–महिला खबर–
दोलखा । दोलखाको दुई विद्यालयका विद्यार्थीहरूले सदरमुकाम चरिकोटस्थित नेपाली सेनाको रणभीम गणको प्राङ्गणमा उत्साहका साथ खुकुरी डिल, मास पीटी, टाईकेन्डो लगायतको प्रर्दशनी गरे ।
रणभीम गणले आयोजना गरेको राष्ट्रिय सुरक्षा दलका क्यारेटहरूको पासआउट कार्यक्रममा सहभागी उनीहरूले नेपाली सेनाबाट पाएको तालिमले आफूहरूलाई आत्मविश्वासी र आत्मरक्षामा सक्षम बनाएको बताए ।
पासआउट कार्यक्रममा रणभीम गणका गणपति झवेन्द्ररेस्मी मगरले राष्ट्रिय सुरक्षा दलको तालिममा सहभागि सम्पूर्ण क्यारेटहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले यो तालिम नेपाली सेना बनाउँने तालिम नभए पनि विद्यार्थीहरूलाई आत्मविश्वासी, आत्मरक्षाको लागि सक्षम र राष्ट्रियताप्रति पूर्ण रुपमा सर्मपित बनाएको बताए ।
नेपाल सरकारले २०२२ सालबाट सुरु गरेको राष्ट्रिय सुरक्षादलको तालिम दोलखा जिल्लामा भने गत वर्षबाट मात्र सुरु भएको हो । राष्ट्रिय सुरक्षा दलको यो तालिम देशको विभिन्न ७३ वटा विद्यालयमा सञ्चालन भएको र तालिममा झण्डै ६ हजार विद्यार्थी सहभागि रहेको रणभीम गणका मेजर सन्तोष थापाले बताए ।
जिल्लामा दोस्रो पटक सञ्चालन भएको तालिममा सदरमुकाम चरिकोट स्थित कालिञ्चोक उच्च माविका १८ छात्र र १७ छात्रा गरि ३५ जना तथा जिरी उच्च माविका १७ छात्र र १७ छात्रा गरी ३४ जना समेत ६९ जनाको सहभागिता रहेको रणभीम गण चरिकोटले जनाएको छ ।
तालिमले विद्यार्थीहरूलाई अनुशासित, आत्मविश्वासी, राष्ट्रप्रेमी, आत्मरक्षा गर्न सक्षम र दैवी विपत्तिको बेलामा सहयोग गर्न सक्षम बनाउने गणपति झवेन्द्ररेस्मी मगरले बताए ।
गत असार ३ गतेबाट ७९ दिनसम्म सञ्चालन भएको तालिममा खुकुरी डिल, मास पिटी, टाईकेण्डो, नेपाली सेना सम्बन्धि जानकारी र यरोविक सम्बन्धि प्रयोगात्मक ज्ञान दिईएको गणले जनाएको छ ।
अब २१ दिन नेपाली सेनाको क्याम्पमा सामूहिक तालिम सञ्चालन गरिने र त्यसमा उत्कृष्ठ हुनेलाई विदेशमा समेत तालिमको लागि लगिने गणपति रेस्मीमगरले बताए ।
रणभीम गणमा तालिम लिएका राष्ट्रिय सुरक्षा दलमा आवद्ध विद्यार्थीहरूलाई मोरङको याङसीला क्याम्पमा सामूहिक तालिमको लागि लगिने गणपति रेस्मीगरले बताए ।
Comment Here!