छाउ प्रथा विरुद्ध सुर्जाको विद्रोह


प्रकाशित मिति :2017-12-18 15:31:04

–सन्दिप वि.क–
काठमाडौं । नाम सुर्जा वि.क । उमेर ४० । ठेगाना–डडेल्धुरा, आलिताल गाउँपालिका । तर, यत्तिकैमा सुर्जाको परिचय खुल्दैन । उनको गाउँमा उनी ‘विद्रोही महिला’का रुपमा बढी परिचित छन् । सुर्जाको उपनाम ‘विद्रोही महिला’ राखिनुको एउटै कारण छ, उनले दुई दशकदेखि ‘छाउ’ नबार्ने भन्दै विद्रोह गदै आएकी छन् ।

सुर्जा १३ वर्षको उमेरमा अर्थात २०४६ सालमा पहिलो पटक छाउ (महिनावारी) भइन् रे । त्यसबेला उनले धेरै सकस सहनु प¥यो ।

पहिलो पटक छाउभएको अनुभव सुनाउँदै उनी भन्छिन्, ‘छाउ भएर छाउ घरमा बस्दा निकै डर लागेको थियो । मनमा अनेक कुरा खेल्थ्यो । घरदेखि टाढै थियो छाउ घर । एक्लै, चिसो भुईँ । सर्पको डर, बर्खाको बेला झन् समस्या ।’

सुर्जाको मात्रै होइन् । सुदूर र मध्यपश्चिमका अधिकांश महिलाको छाउ गोठमा बस्दाको पीडा सुर्जाको भन्दा फरक छैन ।
‘छाउ गोठमा बस्दाको पीडा सबै महिलाहरूले भोगेका छन् । अझ पहिलो पटक छाउ हुँदा झन् समस्या छ’ उनले सुनाइन् ।
करिब ५५ घरधुरी दलित रहेको सुर्जाको गाउँमा पहिले धेरै छाउ घर थिए । छाउ गोठ हटाउँनुपर्छ भन्ने अभियान चलेपछि केही छाउ घर हटाइए । अझैँ ३ वटा भने फेरि बनाइए । छाउ भएको एक वर्षमै उनको विवाह भयो । अर्थात २०४७ मा उनी बैवाहिक बन्धनमा बाधिन् ।

दुई कक्षासम्म मात्र पढेकी सुर्जालाई विवाहपछि छाउ भएको बेला घरभित्र बस्न निकै संघर्ष गर्नुपर्यो । छाउ हुँदा घरभित्र पस्न पाइदैनथ्याँ । बाहिर चिसो भुईँमा बस्नुपथ्र्यो ।

विगत सम्झदैँ सुर्जा भन्छिन्, ‘एक पटक गाई मर्यो । सासुले मेरै कारणले गाई मरेको बताइन् । तैले गर्दा हो गाई मरेको । तैले छोइदिस् होला । सासुले तैले नै बिगारेको होस भन्न थालिन् । त्यो गाई खै के भएर मर्यो, मलाई थाहा भएन् । तर दोष मैले छाउ नबारेकै कारण देखियो । गाई मरेपछि अदुवा बेचेरै मैले ३५ सय रुपैयाँमा अर्को गाई किनेर ल्याइदिए ।’

अर्को गाई ल्याएपछि पनि उनले छाउ हुँदा सासु नभएको बेला गाई पनि दुहिन् । तर केही भएन् । उनी भन्छिन्, ‘सासु नभएको बेला गाई पनि दुहे । दुध भित्रै राख्दिन्थे । केही हुन्छ कि भन्ने मनमा डर त थियो । तर कहिल्यै केहि भएन । त्यसपछि म ढुक्क हुँदै गयो । हिम्मत बढ्यो । मलाई लाग्यो, छाउ हुँदा गाईवस्तु छुँदा केही हुँदो रहेनछ ।’
सासु आमाले गाईको दुध कस्ले दोह्यो भन्दा उनले गाउँकै दिदीले हो भनेर भन्थिन् । ‘मैले गाउँकै दिदीले दुहुनु भयो भनेर ढाँट्थे । सासुको पनि डर थियो । मैले दुहेको हो भन्यो भने दुध नै फाल्दिनुहुन्थ्यो’ उनले भनिन् ।

छाउ भएको बेला गोठ नबस्ने सुर्जासँग छाउ नबार्दा भोग्नु परेका थुप्रै घटना छन् । वि.स २०५४ सालतिर डाक्टरहरू गाउँमा आएका थिए । स्वयम्सेवक छान्न भनेर । गाउँका सबै मान्छे जम्मा भए । उनी स्वयम्सेवकमा छानिइन् । आफू स्वयम्सेवक भएकै कारणपनि छाउ बार्नु हुन्न भन्ने धारणाको विकास भएको सुर्जाले बताइन् ।

महिनावारी हुनु महिलाको प्रजनन्सँग सम्बन्धित छ भन्ने थाहा हुन थाल्यो । यस सम्बन्धि उनले केही तालिमहरू पनि लिएकी थिइन् । तर पनि उनलाई घर समाजमा सम्झाउँन साह्रै गाह्रो हुन्थ्यो रे ।

सरकार माओवादी द्वन्द्वका बेला एक पटक संकटकालको समय थियो । उनले छाउ भएको बेला घरभित्रै बस्ने आँट गरिन् । सुनसान रात थियो । पानी परिरहेको थियो । छाउ भएका कारण उनी घर बाहिर बसेकी थिइन् । सासु घर भित्रै थिइन् । राती सासु निदाइसकेपछि उनी सुटुक्क घरभित्रै पसिन् ।

सुर्जाले एउटा जुक्ति निकालिन् । आफ्ना दुई छोरालाई फकाइन् । उनीहरूलाई कसैले सोधे भने मान्छे आएर भित्र सुत्न भनेका हुन् भन्दिनु भनिन् । तर पनि भोलिपल्ट सबैतिर हल्ला फैलिहालेछ । फलानाको बुहारी छाउ हुँदा घरभित्रै बसि भनेर । त्यसको भोलिपल्टै गाउँका धामी झाँक्रीसहित सबै गाउँले उनको घरमा जम्मा भए । तैले नहुने काम गरिस् भन्न थाले । कसैले गाउँ निकाला गर्ने योजना बनाए । को हो तलाई भित्र सुत भन्ने भन्न थाले ।

सुर्जा पनि कतै गाउँ निकाला भइन्छकी भनेर निकै डराइन् । अनि उनले अर्को एउटा जुक्ति निकालिन् । ‘उनीहरू माओवादी हुन् । तिनीहरूले आजदेखि तिमी छाउ भएको बेला बाहिर बस्यौ भने पाँच दिनसम्म अपहरण गर्छौ भनेका छन् । मलाई बाँचा कसम खुवाएका छन् । आजदेखि छाउ गोठमा बसेमा टाउकादेखि खुट्टासम्म छाला काटेर राख्दिन्छु भनेका छन् भने ।’ सुर्जाले त्यसो भनेपछि मात्रै गाउँलेहरू पनि डराए । सासु आमालाई पनि मलाई मार्छन् कि भन्ने डर भयो । त्यसपछि छाउ भएको बेलामा भित्र बस्न अनुमति पाएको उनले स्मरण गरिन् ।

सुर्जाले निकालेको जुक्तिले जेठानीलाई पनि सहज भयो । बिस्तारै उनी पनि छाउ हुँदा घरभित्रै बस्न थालिन् । सुर्जाका अहिले २ छोरी छन् तर उनीहरू नत छाउगोठ नै गए, न त छाउ नै बार्छन् । बरु छाउ हुँदा सररफाई र खानपानमा ध्यान दिने गरेको उनी बताउँछिन् । त्यहि छाउ हुँदा भित्र पस्न नदिने सासु आमा अहिले ७८ वर्ष पुगिन् । ‘छोरीहरू पढे लेखेका छन् । उनीहरू छाउ हुँदा बार्दैनन् । मलाई पनि छाउ भएका बेला दुध दिन्छन्’ उनले सुनाइन् ।

पहिले छाउ हुँदा गाई भैंसी छोयो भने भैंसी मर्छ भन्ने अन्धविश्वास थियो । अहिले त्यो पनि विस्तारै परिवर्तन हुँदै आएको उनी बताउँछिन् । ‘हामी महिलाहरू जन्मेदेखि नै हिंसामा परेका हुन्छौँ । छोरा जन्मिए गाउँमा अहिले पनि खसि बोका काट्छन् । तर छोरी जन्मिए केहि हर्ष हुँदैन’ सुर्जाले छोरीप्रति समाजले गर्ने विभेद बारे पनि अनुभव सुनाइन् ।

अहिले सुर्जा गाउँमा महिलाहरूलाई छोउ गोठ बस्नु हुँदैन । बरु यस्तो बेलामा खानपान र सरसफाईमा ध्यान दिनुपर्छ । भन्दै सचेत गराउँदै हिड्छन् । सुर्जाको समाजमा छाउ भएको बेला घरभित्र पसेमा र जथाभावी अरूलाई छुने गरेमा देवी–देवता रिसाएर शरीर बांगिने, हात खुट्टा, सुन्निने, बिरामी पर्ने र गाउँ समाजमा अनिष्ट हुन्छ भन्ने गलत सोंच अझैँ कायम रहेको उनले बताइन् ।

पहिले धेरै छाउ गोठ रहेको सुर्जाको गाउँमा अहिले ३ वटा मात्रै छाउगोठ छ । त्यो पनि देवीदेवता रिसाए भनेर पुनः बनाइएका छाउगोठ हुन् रे । सरकारी तथा गैर सरकारी निकायले भौतिक रुपमा बनाइएका छाउ गोठहरू निर्मूल गर्ने तर्फ लाग्नुपर्ने सुझाव सुर्जाको छ । छाउपडी प्रथा बारे सचेतना फैलाउँदै हिडेकी सुर्जा भन्छिन्, ‘छाउ भएका बेला आराम गर्नुपर्छ । सरसफाई गर्नुपर्छ । बाँकी कुरा सबै बनाइएका हुन् । घर भित्र पस्दा, दुध दहि खादा देउता रिसाउँने कुरा गलत हो । जुन कुराको म आफै उदाहरण हुँ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: