लाजले उपचार गर्न आउँदैनन्, आङ खसेका महिला


प्रकाशित मिति :2017-12-28 15:01:33

शान्ता कमली/बेलिना थापा

लमजुङ । लमजुङका ग्रामीण भेगका महिलाहरू आङ खस्ने समस्याले ग्रस्त भएपनि रोग लुकाएर बस्ने गरेको पाइएको छ । लमजुङ सदरमुकाम बेसीशहरमा महिलाहरूको आङ खस्ने सवाल र यौन तथा प्रजनन् स्वास्थ्य अधिकार विषयक अन्तरक्रियामा सो कुरा बताइएको हो ।

रोग लुकाउने भएकै कारण यसअघि जिल्ला जनस्वास्थ्य कार्यालयले पहिचान गरेका बिरामीसमेत उपचारका लागि स्वास्थ्य संस्थामा नआउने गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । कतिपय बिरामीहरू भने आर्थिक अभावका कारण यसअघि उपचार गर्न नसकेको बताउँछन् ।

mde

लमजुङ बेशिसहर नगरपालिका वडा नम्बर ११ का शान्तीमाया बस्नेतले पहिलो सन्तान जन्मेदेखि नै आङ खस्ने समस्या झेलिरहेकी छन् । उनी सदरमुकाममा शिविर बसेको सुनेर दुई पटकसम्म उपचारको लागी सदरमुकाम पुगिन् । ‘सुत्केरीमा काम गर्नु परेपछि घर खसेको हो । पैसाँ नभएर उपचार गर्न पाएकी थिइनँ । अहिले अप्रेशन भयो, खुसी लाग्यो’ उनले भनिन् । आङ खस्ने समस्याले जोखिमयुक्त अवस्थामा पुगेका बिरामीहरूका लागि जिल्ला सामुदायिक अस्पताल र जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङले ग्रामिण क्षेत्रमा निःशुल्क पाठेघर शल्यक्रिया शिविर समेत सञ्चालन गर्दै आएको छ ।

गत वर्ष जिल्ला जनस्वास्थ्य कार्यालयले रोग पहिचान गरेका ६६ बिरामीहरूलाई निःशुल्क सेवा प्रदान गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकृत टेकनारायण लामीछानेले बताए ।

‘हाम्रो गाउँमा पनि यस्ता समस्या छन्’ दुधपोखरी गाउँपालिका विचौरकी रादीका दवाडीले भनिन्, ‘स्वास्थ्यसम्बन्धी चेतना अझैपनि पुरानै हालतमा छ । यसले गर्दा पहिचान भएकाहरू समेत उपचार सेवा लिन नआएका हुन् ।’

कलिलै उमेरमा बच्चा जन्माउने, पोषणको अभाव, वर्षेनी बच्चा जन्माउने, घरमै असुरक्षित सुत्केरी गराउने, असुरक्षित गर्भपतन, गर्भवती अवस्थामा आराम गर्न नपाउने, प्रसूतिपछि उचित स्याहार तथा आराम नगर्ने लगायतका समस्याका कारण ग्रामीण क्षेत्रका महिलाहरूमा आङ खस्ने समस्या बढ्दै गएको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

वातावरणीय कृषि तथा विकास केन्द्र केड नेपालको सहयोग एवम् सफर लमजुङको आयोजनामा बुधबार संचालन गरीएको अन्तरक्रिया कार्यक्रममा लमजुङ, तनहुँ र गोर्खाका संचारकर्मीहरूको सहभागीता रहेको थियो । संचारकर्मीहरू मार्फत महिलाहरूको आङ खस्ने सवाल र यौन तथा प्रजनन् स्वास्य अधिकारका बारेमा जनचेतना जगाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सफर लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले बताए । उनले भने, ‘सञ्चारमाध्यममार्फत समस्यामा परेका महिलाहरू खुलेर आफ्नो समस्या भन्न सकुन् ।’

केड नेपालका तालिम प्रशिक्षक ईश्वरी नेपालले बच्चा जन्माएपछि स्याहारको कमी भएका महिलामा आङ खस्ने समस्या देखिन सक्ने बताइन् । नेपालले धेरै बच्चा जन्माउने, सुत्केरी भएपछि पोषणयुक्त खानाको कमी हुने, आरामको कमी र बढी काम, तालिम प्राप्त नर्सको रेखदेखबिना घरमै सुत्केरी गराउने महिलामा आङ खस्ने सम्भावना बढी हुने बताइन् । नेपालमा अझैँपनि ६० प्रतिशत महिलाले मात्र अस्पतालमा बच्चा जन्माउने गरेको बताउँदै उनले घरमा सुत्केरी गराउँदा तालिम प्राप्त स्वास्थ्यकर्मी नपुग्ने बताइन् ।

पाठ्यक्रममा राख्न सुझाव

कार्यक्रममा सहभागिहरूले महिलामा देखिने आङ खस्ने समस्यालाई पाठ्यक्रममा राख्न सुझाब दिएका छन् । पछिल्लो समय महिलामा आङ खस्ने समस्या विकराल रुपमा देखिदै आएको उनीहरूले सो कुरामा जोड दिए । सन्तान जन्माएपछि ढल्किदो उमेरमा पाठेघर अर्थात आङ खस्ने समस्या देखिएपनि यसमा पूर्व सचेतना अपनाउन नसक्दा कतिपयको ज्यान समेत जाने गरेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरे । यसलाई पाठ्यक्रममा समेटिए सचेतना फैँलिने र आङ खस्ने समस्या न्युनिकरण हुने उनीहरूको भनाइ छ । कार्यक्रममा सहभागि लमजुङ, गोरखा र तनहुँमा कार्यरत सञ्चारकर्मीहरूले आङ खस्ने समस्यालाई मिडियामार्फत उजागर गर्न आवश्यक रहेको बताए ।

बालविवाह अन्त्य नभएसम्म पाठेघर खस्ने समस्या समाधान नहुने केड नेपालका प्रशासन अधिकृत राम भट्टराईको भनाइ छ । जिल्ला जनस्वास्थ्य कार्यालयका तथ्याङ् अधिकृत टेकनारायण लामिछानेका अनुसार कतिपय महिला समाजमा अपहेलित हुने डरले रोग लुकाएर बस्न बाध्य छन्, जसकारण पीडित महिलालाई कम उमेरमै बुढ्यौलीले छोप्ने गरेको छ ।

नेपालका अनुसार आङ खसेपछि पाठेघर मात्र बाहिर आउँदैन, पिसाब थैली र दिसा थैली पनि तल खस्छ । त्यसले महिलामा थप समस्या सिर्जना हुन्छ । नेपालको पहाडी भेगका महिलामा सबैभन्दा बढी आङ खस्ने समस्या पाइन्छ ।

हिमालमा कम जनसंख्या भए पनि त्यहाँ यो समस्या विकराल नै छ । सुत्केरी अवस्थामै उकाली–ओरालीका काम बढी गर्नाले उनीहरूमा यो समस्या बढी भएको हो । सहरी क्षेत्रभन्दा गाउँघरमा आङ खस्ने महिलाको संख्या बढी पाइएको छ । सुक्खा खाना खाने, सागपात र हरिया, पहेँला फलफूल नखाने सुत्केरीलाई कुपोषण हुन्छ । त्यही कमजोरीले आङ खस्छ ।
आङ खसेपछि पहिलो चरणको समस्यामा औषधि खानुपर्दैन । सामान्य रुपमा मांसपेशी बलियो बनाउने अभ्यास गरे निको हुन्छ । दोस्रो चरणमा शल्यक्रिया नगरी रिङ हालेर उपचार गर्ने गरिन्छ, भने अन्तिम चरणको आङ खस्ने समस्यामा पाठेघरको शल्यक्रिया गरि महिलाको पाठेघर फालिन्छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: