मलाई बुर्का लगाउँन आग्रह गरेः सुशिला
मानवीय फोहोररहित विश्व बनाउने अभियान सुशिला र राजमान बंगलादेशमा
–खेमा बस्नेत–
काठमाडौं । मानवीय फोहोररहित विश्व बनाउने अभियान अन्तरगत सुशिला महर्जन र राजमान मानव बंगलादेश पुगेका छन् ।
वि.सं.२०७४ सालवाट विश्वको सबभन्दा फोहोर देश बंगलादेशबाट बाहिरी देशको सफाई अभियान सुरू गर्ने योजना अनुसार उनीहरू बंगलादेश पुगेका हुन् ।
२०६७ माघ ९ गतेबाट किर्तीपुरको ४० रोपनी जग्गामा फैलिएको ४० वर्ष पुरानो डम्पिङ्ग साइटको फोहोर फालेर विश्व सफाई अभियान सुरु गरेका उनीहरूले यो वर्ष साउथ एसियाका देशहरूमा सरसफाई गर्नेछन् ।
महिला खबरसँग टेलिफोनमा कुरा गर्दै सुुशीलाले बंगलादेशका विभिन्न शहरहरूमा २० दिनदेखि सरसफाई गरिरहेको बताइन् ।
‘हामी यहाँ आएको २० दिन भयो । सुरुमा सरसफाई गर्दा सबैले हामीलाई आश्चर्य चकित भएर हेर्नुभयो । तर पछि हाम्रो अभियान बुझेपछि सबैले साथ दिनुभएको छ’ सुशीलाले खुसी हुँदै भनिन् ।
बंगलादेशमा महिलालाई अनुहार देखाउने अनुमती नभएकाले खुला अनुहारका साथ हातमा झाडु बोकेर सडक बढार्न लागेकी सुशीलालाई सुरुमा भने केही समस्या भयो । ‘यहाँका महिलाहरूले बुर्का लगाउनुपर्ने रहेछ । मलाई पनि बुर्का लगाउँन र अनुहार नदेखाई काम गर्न आग्रह गरियो । तर मैले मेरो देशमा यस्तो चलन नभएकाले बुर्का नलगाउने भने’ सुशीलाले भनिन् ।
सुशीला र राजमान विहान ६ बजेदेखि साँझको ५ बजेसम्म बंगलादेशका विभिन्न शहरमा सरसफाई गर्छन् । यसरी नै उनीहरूको दैनिकी दुई महिनासम्म बंगलादेशमा बित्ने छ ।
राजमान भन्छन्, ‘यहाँ प्लास्टिक झोला व्याण्ड छ । तर यहाँ सरसफाई गर्नुपर्छ भन्ने सामान्य ज्ञानको अभाब रहेछ । हामीले काठमाडौं फोहोर शहर भन्छौ तर यहाँका शहरका तुलनामा काठमाडौं शहर धेरै सफा छ ।’
बंगलादेशपछि उनीहरू श्रीलंका, मालदिभ्स, भुटान र भारत जाने तयारीमा छन् । साउथ एशियामा सरसफाई गरेपछि उनीहरू नेपाल फर्किने छन् ।
उनीहरूले अहिलेसम्म नेपालका २६ जिल्लाका ५७ वटा नगरपालिकाको सरसफाई गरिसको छन् । यसक्रममा जनकपुर, नेपालगञ्ज, विराटनगर, विरगञ्ज, महेन्द्रनगर सबै भन्दा फोहोर शहर भएको पाइएको उनीहरूले बताए ।
नेपाललाई वि.सं.२०७७ सम्म मानवीय फोहोररहित देश बनाउने लक्ष्य रहेको उनी बताउँछन् ।
नेपाल वि.सं.२०७७ बाट मानविय फोहोररहित देश बनेपछि नौ वर्षमा ८० वटा देशका फोहोर शहरहरू निरन्तर सफाईमा लाग्नेछन् । यसरी विश्वलाई सन् २०२८ बाट मानवीय फोहोररहित बनाउने अभियानमा लागिरहेको शुशिला र राजमानले बताए ।
मान्छेका कारण हुने प्रदुषणको अन्त्य होस् । सफाइ अरुका लागि होइन, आफ्नै लागि गर्नुपर्छ भन्ने कुराको ज्ञान शुशिला र राजमानको अभियानले देओस्, हाम्रो पनि शुभकामना !
याे पनि हेर्नुहोस् :
Comment Here!