–महिला खबर–
सुनसरी । सुनसरीमा गत वर्षको तुलनामा बालिका बलात्कारका घटनामा कमी आएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का सुनसरी प्रतिनिधि शेखर ढकालका अनुसार गत वर्षको तुलनामा यो वर्ष बालिका बलात्कार घटना कम भएका हुन् ।
ढकालका अनुसार सन् २०१७ मा सुनसरीमा संकलन गरेका ५४ वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा १६ वटा बालिका बलात्कृतका घटना छन् । गत वर्ष यो वर्र्षको भन्दा बढी बालिका बलात्कारका घटना भएका थिए । गत वर्ष ३२ जना बालिका बलात्कृत भएका थिए ।
सुनसरीमा यो वर्र्ष ३५ मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । इन्सेकले हरेक वर्ष देशका ७७ वटै जिल्लामा मानवअधिकारको अवस्था सार्वजनिक गर्दै आएको छ ।
सुनसरीमा भएको सार्वजनिक कार्यक्रममा इन्सेक पूर्वाञ्चल संयोजक सोमराज थापाले इन्सेकले देशभरीको मानव अधिकारको अवस्थाको विश्लेषण गरेर देशभर भएका घटना समेटेर मानवअधिकार वर्ष पुस्तक निकाल्दै आएको बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत रोहणी आचार्यले गतवर्षको वर्ष पुस्तकमा समेटिएका घटनाहरुको न्याय निरुपण कसरी भयो ? ती घटनामा कतिले न्याय पाए ? कतिले सफाइ पाए ? त्यसको समेत विष्लेषण गरेर समेट्दा वर्ष पुस्तक अझ प्रभावकारी हुने सुझाव दिए ।
अधिवक्ता प्रदिप काफ्लेले इन्सेकले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका विषयलाई प्राथमिकता दिनुपर्ने बताए ।
Comment Here!