प्रदेश नम्बर १ की एक्ली पवित्रा


प्रकाशित मिति :2017-12-20 12:07:55

पवित्रा निरौला खरेल

प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले) की पवित्रा निरौला खरेल प्रदेश १ बाट प्रतिनिधिसभामा प्रत्यक्ष तर्फबाट प्रतिनिधित्व गर्ने एक्ली महिला बनेकी छिन् । मंसिर २१ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं २ बाट उनी निर्वाचिन भएकी हुन् । उनले नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापालाई पराजय गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने यात्रा तय गरेकी हुन् ।

प्रतिनिधिसभाको निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी थापालाई १३ हजार ७ सय ६७ मतान्तरले पराजित गर्दै उनी निर्वाचित भइन् । खरेलले ४५ हजार ८ सय १७ मत ल्याउँदा नेपाली काँग्रेसका झापा जिल्ला सभापती समेत रहेका थापाले ३२ हजार ५० मत पाएका थिए ।

यसरी आइन् राजनीतिमा

तत्कालीन समयमा महिलाले राजनीतिमा सक्रिय हुनु चानचुने कुरा थिएन । तर समाजले हेर्ने दृष्टिकोण बद्लिने कुनै सङ्केत समेत देखेकी थिइनन् पत्रिवाले । परम्परागत सोचाइको साँघुरो सामाजिक घेराबाट फुत्किन उनलाई राजनीतिको लम्बे बाटो हिँडने सुर चढ्यो, अनि पञ्चायतको अध्ँयारोको वास्तै नगरि होमिइन राजनीतिमा । सुराकी गर्नेहरूबाट जोगिन झन् मुस्किल । निरङ्कुश सत्ताका सिपाहीलाई छक्याएर मध्यरातमा सङ्गठन निर्माण गर्दै हिँड्नु पातमाथि ज्यान राख्नुसरह थियो । नेपाली कम्युनिष्ट राजनीतिमा सक्रिय भएर तीन दशक बिताइरहँदा पवित्रा सुदूर पूर्वी मोफसलको एउटा सशक्त राजनीति कर्मीको रुपमा उदाइसकेकी छन् ।

२०३६ सालमा स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षबाट प्रारम्भ भएको पवित्राको राजनीतिक यात्रा यतिबेला प्रतिनिधिसभा सदस्यको रुपमा स्थापित भएको छ ।

दमकको हिमालय माध्यमिक विद्यालय पढ्दै गर्दा इन्द्र बुढाथोकी र पर्शुराम सञ्जेलले बाम राजनीतिमा सङ्गठित गरेकी पवित्रा सधैँ सशक्त भूमिकामा प्रस्तुत भइन् ।

२०३८ सालमा एकताको छैठौं राष्ट्रिय सम्मेलनमा सहभागी हुन राजधानी काठमाडौँ गइरहँदा प्रहरी घेराबन्दीमा परेकी उनी शौचालयमा लुकेर पक्राउबाट बचिन । ‘पहिलो पटक राजधानी काठमाडौँ जाँदाको अनुभव थियो त्यो’, उनले भनिन् ।

२०३८ सालतिर अखिल नेपाल महिला सङ्घको गाउँ समिति सदस्य हुँदै उनको राजनीतिक यात्रा अघि बढ्छ । त्यो बेला उनले जिल्ला तयारी समितिको अध्यक्ष हुने मौका पाइन् । सहज रुपमा कम्युनिष्ट पार्टीको सदस्यता दिने प्रचलन थिएन त्यस बेला । जनवर्गीय सङ्गठनमा काम गर्ने सबैले सदस्यता पाएका पनि हुँदैनथे । २०४४ सालमा मात्रै उनले पार्टी सदस्यता प्राप्त गरिन् । २०४० सालमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा दमकमा भव्य कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम सकेर इन्द्र बुढाथोकीको घरमा समीक्षा बैठक बसिरहेका बेला उनलाई प्रहरीले पक्राउ ग¥यो । प्रहरीको पिटाइले टाउकोमा गहिरो चोट पनि लाग्यो । २६ दिन प्रहरी हिरासतमा बिताउँदा पाएको यातना भनि साध्य छैन । पवित्रासँगै दीपक कार्की, लीला कट्टेल पनि जेल परे त्यो बेला । विष्णु खड्का र सीता उप्रेती प्रहरी हिरासतबाटै छुटे । तर पवित्रालाई भने प्रहरीले झापा कारागार चलान गर्यो । तीन वर्षको जेल जीवनपछि २०४३ सालमा उनी मुक्त भइन् ।

दमन र अत्याचारविरुद्ध खरो प्रस्तुती

राज्य सत्ताले गरेको दमन र अत्याचारविरुद्ध उनी अझै खरोरुपमा प्रस्तुत भइन् । हिरासतबाट छुटेपछि झापा धरमपुरका देबी रेग्मीको घरमा बसिरहेका बेला प्रहरीले फेरि घेरा हाल्यो । रेग्मीसहित होम गौतम, विश्व बराल, बलजीत राई, होम दङगाल र रेग्मीका छोरा पक्राउ परे । आफू घरबेटी रेग्मीकी छोरी भएको बताएपछि उनी प्रहरी फन्दामा पर्नबाट जोगिइन् । २०४४ सालतिरको कुरा हो, पार्टीले उनलाई इलाम पठायो । दुई वर्ष इलाममा बसेर उनले पार्टी काम गरिन् । त्यो बेला इलाम जिल्ला कमिटीकी सदस्य थिइन् उनी । २०४६ सालको आन्दोलनअघि अनेम सङ्घको राष्ट्रिय सम्मेलन भयो ।

उनले झापाबाट प्रतिनिधित्व गरिन् । केन्द्रीय सदस्यमा निर्वाचित पनि भइन् । सम्मेलनले इलाम कारागारमा रहेकी अष्टलक्ष्मी शाक्यलाई सङ्घको अध्यक्ष बनायो । १७ सदस्यीय केन्द्रीय समिति बनेको उनलाई सम्झना छ ।

सपरिवार नै राजनीतिमा

२०४७ सालमा पवित्राको बिहे भयो । उनका बेहुला थिए नरेश खरेल, जो कम्युनिष्ट राजनीतिका एक जना असल र इमान्दार सिपाही हुन् । जेलनेल र यातनाको कहाली लाग्दो सङ्घर्षपूर्ण राजनीतिक जीवन बिताएका नरेश इमान्दारिताको कसीमा कहिल्यै घटी छैनन् ।

‘उहाँसँग चिनजानै थिएन’ पवित्राले भनिन्, ‘पार्टीले नै हाम्रो बिहेको चाँजोपाँचो मिलाई दियो । खुशीसाथ हामी बैवाहिक जीवनमा प्रवेश गर्यौ ।’ २०५४ सालमा जिल्ला विकास समिति झापाको मनोनित सदस्य भइन पवित्रा । यसबाहेक सामाजिक सङ्घ संस्थामा उनको संलग्नता र योगदान पनि उत्तिकै छ ।

विर्तामोड खानेपानी तथा सरसफाई समितिमा पवित्राले १० वर्ष बसेर काम गरेकी छन् । एक कार्यकाल कोषाध्यक्ष र अर्को कार्यकाल उपाध्यक्ष भएकी उनी जनताका बीचमा काम गर्न रमाउँछिन् । त्यसैमा जीवनको खुशी मिल्छ उनलाई ।

प्रस्तुतिः अम्बिका भण्डारी\महिला खबर

    Comment Here!

Related NEWS
मुख्य खबर

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: