-सर्मिला बुढाथोकी-
दोलखा । दोलखा जिल्लामा क्षयरोगका विरामीहरूमा पुरुषको तुलनामा महिलाको संख्या निक्कै कम रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाको तथ्याङ्कले देखाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाको तथ्याङ्क अनुसार दोलखामा आर्थिक बर्ष ०६३\०६४ मा क्षय रोगीको संख्या १ सय ४४ रहेकोमा महिलाको संख्या ५५ रहेको थियो भने आर्थिक बर्ष ०६४\०६५ मा १ सय ३७ रहेकोमा महिलाको संख्या ४१ रहेको थियो । त्यसैगरी आर्थिक बर्ष ०७०\०७१ मा १ सय ८ विरामीमा महिला ३२ र आर्थिक बर्ष ०७१\०७२ मा १ सय २५ विरामीमा महिला ४१ जना रहेका थिए ।

जेष्ठ नागरिकलाई क्षयरोग सम्बन्धि जानकारी गराउदै महिला स्वास्थ्य स्वयमसेवीका
भुकम्पपछि ०७२\०७३ मा क्षयरोगीको संख्या बढेर १ सय ५० जना पुगेको भएपनि महिलाको संख्या भने ३९ जनामात्र रहेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाको तथ्याङ्कले देखाएको छ । त्यसैगरी आर्थिक बर्ष ०७३\०७४ मा १ सय १० विरामीमा महिला ३१ र आर्थिक बर्ष ०७४\०७५ को कार्तिक महिनासम्म ३३ जना विरामीमा महिला १२ जनामात्र रहेको कार्यालयको तथ्याङ्कले देखाएको छ ।
सन्तोषजनक प्रगति छैन
दोलखा जिल्लामा क्षयरोगीको संख्यामा क्रमश कमि आएको भएपनि सरकारको लगानी अनुसार सन्तोषजनक प्रगति भने हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय दोलखाका क्षयरोग कुष्ठरोग शाखाका अधिकृत जितेन्द्रकुमार कर्ण बताउँछन् ।
जिल्लामा आर्थिक बर्ष ०६२\६३ देखि क्षयरोग निवारणको लागि प्रत्यक्ष निगरानी उपचार विधि (डट्स) कार्यक्रम सुरु गरिएको भएपनि त्यतिबेलाको क्षयरोगीको संख्या र अहिलेको क्षयरोगीको संख्यामा खासै फरक नभएको तथ्याङ्कले देखाएको छ ।
जिल्लामा डट्स कार्यक्रम लागु भएपछि क्षय रोगीको संख्यामा क्रमशः कमि आएको भएपनि आर्थिक बर्ष ०७२\०७३ मा भने यो संख्या निक्कै बढेको कर्णले बताए । भुकम्पपछि लामो समय धेरै मानिसहरू टहरामा संगै सुत्नुपर्ने बाध्यता रहेकोले त्यतिबेला क्षयरोगीको संख्यामा बृद्धि भएको कर्ण बताउँछन् ।
दोलखा जिल्लामा डट्स कार्यक्रम लागु भएपछि अहिले जिल्लाको ५६ वटा स्वास्थ्य संस्थाबाट प्रत्यक्ष निगरानिमा उपचार विधिको निशुल्क सेवा लिन सकिन्छ ।
त्यसैगरी जिल्लाको सदरमुकामस्थित प्राथामीक स्वास्थ्य केन्द्र, जिरी अस्पताल, जफे, सुरी, दोलखा, सिंगटी र किर्नेटारको हिमाल पावर लिमिटेडमा रेहेको स्वास्थ्य केन्द्रहरूमा क्षय रोगको निशुल्क परिक्षण हुने कर्णले बताए ।

क्षयरोग परिक्षणपछि स्वास्थ्य कार्यकर्ताहरू
माईक्रो ब्याक्टेरीया टिबर क्लोसीस नामको किटाणुबाट हुने क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने र यसको उपचारको लागि ६ देखि १८ महिनासम्म औषधि सेवन गर्नुपर्ने कर्णको भनाई छ । यसको औषधि सेवन नियमीत नहुँदा रोग झन जटिल हुने भएकोले जिल्लामा प्रत्यक्ष निगरानी उपचार विधि (डट्स) कार्यक्रम लागु भएको र यसका विरामीले डट्स लागु भएको स्वास्थ्य केन्द्रमा गएर स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानिमा औषधि सेवन गर्नु पर्ने कर्णले बताए ।
Comment Here!