‘अरु’ जे गर्नू, परिवारको नाक नकाट्नू


प्रकाशित मिति :2017-12-25 12:41:19

-दुर्गा कार्की-

सरकारी स्कूलहरूमा (विशेष गरी गाउँका) छात्रहरूको ट्वाइलेटभित्र छिर्नुभएको छ?

गाउँ उक्लने सिँढीहरूमा चकले लेखिएका कुराहरू पढ्नुभएको छ?

वा कुनै बेला आफैँले लेख्नुभएको छ?

कहिल्यै विचार गर्नुभएको छ, ती कसले लेख्छन्? त्योभन्दा पनि महत्वपूर्ण, किन लेखिन्छन् ?

केही महिनाअघि मेरै चिनजानको एकजना १५ वर्षे भाइ बाबुबाट चोरेको पैसाले होटलमाआपत्तिजनक क्रियाकलाप गर्दै गरेको अवस्थामा भेटियो।

भर्खरै मात्र सामाजिक संजालमा भाइरल भयो, सिरहामा १६ वर्षकी युवतीले यौनकाण्डलुकाउन भाइको हत्या गरेको घटना। १४ वर्षका किशोरसँग भैँसी चराउन जाँदा भएको यौन सम्पर्क भाइले देखेपछि घरमा थाहा हुने डरले केटाकेटी दुवै मिलेर उसको हत्या गरेका थिए। प्रहरीले पक्राऊ गरेको केही घण्टामै युवतीले आत्महत्या गरिन्।

एक वर्षअघि एकजना १६ वर्षे छिमेकी भाइको पेन ड्राइभ चलाउँदा मेरो ल्यापटप स्क्रिनमा अकस्मात् पोर्न भिडियो खुल्यो। ऊ कक्षामा सधैँ प्रथम हुने, बाबुआमाको भविष्यको डाक्टर छोरा हो।

सहरमा फोहोरका कन्टेनरमा, गाऊँका बनमाराका झाडीहरूमा भेटिइरहन्छन् बेवारिसे शिशुहरू, मृत वा सास छँदै। समाचारमा फाट्टफुट्ट आइरहन्छन्, १६ वर्षे अविवाहित किशोरीहरूले बच्चा जन्माएका कुरा, बच्चालाई हस्पिटलमै छाडेर भागेका कुरा।

त्योभन्दा पनि डरलाग्दो गरी आउँछन्, सहरी किशोरीहरूमा गर्भपतन दर बढेका कुरा। आर्थिक वर्ष २०१५/१६ मा काठमाडौँ जिल्लाका सरकारी तथा निजी हस्पिटलहरूमा रेकर्ड गरिएको गर्भपतनको तथ्याङ्कले १५ हजार गर्भपतनमध्ये ४५०० वटा गर्भपतन बीस वर्ष मुनिका किशोरीहरूले गरेको देखाएको छ।

सबैले भन्ने गरेको कुरा हो, किशोरावस्था उत्सुकतै उत्सुकताको उमेर हो। चन्चलताको उमेर हो, उच्छृङ्खलताको उमेर हो। निष्फिक्री सपना देख्ने, दायाँबायाँ नहेरी तिनै सपनाको पछि दौडने र ती प्रत्येक सपनाको ‘ह्याप्पी एन्डिङ’ हुनैपर्छ भनेर हठ राख्ने बेला पनि हो। अर्को शब्दमा भन्नुपर्दा केटाकेटीबाट तन्नेरी बन्ने यात्रामा आउने सङ्क्रमणकाल हो किशोरावस्था।

यो सङ्क्रमणकाल पचास वर्षअघिका केटाकेटीमा जसरी आउँथ्यो, आजकालका केटाकेटीमा पनि उसैगरी आउँछ। अमेरिकाका केटाकेटीमा जसरी आउँछ, एसिया वा अफ्रिकाका केटाकेटीमा पनि उसैगरी आउँछ। यसबीचमा फरक कहीँ कतै छ भने उत्सुकताको लेभलमा छ। त्यो उत्सुकताको समाधान खोज्ने तरिकामा छ, साधनको उपलब्धतामा छ। उदाहरणका लागि केही वर्षअघिसम्म ट्वाइलेटका भित्ता वा सार्वजनिक बसका सिटपछाडि फोहोरी शब्दहरू लेखेर अभिव्यक्त हुने ‘कुरकुरे वैँश आजभोलि मोबाइलको भित्तामा पोर्न हेरेर फुट्छ। पहिले नन भेज जोक्सले गर्ने काम आजभोलि साइबर सेक्सले गर्छ। ओपन सिक्रेटः इन्टरनेट सबैको सिक्रेट बेस्ट फ्रेण्ड बनेको छ।

झस्कनुभो? आउनुस्, यो लेख तपाईकै लागि हो।

हामी के सिकाउँदैछौँ?

कक्षा ९ पढ्दाखेरि मेरी एउटी बहिनीको नियमित महिनावारी हुने समय एक हप्ताभन्दा ज्यादा कट्यो। उसका बुवा बाहिर हुनुहुन्थ्यो। एक साँझ आमाले कपालमा समातेर सोध्नुभो, कोसँग गएर नाक काटेर मरिस् भन् त?

बहिनीले केही भन्न सकिन, बरू रुँदारुँदै महिनावारी चाहिँ भई। उसकी आमाले जँचाउन लग्नुभएन। माफी त झनै माग्नुभएन।

त्यसको केही वर्षपछि अर्की बहिनीको बिहे भयो। एकपटक कुरामा कुरा चल्दा मूर्च्छा परेर हाँस्दै उसले कुरा खोली, उसलाई त ममीले पहिलोचोटि महिनावारी हुनासाथ केटाको ‘पिसाब फेर्ने कुरो’लाई छोए मात्र पनि बच्चा रहन्छ भनेर सिकाउनुभएको रहेछ।

आज आफूभन्दा १२ वर्ष जेठा ज्वाँइलाई छोएर उसले जन्माएको छोरो हेर्न जाँदा म आजभन्दा सात वर्षअघि मेरी एउटी साथीले भनेको कुरा घरिघरि सम्झन्छु। उसले मलाई आफ्नी बहिनीको स्कूलमा कक्षा ९ मा पढ्दै गरेका केटीहरूको शारीरिक सम्बन्ध भइसकेको कुरा बताएकी थिई। नौ कक्षा पढ्नु भनेको सरासर पढेमा पन्ध्र वर्ष हुनु हो जबकी हाम्रो ऐनमा १६ वर्ष पूरा नभएकी युवतीसँग उसको सहमतिले नै यौन सम्बन्ध राखे पनि जबरजस्ती करणी ठहर्छ भनिएको छ।

समस्या कहाँनेर छ?

अझैपनि हामी रेडियो वा टिभीमा समाचारको बीचमा कण्डमको विज्ञापन आएमा च्यानल फेर्छौँ वा उठेर भान्सा वा ट्वाइलेट पस्छौँ। प्रष्ट बुझिने गरी सेक्स अनि कण्डम उच्चारण गर्न हिचकिचाउँछौँ। किनभने हामीले यस्तै नै देख्दैसिक्दै आयौँ। बाले आमालाई पिँढीमै थप्पड हानेको देख्यौँ, गाला मुसारिदिएको देखेनौँ। दिमागमा छाप राखेर हुर्कियौँ कि यी काम फोहोरी हुन् र फोहोरी काम लुकेर मात्रै गर्नुपर्छ।

तर हामीले हाम्रा बालबालिका तथा किशोरकिशोरीलाई चाहिँ इन्टरनेटको महासागरमा एक्लै छोडिदियौँ। महासागरभित्र अनौठो, लठ्याउने दुनिँया छ र त्यहाँ जे पनि पाइन्छ। तीजे’ भित्र चाहिने कुरा पनि छन्, नचाहिने कुरा पनि छन् र नजिक जानै नहुने कुरा पनि छन्। तर हाम्रा किशोरकिशोरी भने आफूलाई चाहिने सामग्री के हो भन्नेसम्म पनि जान्दैनन्, किनकी हाम्रो संस्कारको किताबमा यौनको च्याप्टर नै छैन। त्यहाँ सन्तानोत्पादनका प्राविधिक कुरा त छन्, तर आनन्दको बर्जित फलको चर्चा नै छैन। कसैले थपेका छन् भने त्यसले यति मात्र भन्छः अरू जे गर्नू, परिवारको ‘नाक काट्ने’ काम नगर्नू।

र यहि नाक काटिने डरले हामी हाम्रा नानीहरूलाई गलत सूचना र सन्देश दिइरहेका छौँ।कलिलैमा बाऊसमान उमेर भएकाहरूको हातमा सुम्पेर पठाइरहेका छौँ। रात बस्ने गरी साथीभाइको घर वा घुम्न जानबाट प्रतिबन्ध लगाइरहेका छौँ। र भुलिरहेका छौँ कि उनीहरूको हातमा के छ र त्यसमार्फत उनीहरूले केसम्म गर्न सक्छन्। सरोकारवालाहरू, जसले यो सामग्रीको पहुँच र ताकत बुझेका छन्, उनीहरू बाल बिवाह रोक्न स्कूलकलेजमा मोबाइल प्रतिबन्ध लगाउनेजस्तो अपरिपक्व सोच र लाजमर्दो उपाय लिएर निस्कन्छन्।

प्रजनन् शिक्षा कि यौन शिक्षा?

गतवर्ष भारतीय सरकारको मानव स्रोत विकास समितिले किशोर शिक्षा कार्यक्रमबाटयौन’ भन्ने शब्द हटाउन लगायो। भारतीय जनता पार्टीका एक नेताले नेतृत्व गरेको राज्य सभा समितिले सन् २००९ मा प्रकाशित गरेको एक रिपोर्टले त स्कुले किताबबाट कण्डमलगायत शरीरका संवेदनशील भागहरू देखाउनबाट पनि रोक लगाएका थियो।

भारत उही देश हो जहाँ बलिउड दिन दुगुना रात चौगुना फैलिँदो छ। हरेक वर्ष लगभग चार सयको हाराहारीमा बन्ने हिन्दीभाषी फिल्महरूमध्ये अधिकांशमा कहीँ न कहीँ सेक्स वा अन्य अन्तरङ्ग दृश्य कथाले मागेकै हुन्छ। कथाले मागेन भने प्रोड्युसरले माग्छ, किनकी प्रोड्युसरलाई हलले के माग्छ थाहा छ। जहाँ सेक्सलाई स्वतन्त्रता व्यक्त गर्ने माध्यमका रूपमा लिने आधुनिक भारतीय युवा जमात यौनको अनुभव नभएकासित विवाह गर्न चाहँदैन, हस्तमैथुन गर्छु भनेर खुलेआम क्यामेराका सामुन्ने भन्छ, त्यहीँका सरकारी अधिकारीहरू भने सेक्स शब्दको प्रयोगबिनै  किशोरकिशोरीलाई सेक्स एजुकेशन दिन लागिपरेका छन्।

क्लोज अपदेखि ड्रेस अपसम्म, सिनेमादेखि संविधानसम्ममा भारतीय प्रभाव रहेको हाम्रोजस्तो देशमा सेक्सका मानेमा यसभन्दा फरक र अग्रगामी सोचको आशा गर्नु पनि मूर्खता होला। कक्षा ६ देखि किशोरावस्था, यौन तथा प्रजनन् स्वास्थ्य आधारभूत पाठ्यक्रमका रूपमा स्वास्थ्य तथा शारीरिक शिक्षामा समेटिएको त छ, तर यो विषय औँलामा गन्नेजति कक्षाकोठाका भित्ताले मात्र सुन्ने सौभाग्य पाउँछन्।

मलाई अझै याद छ, म ६ कक्षामा पढ्दा मेरी शिक्षकले पाठको नामसमेत उच्चारण नगरी आफैँ पढ्न भनेर पाठ अघि बढाउनुभएको। किताबको दाँयाबाँया भाग लगाएर मान्छे गन्ने खेल खेल्दै गर्दा त योनी र लिङ्गको चित्र देख्नासाथ कुनै ठूलै गल्ती गरेजसरी छिटोछिटो पाना पल्टाउने हामीमध्ये कतिले त्यो पाठ घरमा गएर आफैँ पढे म यसै भन्न सक्दिनँ।

स्कूल फेरेपछि कक्षा ९ मा सरले पछि काम लाग्छ मोरामोरीहो‘ भन्दै कण्डम प्रयोग गर्ने तरिकादेखि विथड्रअल मेथड सम्म सिकाउँदा कक्षा कहिले हाँसोले मूर्च्छा पर्दथ्यो त कहिले लाजले रातोपिरो हुन्थ्यो। ७ कक्षामा पहिलोचोटि महिनावारी हुँदा रूवाउँदै लुकाउन लगिएकी मैले उहाँकै मुखबाट पहिलोचोटि योनीबाट रगत बग्नुको भरपर्दो कारण सुनेकी थिएँ। तर सर अपवाद हुनुहुन्थ्यो र म भाग्यमानी मात्र थिएँ भन्ने कुरा मलाई बहिनीले लिङ्ग छोएर गर्भवती हुने कुरो गर्दा महशुस भएको थियो।

शारीरिक सम्पर्कपछि सबैभन्दा छिटो दौडने शुक्रकिटले अण्डा भेटेपछि गर्भ रहन्छ भनेर त सरले भन्नुभो तर यो भनिदिनुभएन, सेक्स बच्चा जन्माउनको लागि मात्रै थियो भने कण्डमको आविष्कार किन भयो? किन मानिसलाई संगिनी सुई र कपर टि चाहियो? किन खुले कोठीहरू, जहाँ गर्भ रहनासाथ करियरको दि एण्ड हुन्छ? सरले प्रजनन् शिक्षा त दिनुभो, यौन शिक्षा चाहिँ कतै छुटाउनुभो। वा दिन चाहनुभएन। वा सक्नुभएन।

आज यसै लेखमार्फत सोध्न मन छ, सर, आजकालका मान्छे त एउटा वा दुईटाबाहेक बच्चा जन्माउनै चाहँदैनन्, फेरि पनि उनीहरू सेक्स गर्छन्, किन?

हो, यही तत्वको हाम्रो यौन तथा प्रजनन् शिक्षामा कमी छ। सेक्स भनेको अधिकांश अवस्थामा प्लेजर अर्थात् आनन्दको लागि भन्ने हामी सबैलाई थाहा छ, सेक्सबाट बढीभन्दा बढी आनन्द कसरी लिने भनेर हाम्रा राष्ट्रियस्तरका अखबारमा तेलदेखि आकारप्रकार बढाउनेसम्मका विज्ञापन छापिइरहेका हुन्छन्। तर हामी आफैँ यी कुरा मान्न वा भन्न भने तयार छैनौँ किनकी हामीलाई डर छ, यसले हाम्रा केटाकेटीलाई बिगार्छ, चरित्रहीन बनाउँछ र सामाजिक जीवनमा उथलपुथल ल्याउँछ।

साँच्चै ल्याउँछ त?

संसारमा यस्ता देशहरू पनि छन्, जहाँ यौन शिक्षा अनिवार्य छ। युरोपमा किशोरकिशोरीहरूलाई प्रजननका विविध भौतिक पक्षहरू मात्र सिकाइँदैन, यौनसम्बन्ध, प्लेजरको अवधारणा, यौन अभिमुखीकरण र गर्भनिरोधका उपायहरू पनि सिकाइन्छ। नेदरल्यान्ड्स त यो विषय यति खुला छ कि डच बालबालिकाहरूलाई चार वर्षको कलिलै उमेरदेखि यस्ता कुराहरू सिकाइन्छ। सुन्दा अचम्म लाग्न सक्छ तर अमेरिकामा यसको ठिक उल्टो किशोरकिशोरीलाई बिवाहपूर्व यौन क्रियाकलापमा संलग्न हुन बन्देज लगाउनेजस्ता कार्यक्रमहरू लागू गरिन्छ।

गटम्याचर इन्स्टिच्युटले गरेको एक खोजका अनुसार अमेरिकाका १८/१९ वर्षे किशोरकिशोरीहरूमध्ये ४१ प्रतिशत मात्र कण्डमका बारेमा थोरबहुत जान्दछन् भने ४५ प्रतिशतलाई गर्भनिरोधकका उपायबारे केही पनि थाहा छैन। किशोरावस्थामा गर्भवती नहुने र यौनजन्य रोगहरूबाट टाढै बस्ने एकमात्र उपायको रूपमा एब्सटिनेन्स लाई लिइनु नै अमेरिका यौनजन्य क्रियाकलापबाट सर्ने रोगहरू र किशोरावस्था जन्मदरमा अरू औद्योगिक मुलुकहरूभन्दा अगाडि हुनुको कारण मानिन्छ।

कारण अर्को पनि छ, त्यो हो, ९० प्रतिशत बाबुआमाहरूले एब्सटिनेन्स नै आफ्ना छोराछोरीको स्वास्थ्य र भविष्यको लागि उपयुक्त उपाय हो भन्ठान्नू। तर यी समस्याबाट बच्न न त एब्सटिनेन्स ले न त शारिरीक सम्पर्कमा सहभागी हुने उमेरले नै खासै महत्व राख्छ। डेली इन्फोग्राफिकका अनुसार यौनका लागि सम्मतिको कानुनी उमेर १३ मात्र भएको स्पेनमा प्रत्येक हजार किशोरीहरुमध्ये ११.९५ प्रतिशत मात्रै किशोरावस्थामा गर्भवती भएको रेकर्ड छ भने उही कानुनी उमेर भएको अर्जेन्टिनामा यो दर ५६.५५ प्रतिशत छ। यौनका लागि सम्मतिको कानुनी उमेर १३ र १८ दुवै (प्रदेशअनुसार फरक) भएको जापानमा यो दर घटेर ४.७५ प्रतिशत मात्रै छ। यसका पछाडिको एकमात्र कारण हो, यी देशमा दिइने यौन शिक्षाको गुणस्तर र गर्भनिरोधक साधनहरूको उपलब्धता।  

हामी के गर्ने त?

सेक्स शब्दको प्रयोगबिनै सेक्स एजुकेशन दिने नीति ल्याएको केही समयपछि नै भारतीय सरकारले राष्ट्रिय किशोर स्वास्थ्य कार्यक्रम अन्तर्गत साथियां सलाह भन्ने मोबाइल एप लन्च गरेर आफूलाई आलोचना गर्नेहरूलाई चकित पारिदियो। साथियां भन्ने रिसोर्स किटसँगै आएको यस एपले किशोरकिशोरीका यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी विभिन्न प्रश्नको उत्तर दिन किशोरकिशोरीलाई नै परिचालन गर्ने लक्ष्य लिएको छ। यसअन्तर्गत भारतका करीब २६ करोड किशोरकिशोरीहरूका यौन जिज्ञाशालाई सम्बोधन गर्न डेढ लाख किशोरकिशोरीहरूलाई तालिम दिएर तयार पारिँदैछ।

केही महिना अघि मात्रै नेपालमा पनि खुल्दुली भन्ने यस्तै किसिमको मोबाइल एप सार्वजनिक गरिएको रहेछ भन्ने मैले यसै लेखका लागि तयारी गर्दै गर्दा थाहा पाएँ। मोबाइल र इन्टरनेटको दुनिँयामा रमाउने किशोरकिशोरीलाई मोबाइलकै माध्यमबाट कुरा बुझाउनु पक्कै पनि सिर्जनशील उपाय हो। तर कति किशोरकिशोरीलाई यो एपको बारेमा थाहा छ, कतिको पहुँच छ र कतिले साँच्चिकै प्रयोग गरेर लाभ लिएका छन् भन्ने प्रश्न अझ बढी महत्वपूर्ण हो।

योभन्दा पनि महत्त्वपूर्ण कुरा हामी अबको यौनशिक्षा कसरी अगाडि बढोस् भन्ने चाहन्छौँ भन्ने हो। घरको एउटा कुनामा बसेर छोराले लिङ्गको आकारको यौन सन्तुष्टिसँग लेनादेना हुन्छ कि हुँदैन भनेर मोबाइलसित सोधोस् भन्ने चाहन्छौँ कि बाबुले छोरालाईतिम्री आमासित कसरी भेट भयो‘ भनेर सुनाउँदासुनाउँदै सेक्स एजुकेशन कतै घुसाइदेओस् भन्ने चाहन्छौँ, त्यो हाम्रो कुरा हो।

हामी अमेरिकाजस्तै बन्देजको नीति अपनाएर किशोरावस्थामा गर्भपतन र बच्चा जन्माउने दर बढाउन चाहन्छौँ कि नेदरलेन्ड्स वा डेनमार्कजस्तै सेक्सलाई सभ्य र सुसूचित मानव आचरण बनाउन चाहन्छौँ भन्ने पनि हाम्रो कुरा हो।

तर सबैले भुल्न नहुने कुरा के हो भने किशोरावस्था उत्सुकता र खुल्दुलीको बेला हो। भर्खरै जन्मेको बच्चा रोए फकाउनदेखि होमवर्क गर्नसमेत इन्टरनेट र स्मार्टफोनको प्रयोग गराउने बानी परेका बाबुआमाले अब के बुझ्नुपर्छ भने हामीले नसिकाए केटाकेटीले आफैँ सिक्छन्। तर सिकेरै छाड्छन्। किनकी यो प्राकृतिक हो। र किनकी, यो आवश्यकता हो। उनीहरूले के सिक्छन् र कसरी सिक्छन् भन्ने कुराले उनीहरूको भविष्यको बाटो तय गर्छ। उनीहरू कस्ता मान्छे बन्छन् भन्ने निर्धारण गर्छ।

त्यसैले यौनशिक्षा किशोरकिशोरीलाई मात्र होइन, बाबुआमालाई पनि सँगसँगै दिइनुपर्छ। यसले किशोरकिशोरीलाई मात्र सही बाटो देखाउँदैन, आमाबाबु र छोराछोरीलाई भावनात्मक रूपमा पनि जोड्ने वा नजिक्याउने काम गर्छ। यसका लागि एउटै उपयुक्त माध्यम भनेको संचार हो। संचारमा पनि श्रव्यदृश्य सामग्रीको शक्तिलाई बुझेर रचनात्मक ढङ्गबाट यी कुरा पस्कन सकियो भने यसको प्रभाव दीर्घकालीन बनाउन सकिन्छ।

हाम्रोमा केही छैनन् त?

आज देशैभरि ७४० वटा एफएम रेडियो र ११६ वटा टेलिभिजन स्टेशनहरूले इजाजत लिएको सूचना तथा संचार मन्त्रालयको वेबसाइटले भन्छ। तर देशको २४ प्रतिशत जनसङ्ख्या ओगट्ने किशोरकिशोरीहरूका लागि रचनात्मक कार्यक्रम औँलामा गन्नेजति पनि छैनन्। जति छन्, ती लक्षित वर्गले नै हेरिदिँदैनन् किनकी तिनले उनीहरूमा प्रभाव पार्नै सक्दैनन्, बस् कुनै बिकासे नारा वा पाठ घोकाउन लगाउँछन्।

आज पनि नाटक वा सिरियलका नाम दिइने हाम्रा रेडियो वा टिभी कार्यक्रममा महिनावारीबारे बुझाउन पर्दा सारी लगाएकी एक भद्र महिला स्वास्थ्य स्वयमसेविका बनेर उपस्थित हुन्छिन् र पाठ पढेजसरी डायलग भट्याउन थाल्छिन्। सरकार, जसले साँच्चिकै फरक पार्ने कार्यक्रम ल्याउन सक्छ, उसका लागि योभन्दा गम्भीर विषय बाल बिवाह हो, मातृ तथा शिशु मृत्यु दर हो। यसबाटै प्रष्ट हुन्छ, सरकार समस्याको जरो उखेल्नपट्टी नलागेर हाँगा काट्नमै तल्लीन छ।

जाँदाजाँदै…..

सिस्टरहुड नेपाल (वुमन्स रूम) भन्ने एउटा सिक्रेट फेसबुक ग्रुप छ। ठ्याक्कै त भन्न सक्दिनँ, तर पोस्ट हेर्दा १४/१५ वर्षदेखि २५/२६ वर्षसम्मका युवतीहरू सक्रिय छन् जस्तो लाग्छ। त्यहाँ युवतीहरू निर्धक्क पोर्न कथाहरू सेयर गर्छन्, आफ्ना यौन अनुभव, सन्तुष्टि र असन्तुष्टिबारे खुल्छन्, कतिले दाजुभाइका लागि गर्लफ्रेण्ड पनि खोज्छन्। अचम्म लाग्न सक्छ, तर धेरैजसोले श्लील भाषामै लेख्छन्, एकअर्काका लामा कथा पनि ध्यान दिएर पढ्छन् र बधाई वा सान्त्वना दिन्छन्।  

केटाहरूको यस्तै कुनै ग्रुप त अब्जर्भ गरेकी छैन, तर निश्चिन्त भएर भन्न सक्छु अश्लील हुने मामलामा केटाहरू केटीभन्दा धेरै अगाडि छन्। सबै केटा पक्कै होइन, तर धेरै केटा।

हाम्रो काम उनीहरूलाई यौनका कुरा गर्नबाटै रोक्ने होइन। त्यो गर्न सकिन्न पनि। तर हामी उनीहरूलाई यौन समाजले भन्ने गरेजस्तो ‘फोहोरी’ पनि हैन भनेर संझाउन सक्छौँ। इन्टरनेटको महासागरमा पौडी खेल्न जानुअघि उनीहरूको लाइफ ज्याकेट हामी आफैँ बन्न सक्छौँ।

त्यसैले, यौनलाई घृणा हैन, सुरक्षित यौन व्यवहारका बारेमा जान्न चाहनुलाई संस्कार बनाऔँ। आफ्नो यौन साथीको भावनाको सम्मान गर्नु र ऊप्रति संवेदनशील अनि जिम्मेवार हुनुलाई संस्कार बनाऔँ। यसले यौन मात्र होइन, हाम्रा किशोरकिशोरीलाई पनि सभ्य र श्लील बनाउँछ।

आखिर हामीले चाहेको त त्यही नै हैन र?

साभार : सेताेपाटी

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: