-यमुना खनाल-
सिरहा । सप्तरीको रम्पुरा मल्हनिया गाविस हाल हनुमाननगर कंकालिनी नगरपालिकाका दलित महिलाहरुलाई यतिबेला बोल्ने, खाने फर्सद छैन ।
केही समय अघिसम्म साँहुको घरमा काम (बनी) पाए खाने, नपाए भाकै बस्नपर्ने बाध्यता थियो । घरेलु तथा साना उद्योग सप्तरीबाट आय आर्जन तालिम पाएपछि अरुको घरमा काम गरेर खानुपर्ने बाध्यतामा रहेका महिलाहरु अहिले आफै साहु बनेका हुन् ।
घरेलुले नाङ्लो बनाउँने १५ दिने आधारभुत तालिम दिएपछि महिलाहरुलाई अहिले आफ्नै हातको सीप बेच्न भ्याई नभ्याई छ ।
अहिले मासिक १० देखि १५ हजार रुपैयाँसम्म आम्दानी गर्न थालेका छन् । एक दिन भरीमा एक जनाले मात्र काम गरे पनि एउटा नाड्लो तयार गर्ने गरेको स्थानीय अनिता देवी खंगले बताईन् । एउटा नाड्लो मुल्य बजारमा ४ सय देखि पाँच सय रुपैया छ ।
हातमा सीप नहँुदा दिनभरी त्यत्तिकै घरमा बसेर दिन काटदै आएकोमा तालिम पाएपछि कमाई राम्रो भएको खंगले बताइन् । उनी भन्छिन्– ‘सीप नहुँदा २, ३ महिनाको नानी घरमा छोडेर बनी जानुपथ्र्यो, छोराछोरीलाई के भयो कसो भयो दिन भरी चिन्ता हुन्थ्यो तर आफूसँग सीप हँुदा छोराछोरीसंग घरमै बसेर काम गर्न सकिदो रहेछ ।’
उनी मात्र नभई हिजो आज घरेलुबाट तालिम लिएका १५ जना महिलाहरु त्यही नाङ्लोे बनाएर मासिक १० देखि १५ हजार सम्म कमाउँदै आएका छन् । घरेलुले आयमुलक तालिम दिएपछि हिजोआज त्यहाँका दलित महिलाहरुको नाङ्लो बनाउने काम आयआर्जनको माध्यम बन्न पुगेको स्थानीय अनिता देवी खंगले बताईन ।
स्थानीय अमली देवीको भन्छिन्, ‘हातमा सीप नहुँदा खेतीपातीको समयमा काम पाए पनि, अरु बेला काम नपाए भोकै बसियो तर अहिले जति उत्पादन गरेपनि बिक्री हुन्छ, काम नहोला भन्ने पनि चिन्ता छैन साहुले गाली गर्लान कि भन्ने छैन ढुक्छ छ ।’
महिलाहरुलाई अहिले श्रीमान् र घरका अन्य सदस्यले पनि साथ दिएका छन् । परिवारै सबै मिलेर बनाउने गरेकोले दिनभरीमा कम्तिममा तिन चार वटा नाङ्लोे बनाउने गरेको शिबु खंग बताउँछिन् ।
उत्पादन गर्न सके बजारको अभाब छैन भन्छिन । नजिकै छिमेकी भारतको कुनौली बजारका लैजादा राम्रो मुल्य पाउने गरेको उनको अनुभब छ । पारी लान नभ्याए सदरमुकाम राजविराज, हनुमाननगर, भारदह सहितका स्थानहरुमा बेचेर त्यसबाट आएको रकमबाट आफनो घरपरिवार सँगै छोराछोरीाहरुलाई समेत पढाउँदै आएको उनको भनाई छ ।
Comment Here!