मुख्यमन्त्रीका दाबेदार महिला


प्रकाशित मिति :2017-12-15 14:56:16

–महिला खबर–

काठमाडौं । पहिलो र दोस्रो चरणमा सम्पन्न प्रदेशसभाबाट विजयी महिलाहरूले आफूलाई प्रदेशको मुख्यमन्त्रीको दाबेदारका रुपमा उभ्याएका छन् । वाम गठबन्धन र राष्ट्रिय जनता पार्टी (राजपा) बाट १७ जना महिलाहरू प्रदेशसभामा विजयी भएका छन् ।

प्रतिष्पर्धीसँग भारी मतले विजयी भएपछि हौसिएका उनीहरूले पहिलोपटक बन्न लागेको प्रदेशसभामा आफूलाई आफ्नो प्रदेशको मुख्यमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गरेका हुन् । महिला खबरसँगको टेलिफोन वार्तामा विजयी महिलाहरूले आफूहरू मुख्यमन्त्रीका लागि योग्य र सक्षम रहेको बताएका छन् ।

निर्वाचनमा प्रत्यक्ष तर्फ महिलालाई उम्मेदवार बनाउँन पार्टीले कन्जुस्याइँ गरेको अवस्थामा भारी मतले विजयी आफूहरूलाई मुख्यमन्त्रीको जिम्मेवारी दिएर क्षतिपुर्ती भर्नुपर्ने समेत बताएका छन् ।

हेर्नुहोस् कुन प्रदेशबाट मुख्यमन्त्रीमा कसको छ आकांक्षाः

देवकी मल्ल थापा

देवकी मल्ल थापा,  सात नम्बर प्रदेश बझाङ् प्रदेशसभा ‘ख’

माओवादी केन्द्रकी देवकी मल्ल थापा सात नम्बर प्रदेशको मुख्यमन्त्रीको दाबेदार हुन् ।

नेपाली काँग्रेसका उम्मेदवार एवम् पूर्व राज्यमन्त्री नरेशबहादुर सिंहलाई २५ सय १ मतले हराउँदै विजयी मल्ल दुई दशक भन्दा लामो समयदेखि कम्यूनिष्ट राजनीतिमा सक्रिय छन् ।

२०५४ सालमा नेकपा एमालेबाट राजनीतिमा प्रवेश गरेकी मल्लले २०५६ सालमा माओवादी पार्टीमा प्रवेश गरिन् भने २०५८ साल बैशाखदेखि भूमिगत भइन् । नेकपा माओवादीबाट भूमिगत भई सक्रिय राजनीति गर्दै आएकी उनीसँग भूमिगत अवस्थामा सेती महाकाली, भेरी कर्णाली लगायत देशका सबैजसो जिल्लाहरूमा बसेर काम गरेको अनुभव छ ।

भूमिगत अवस्थाका बेला तनहुँमा तत्कालिन शाही नेपाली सेनासँगको भिडन्तका क्रममा १० घण्टा पानीभित्र बसेर ज्यान जोगाएकी उनी शान्ति सम्झौतापछि जिल्लामै बसेर सक्रिय राजनीति गर्दै आइरहेकी छन् ।

राजनीतिमा महिलाको सहभागिता न्यून रहेको सात नम्बर प्रदेशमा निर्वाचन जित्ने एक मात्रै महिला देवकीले अनुभव र दक्षताको हिसाबले आफू मुख्यमन्त्री हुन लायक रहेको बताइन् । महिला खबरसँगको कुराकानीमा उनले भनिन्, ‘मुख्यमन्त्रीमा मेरो दाबी छ । मैले पार्टीभित्र कुरा गरिरहेकी छु । मेरो पार्टी र वाम गठबन्धनकै लागि अवसरको कुरा पनि हो । म मुख्यमन्त्रीको दाबीबाट पछाडि हट्दिन ।’

कला घले

कला घले, प्रदेश नम्बर एक,उदयपुर क्षेत्र नम्बर २ (ख)

वाम गठबन्धनबाट विजयी एमालेकी कला घले पनि मुख्यमन्त्रीकी दाबेदार हुन् । नेपाली काँग्रेसका रामकुमार खत्री भन्दा ४ हजार ४ सय ८४ मतान्तरले विजयी घले २०४६ सालको जनआन्दोलनदेखि राजनीतिमा सक्रिय नेता हुन् ।

२०४६ सालको जनआन्दोलनले राजनीतिको मर्म र महत्व बुझाएपछि राजनीतिमा लाग्ने अठोट गरेकी घले २०४७ सालमा संयुक्त जनमोर्चाका अध्यक्ष निर्मल लामाको पहलमा पार्टीमा आवद्ध भइन् । २०५१ सालमा नेकपा एमालेमा प्रवेश गरेकी घलेसँग त्रिवेणी गाउँपालिकाको गाउँ कमिटी सदस्य, अनेम संघ जिल्ला सदस्य हुँदै जिल्ला अध्यक्ष र नेकपा एमाले जिल्ला कमिटीमा दुई कार्यकाल सदस्य भएर काम गरिसकेको अनुभव छ ।

पार्टीले विश्वास गरेर जिम्मेवारी दिएको खण्डमा आफू प्रदेशको मुख्यमन्त्रीको दाबेदार रहेको उनले बताइन् ।

करिब तीन दशकदेखि नेपाली राजनीतिमा सक्रिय घलेले भनिन्, ‘मुख्यमन्त्री बन्नलाई चाहिने योग्यता र क्षमता दुवै छ । आँट छ, हिम्मत पनि छ । त्यसकारण मैले पनि मुख्यमन्त्रीमा दाबी गर्छु ।’

आशा कोइराला

आशा कोइराला, चार नम्बर प्रदेश,तनहुँ क्षेत्र नम्बर २ को ‘क’

माओवादी केन्द्रकी आशा कोइराला नेपाली कांग्रेसका उम्मेदवार प्रदिप पौडेलसँग पाँच मतान्तरले विजयी भइन् ।

प्रदेश सभा सदस्यको निर्वाचन सम्पन्न भएपछि अहिले मुख्यमन्त्री को हुने भन्ने चर्चा भैरहेको बेला कोइरालाले पार्टीले प्रदेश नम्बर चारको महत्वपूर्ण जिम्मेवारी दिनेमा विश्वस्त रहेको बताईन् ।

आफू नै भावी मुख्यमन्त्री हुने संकेत गर्दै कोइरालाले भनिन्, ‘म क्षमतावान छु । म सक्छु । पार्टीले मेरो क्षमता र योगदान बुझेकोले मलाई प्रदेशको महत्वपूर्ण भूमिका दिन्छ भन्ने विश्वास छ ।’

प्रदेश नम्बर चारलाई हरेक क्षेत्रबाट नमुना प्रदेश बनाउने भूमिका रहने बताउदै उनले भनिन्, ‘मलाई महत्वपूर्ण भूमिका प्राप्त हुन्छ भन्नेमा ढुक्क छु ।

२०४० सालदेखि माओवादी प्रवेश गरेकी थिईन् । १० वर्षे जनयुद्धका बेलामा पटक–पटक गरी पाँच वर्ष जेल जीवन विताई सकेकी कोइराला माओवादी केन्द्रकी पोलिटव्यूरो सदस्य हुन् ।

माओवादी युद्धका बेला उनी तनहुँ जिल्लाको जनसरकार प्रमुख थिइन् । अहिले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा विना विभागीय मन्त्री समेत हुन् ।

अष्टलक्ष्मी शाक्य

अष्टलक्ष्मी शाक्य, प्रदेश नम्बर तीन,काठमाडौँ क्षेत्र नम्बर ८ ‘ख’

प्रदेशसभा सदस्यमा उम्मेदवारी दिदादेखि नै प्रदेश नम्बर तीनको भावी मुख्यमन्त्रीको रुपमा चर्चा बटुलेकी अष्टलक्ष्मी शाक्य नेपाली काँग्रेसका देवरत्न डङ्गोललाई एक हजार ५ सय मतान्तरले पछाडि पार्दै विजयी भइन् ।

धेरैले प्रदेश नं ३ को मुख्यमन्त्री शाक्य नै हुन् भनी आकलन समेत गरिरहँदा उनले भनिन, ‘अहिले नै मुख्यमन्त्री को हुने भन्ने पार्टीले निर्णय गरिसकेको छैन । पार्टीले चाहेमा म मुख्यमन्त्रीको लागि तयार छु । योग्य छु ।’

२०५६ सालमा काठमाडौंबाट सांसद बनेकी उनी दोस्रो संविधानसभाकी सदस्य समेत भइन् भने पार्टीका विभिन्न विभाग तथा अरु जिम्मेवारीहरूमा पनि छन् ।

उद्योग मन्त्रालय र महिला बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेकी शाक्य झण्डै ४ दशकको राजनीतिक जीवनबाट अझै थाकेकी छैनन् । नेकपा एमालेकी उपाध्यक्ष समेत रहेकी शाक्य अहिले पनि आफ्को सम्पूर्ण समय राजनीतिमै बित्ने गरेको बताउँछिन् ।

समाजको आर्थिक, सामाजिक, सांस्कृतिक आदि सबै खाले रुपान्तरण गर्ने आधार राजनीति नै हो भन्ने मान्यता बोकेकी शाक्य राजनीतिमा कठिनाई मात्रै होइन, अवसर पनि त्यत्तिकै देख्छिन् ।

लालकुमारी पुन

लालकुमारी पुन, प्रदेश नम्बर तीन,ललितपुर क्षेत्र नं. १ को (क)

वाम गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी लालकुमारी पुन नेपाली काँग्रेसका ऋषिराम घिमिरेलाई २ हजार ७ सय ३६ मत अन्तरले पराजित गर्दै विजयी भइन् ।

राजनीति गर्नेहरूले पदको चाहना राख्नु स्वभाविक भएको भन्दै लालकुमारीले व्यक्तिगत चाहना भन्दा माथि उठेर पार्टीको लागि काम गर्ने बताइन् । ‘मुख्यमन्त्री म नै हुनुपर्छ, मलाई नै बनाउँनु पर्छ भन्ने कुरामा मेरो ढिपी छैन’ उनले भनिन्, ‘यदि मेरो पार्टीले त्यो जिम्मेवारी मलाई दिएको खण्डमा नमूना काम गरेर देखाउँनेछु । म त्यो पदका लागि योग्य छु ।’

२०४८ सालमा नेकपा माओवादी प्रवेश गरेकी पुनले २०५१ सालमा पार्टी सदस्यता लिइन् । २०५६ सालमा भूमिगत भएकी पुनले माओवादी सेनामा आवद्ध भई प्लाटुन कमाण्डर, सेक्सन कमाण्डरको जिम्मेवारी कुशलतापूर्वक सम्हालिन् ।

माओवादी सेनामा रहेर काम गर्दा दर्जनौं ठाउँमा राज्य पक्षको घेराबन्दीबाट उम्किएर ज्यान जोगाउँन सफल उनले आफ्ना हजारौं सहयोद्धाको पनि जीवन बचाइन् । स्वास्थ्यकर्मी समेत भएका कारण आक्रमण र घेराबन्दीमा घाइते सहकर्मीहरूको उपचारको समेत जिम्मा पाएकी उनले युद्धका क्रममा दर्जनौं पटक मृत्यु जितेर पाएको जीवन सार्थक बनाउन राजनीतिलाई निरन्तरता दिएको बताइन् ।

‘म व्यक्तिगत स्वार्थका लागि हिजो पनि लागिन, आज पनि लाग्दिन, भोली पनि लाग्ने छैन’ लालकुमारीले भनिन्, ‘पार्टीले विश्वास गरेर जिम्मेवारी दिएको खण्डमा राजनीतिमा जस्तोसुकै जिम्मेवारी निर्वाह गर्न सक्षम छु ।’

कृष्णा केसी (नमुना)

कृष्णा केसी (नमुना), प्रदेश नम्बर पाँच,बाँके क्षेत्र नम्बर १ प्रदेशसभा (क)

प्रदेश नम्बर पाँचमा माओवादी केन्द्रबाट मुख्यमन्त्री को हुने भन्दै अहिले पार्टीमा छलफल भइरहेको छ । प्रदेश नम्बर पाँचमा मुख्य मन्त्रीमा पुरुष नेताको दाबेदार बारे चर्चा चलिरहँदा बाँके क्षेत्र नम्बर १ प्रदेशसभा  (क) बाट विजयी कृष्णा केसी (नमुना) ले पनि आफू मुख्यमन्त्रीको दाबेदार भएको बताएकी छन् ।

‘महिलाको हकमा अहिलेसम्म कुनै पनि अधिकार मागेर पाएका छैनन् । म मुख्यमन्त्रीका लागि सक्षम छु । म हरेक तवरले मुख्यमन्त्री बन्नका लागि योग्य छु’ नमुनाले भनिन् ।

२०४८ सालमा माओवादीमा प्रवेश गरेकी नमुनाले २०५४ सालमा दुई वर्ष जेल जीवन विताएपछि भुमीगत भइन् । २०७० सालमा विराटनगर सेक्रेटरी भएर काम गरेकी उनी माओवादी केन्द्रको केन्द्रिय सदस्य पनि हुन् ।

२०७२ सालमा पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उनले प्रचण्डको स्वकीय सचिव भएर पनि जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।

कृष्णाले भनिन्, ‘मुख्यमन्त्रीको दाबेदार म पनि हुँ । पार्टीले त्यो जिम्मेवारी र अवसर दिन्छ भन्ने विश्वास छ ।’

बेची लुङगेली

बेची लुङगेली, प्रदेश नम्बर २,सर्लाही क्षेत्र नम्बर १ (ख)

वाम गठबन्धनबाट उम्मेदवार नेकपा एमालेकी बेची लुङगेलीले नेपाली कांग्रेका शेषसाह दुल्लाहलाई ६ हजार १ सय ६६ मतले पछि पार्दै विजयी भइन् ।

सर्लाहीबाट एक मात्र महिला विजयी उम्मेदवार लुङगेलीले आफू प्रदेश नम्बर २ को मुख्यमन्त्रीको आकांक्षी भएको बताइन् । यद्यपि पार्टीको सहयोग, समर्थन विना त्यो ठाउँमा पुग्न नसकिने हुँदा यदी पार्टीले आफूलाई त्यो भूमिका दिएको खण्डमा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्नसक्ने क्षमता भएको बताइन् ।

२०५४ सालमा पद्यमकन्या क्याम्पस काठमाडौंमा अध्ययनरत हुँदा नेकपा एमालेको जनवर्गीय संगठन अनेरास्ववियूबाट एमालेको सदस्यता लिएकी लुङगेली नेकपा एमाले सर्लाहीको पार्टी सचिव समेत हुन् ।

प्रदेश नम्बर नम्बर दुईबाट नेकपा एमालेका दुई जना महिला मात्रै निर्वाचित रहेको अवस्था पार्टीले एक जना महिलालाई मुख्यमन्त्री बनाएर नमूना काम गर्नुपर्ने उनले बताइन् ।

लुङगेलीले भनिन्, ‘पार्टीले महिलालाई मुख्यमन्त्री जस्तो पदमा पठाएर उदाहरणीय काम गर्नेछ भन्ने विश्वास छ । यदी पार्टीले विश्वास गर्छ भने म मुख्यमन्त्रीको आकांक्षी हो ।’

रानी तिवारी,प्रदेश नं २,महोत्तरी क्षेत्र नं. ३ ‘ख’

प्रदेश नम्बर दुईको मुख्यमन्त्रीमा राष्ट्रिय जनता पार्टी (राजपा)की रानी तिवारीको नाम अहिले चर्चामा छ ।

उनी महोत्तरी क्षेत्र नं. ३ ‘ख’ बाट विजयी उम्मेदवार हुन् । रानी भन्छिन्, ‘पार्टीले जिम्मेवारी दिएमा हामीले गर्न नसक्ने भन्ने केही छैन । म मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्न सक्छु ।’

महिला कुनै पनि कुरामा पछाडि नभएको भन्दै उनले मन्त्री, मुख्यमन्त्री वा प्रधानमन्त्रीको समेत जिम्मेवारी सम्हाल्न सक्ने बताउँछिन् ।
रानी २०६३ सालदेखि राजनीतिकमा आवद्ध छन् । उनी अहिले राजपाको वरिष्ट उपाध्यक्ष हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: