्त्रणमा लियो । आफूमाथि बलात्कार भएको ११ वर्षपछि उनले बल्ल लामो स्वास फेरिन् र गला अवरुद्ध पार्दै भनिन्, ‘दिन रात विर्सन नसकेकी मैले यो दिन देख्न चाहेको थिएँ । अब न्याय पाउने आशामा छु ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: