बालविवाह न्यूनिकरण गर्न दबाब, हस्तक्षेप र कारवाही अभियानको खाँचोः शर्मा
–महिला खबर–
कपिलवस्तु । सञ्चारिका समूहका अध्यक्ष निर्मला शर्माले बालविवाह न्यूनिकरण गर्न निरन्तर दबाब, हस्तक्षेप र कारवाहीमुलक अभियानको खाँचो भएको बताएकी छन् ।
संचारिका समूहले मंगलवार तौलिहवामा आयोजना गरेको बालविवाह न्यूनिकरणका लागि युवाहरूसँगको अभिमुखिकरण कार्यक्रमममा शर्माले यस्तो बताएकी हुन् ।
नागरिक स्तरबाट दबाब, राज्यका निकायबाट हस्तक्षेप र कानुनी कारवाहीमुलक अभियानबाट मात्र बालविवाह न्यूनिकरण हुने उनको भनाई थियो । वालविवाह जस्तो दण्डनिय कार्यको निरुत्साहित गर्न युवाहरूको अहम भूमिका हुने पनि शर्माले बताइन् ।
कार्यक्रममा यूएनएफपीएका फिल्ड संयोजक चित्र महतोले मुलुकमै कपिलवस्तु बालविवाह हुनेमा तेस्रो स्थानमा आएको बताउँदै अब कपिलवस्तुलाई बालविवाह मुक्त जिल्ला घोषणा गर्न सबै लाग्नुपर्नेमा जोड दिनु दिए ।
वालविवाह न्यूनिकरणका लागि युवाहरूको अभियान सार्थक रहने र उक्त अभियानलाई सबैले काँधमा काँध मिलाउनु पर्ने धारणा राखे ।
कार्यक्रममा सञ्चारिका समूहका केन्द्रिय कोषाध्यक्ष यशोधा अधिकारीले बालविवाह रोकिएमा मात्रै समृद्ध समाज निर्माण हुने बताइन् ।
सञ्चारिका समूहका जिल्ला अध्यक्ष पार्वती पाण्डेले बालविवाह न्यूनिकरण अभियानलाई सबैले सहयोग गर्दै अभियानमा सरिक हुनुपर्ने बताइन् ।
यूएनएफपीए र सञ्चारिका समूहको आयोजनामा गरिएको कार्यक्रममा कपिलवस्तुका ६ वटा नगरपालिका र ४ गाउँपालिका गरि १० स्थानीय तहका सबै समुदायका ४० युवाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागिको तर्फबाट पत्रकार नारायण पाण्डे र रेनु मिश्रले आफुहरूले सिकेका कुरा व्यवहारमा उतार्दै समुदाय र गाउँस्तरसम्म बालविवाह गर्नु हुदैन भन्ने सन्देश फैलाउने र निरन्तर अभियानमा सरिक हुने प्रतिवद्धता जनाए ।
Comment Here!