बोक्सी आरोपः कुटपिटदेखि हत्यासम्म, के छ कानुनी उपचार ?


प्रकाशित मिति :2017-12-27 15:44:14

                अस्पतालमा उपचाररत जैतुन नेसा ।

–सन्दिप वि.क–

काठमाडौं । रौतहटको राजपुर नगरपालिका–३ बलुवाकी जैतुन नेसा बोक्सीको आरोपमा गत शनिबार कुटिइन् । छिमेकी मैरुन नेसा र शेख मोहिवका छोरीहरूले उनलाई बोक्सी भन्दै यातना दिए ।

कुटपिटबाट गम्भीर घाइते नेसाको जिल्ला अस्पताल गौरमा उपचार भइरहेको छ । पीडित जैतुनका श्रीमान शेख रइद्दिनका अनुसार छिमेकी नेसाकी बुहारी र मोहिवकी छोरी केही समयदेखि बिरामी थिए । उनीहरूलाई गाउँकै झाँक्री शेख मजारुले जैतुनले जादु टुना गरी भूतप्रेत लगाएको बताएछन् । त्यसपछि उनीहरूले नेसालाई मरणासन्न हुने गरि कुटपिट गरे ।

बोक्सी भन्दै नेसालाई मानव मलमूत्रसमेत खुवाउँन खोज्दा गाउँका अन्य व्यक्तिले बचाए । घाइते नेसाको पिँठ्यु र टाउकामा गम्भीर चोट लागेको छ ।

इलाका प्रहरी कार्यालय राजपुरका सइ उमा शंकर विष्टले घटनाको उजुरी प्रहरी कार्यालयसम्म नआइसकेको बताए ।

               राजकुमारी उपाध्याय

यसअघि पर्सा जिल्लाको वीरगञ्जकी एक महिला बोक्सीकै आरोपमा कुटपीटमा परिन् । महिला हिंसा विरोधी अभियानकी अभियन्ता समेत रहेकी ५५ वर्षीया राजकुमारी उपाध्यायलाई एउटै घरमा बस्ने श्रीमती सोनु कार्कीलाई बोक्सी लगाएको भन्दै श्रीमान भोलेन्द्र कार्की लगायत पाँच जनाले गत असोजमा कुटपीट गरे ।

महिला खबरसँग कुरा गर्दै राजकुमारीले भनिन्, ‘एकै ठाउँमा घरमा बस्थ्यौं । त्यतिवेला धनकुटा तालिममा गएर फर्केको थिएँ, सन्चो थिएन् । राति ढोका खोल्न लगाए । २५ र ३० वर्षकी एकजना महिलाको हातमा अक्षता, अबिर, फूल र बलिरहेको अगरबति थियो । सरिता श्रेष्ठ नामकी उनलाई अरुले बाबा भनिरहेका थिए । शरीरमा हाउभाउ ल्याएर मलाई बोक्सी भनेर आफूसँग हिँड्न भनिन् । म जार्न मानिन । मेरो गालामा चड्काई हाली ।  मलाई कुटपिट गरे । माथी बुहारी बस्ने कोठा छ, उसलाई तल आउन दिएका थिएनन् । म बिरामी मान्छे साढे ३ घण्टा उनीहरूको कब्जामा थिए ।’

राजकुमारीले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि श्रीमती सोनु कार्की, श्रीमान भोलन्द्र कार्की, सरिता श्रेष्ठ प्रीति गुरुङ लगायत पाँच जनालाई जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा राखेको छ ।

यता बोक्सीकै आरोपमा चितवनको बघौडामा ढेगनीदेवी महतोको हत्या भयो । हत्या हुनुमा झाँक्रीकै कारण रहेको गत हप्ता मात्रै सर्वोच्चले ठहर गरिसकेको छ । सर्वोच्चको फैसलामा ‘धामी–झाँक्रीले सामाजिक सेवा नभई समाजमा अन्धविश्वास फैलाउने र त्यसको आडमा शोषण गरिरहेको उल्लेख गरिएको छ । बोक्सी प्रथाको कारकका रूपमा रहेको धामी–झाँक्री प्रथाविरुद्ध पनि हाम्रो राज्य, कानुनी प्रणाली र न्याय व्यवस्था उभिन सक्नुपर्ने भनिएको छ ।

४० वर्षीया ढेगनीदेवी महतो २०६८ साल फागुन ५ गते चितवनको बघौडास्थित आफ्नो घरमा गोवर फाल्दै गर्दा बोक्सी आरोपमा जिउँदै जलाइएकी थिइन् ।

बोक्सी आरोपमा यसरी जिउँदै जलाइएको थियो ढेगनीदेवीलाई ।

चितवन जिल्ला अदालतका न्यायाधिस भोलानाथ चौलागाईको एकल ईजलासले झाक्र्री जुगेश्वर गुरहु, ढेगनीको ससुरानाता पर्ने बिक्रम महतो, सासु बिक्रमिया महतो, ज्वाई बिक्रम महतो, छोरीहरू सञ्जु, मञ्जु, लक्ष्मि र कृष्णकुमारी महतोलाई जन्मकैदको फैसला सुनाइ सकेको छ । झाक्र्री जुगेश्वर गुरहुलाई ज्यान सम्बन्धी महलको १३ (४) र अरुलाई ज्यान सम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैदको सजाय सुनाइएको थियो । सोही फैँसलालाई सर्वोच्च अदालतले सदर गरेको हो ।

यस्तै बोक्सीकै आरोपमा २०७३ मङ्सिर २० गते काभ्रेपलाञ्चोक सानो वाङथली ७ की ३२ वर्षीया लक्ष्मी परियारले ज्यान गुमाउनुपर्यो ।

स्थानीय सूर्योदय माध्यमिक विद्यालयका सामाजिक शिक्षा विषयका शिक्षक गोदामचौर निवासी हिरा लामा र उनकी आमा काइँलीमायाँ लामालगायतको कुटपिट तथा मलमूत्र खुवाउँदा मङसिर २४ गते मृत्यु भएको थियो ।

बोक्सीको आरोपमा अमानवीय यातना दिएर ज्यानै लिएका यी नमूना मात्रै हुन् । विपन्न, शारीरिक रुपमा अशक्त, असहाय, विधुवा, दलित महिलाहरूलाई बोक्सीको आरोप लगाइने गरेको छ ।

तीन वर्षमा ९५ उजुरी

नेपाल प्रहरीको त्रि वर्षीय तथ्याङ्क अनुसार तीन वर्षमा बोक्सी आरोपका ९५ वटा उजुरीहरू दर्ता भएका छन् ।कार्यालयका अनुसार आव २०७०\७१ मा ४३ वटा, ७२\७३ मा २८ वटा, ७३\७४ मा २४ वटा घटनाहरू दर्ता भएका हुन् । नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले प्रभावकारी कानुनी व्यवस्था भएपछि यस्ता अपराधहरू कम हुँदै गएको बताए । उनले भने, ‘यस्ता घटनाहरू गाउँमै मिलाउने क्रम रोकिदै गएको छ ।’

निकृष्ट तहको फौजदारी अपराध

सर्वोच्च अदालतले बोक्सी प्रथाबाट हुने घटना निकृष्ट तहको फौजदारी अपराधका रूपमा लिएको छ । सर्वोच्चले भनेको छ, ‘समाजमा बोक्सा र बोक्सी हुन्छन् र तिनले मानिस, जीवजन्तु र खेतीबालीमा नोक्सान पु¥याउँछन् भन्ने आधारहिन मान्यताको उग्र विस्फोटका रूपमा हुने यस्ता घटना अन्य ज्यान मुद्दाभन्दा फरक हुन् ।’

के छ कानुनी उपचार ?

बोक्सीको आरोप (कसूर र सजाय) ऐन, २०७२ को सजाय तथा क्षतिपूर्ती दफा ११ मा अपराधको गम्भीरताका आधारमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद हुन सक्ने र ५० हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनेछ भनिएको छ ।

अधिवक्ता शशी बस्नेतका अनुसार सोही दफामा बोक्सीको आरोप सम्बन्धी कसूरमा सजाय पाइसकेको व्यक्तिले पुनः सोही कसूर गरेमा पटकैपिच्छे दोब्बर सजाय हुने व्यवस्था समेत यसले गरेको छ ।

यस्तै क्षतिपूर्ति सम्बन्धी व्यवस्था उपदफा १२ मा अदालतले यस ऐन बमोजिम मुद्दाको फैसला गर्दा बोक्सीको आरोप सम्बन्धी कसूरको प्रकृति, मात्रा, पीडितलाई पुगेको पीडा र पीडकको आर्थिक हैसियत समेतलाई विचार गरी पीडकबाट पीडितलाई मनासिब क्षतिपूर्ति भराई दिनेछ, भनिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: