–महिला खबर–
दोलखा । दोलखाकी २४ वर्षीया रुमिया (नाम परिर्वतन) का श्रीमान विदेशमा नोकरी गर्छन् । विदेशबाट श्रीमानले पठाएको पैसा खर्च गरेको विषयमा घरायसी यातना बढेपछि उनले केहि समय अघि आत्महत्या गरिन् ।
रामेछाप बेतालीकी २० वर्षीया सिया (नाम परिर्वतन) ले पनि केहि समय अघि आत्महत्या गरिन् । श्रीमानले हेला गर्ने र दैनिक यातना दिन थालेपछि उनले आत्महत्या गरेको प्रहरी अनुसन्धानले देखायो ।
दोलखा जिल्लामा हुने आत्महत्याका घट्नामा अधिकांश महिलाहरूले घरेलु हिंसा, आर्थिक अभाव, प्रेममा असफलता जस्ता कारणले आत्महत्या गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
दोलखामा अन्य जिल्लाको तुलनामा बढी नै आत्महत्याका घट्ना हुने गरेको र त्यसमा अधिकांश महिलाहरूले आर्थिक अभाव, घरेलु हिंसा जस्ता कारणले नै आत्महत्या गर्ने गरेको अनुसन्धानको क्रममा देखिएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रामेश्वर कार्की बताउँछन् ।
प्रहरी तथ्याङ्क अनुसार दोलखा जिल्लामा आर्थिक वर्ष ०७३÷०७४ मा ३९ जनाले झुण्डिएर, खोलामा हाम फालेर तथा विष सेवन गरेर आत्महत्या गरेका छन् । जसमा १३ जना महिला, ४ जना बालिका र २२ जना पुरुष थिए ।
त्यसैगरी आर्थिक वर्ष ०७४\०७५ को मंसिरसम्म १९ जनाले आत्महत्या गरेकोमा २ जना महिला, १६ जना पुरुष र १ जना बालिका रहेको तथ्याङ्कले देखाएको छ ।
दोलखामा हुने गरेको आत्महत्याका घट्नामा महिलाको तुलनामा पुरुष नै बढी हुने गरेको भएपनि आत्महत्या गर्ने अधिकांश महिलाहरू भने घरेलु हिंसाकै कारण आत्महत्या गर्न बाध्य हुने गरेको जिल्ला प्रहरी कार्यालय दोलखाको मुद्दा फाँटका प्रहरी नायव निरीक्षक (सई) यज्ञ शाह बताउँछन् ।
जिल्लामा घरेलु मदिराको कारण धेरै घरेलु हिंसाका घट्ना हुने गरेका छन् । आत्महत्या गरेका कतिपय महिलाले घरेलु हिंसाकै कारण आत्महत्या गर्नुपरेको तथ्य प्रस्तुत गर्दै प्रहरी नायव उपरीक्षक कार्की भन्छन्, ‘अहिले घरेलु मदिरा नियन्त्रण भएपछि घरेलु हिंसामा कमि आएको र आत्महत्याको घट्नामा समेत कमि आएको छ ।’
आर्थिक वर्ष ०७३\०७४ मा १३ जना महिलाले आत्महत्या गरेकोमा आर्थिक वर्ष ०७४\०७५ को मंसिरसम्म २ जना महिलाले आत्महत्या गरेको कार्कीले बताए । ‘जिल्लामा आत्महत्याका घट्ना अत्यधिक देखिएपछि हामीले यसको कारणबारे सुस्म अध्यन गर्दै समाधानका प्रयास समेत थालेका छौ’ प्रहरी प्रमुख कार्की भन्छन्, ‘आगामी दिनमा जिल्लामा आत्महत्याका घट्ना अवश्य कम हुनेछन् ।’
Comment Here!