नागरिकताविहीनको गुनासोः न काम, न पहिचान


प्रकाशित मिति :2018-01-04 13:28:08

–सन्दिप वि.क–

काठमाडौं । सिन्धुली कमलामाई नगरपालिका २ की १७ वर्षीया रीता थिङ नागरिकता नबन्दा अहिले समस्यामा परेकी छिन् । रीताले नागरिकताका लागि कोसिस त गरिन, तर अहिलेसम्म नागरिकता बन्न सकेको छैन् । नागरिकता नहुँदा सरकारी सेवामा समेत निवेदन दिन नपाएको उनले गुनासो गरिन् ।

उनी भन्छिन्, ‘जन्मदर्ता छ, तर नागरिकता बनाउन सकेको छैन ।’ रीताको मात्रै होइन् उनको आमाको समेत नागरिकता छैन । बाबुले नागरिकता नबनाइदिएकै कारण आमाले समेत दोस्रो विवाह गर्न बाँध्य भएको उनी बताउँछिन् । थिङ् भन्छिन्, ‘बुबाले नागरिकता नबनाइदिएकैँ कारण आमाले दोस्रो विवाह गर्नुपर्याे । आमा नागरिकता बनाएर रोजगारका लागि विदेश जान चाहनुहुथ्यो । बुबाले वास्ता गर्न छाडेपछि नागरिकताको आसामा दोस्रो विवाह गर्नुभो ।’

नागरिकताको आसमा  ३५ वर्षीया आमा सम्झना तामाङले दोस्रो विवाह गर्दा समेत नागरिकता नपाएको उनले बताइन् । रीता अहिले मावली हजुरआमासँग बस्छिन् । उनको बाबुको अत्तोपत्तो छैन । ‘आमाले दोस्रो विवाह गर्नुभयो । अब मैले कसरी नागरिकता बनाउने ?’ उनले भनिन् ।’

रीताले सुने अनुसार उनका बुबाको घर सर्लाही हो अरे । भाई बहिनीको समेत नागरिकता बनाउने बेला भएको छ । कक्षा १२ मा पढ्दै गरेकी थिङले नागरिकताका लागि धेरै ठाउँमा धाइन् तर नागरिकता पाउन सकेकी छैनन् ।

उनी भन्छिन् ‘सिन्धुलीबाट बनाउने कोसिस गरे,  तर बनेन् । सर्लाहीमा कोही चिनेको छैन । कसरी बनाउनु । बाबा कता हुनुहुन्छ थाहा छैन् । जता गएपनि प्रशासनले प्रमाण खोज्छ ।’

रीताकी आमा सम्झनाले पनि आफूले नागरिकताकै लागि दोस्रो विहे गर्दा समेत नागरिकता नपाएको बताइन् । भन्छिन्, ‘अहिलेको श्रीमानलाई नागरिकता बनाइदिनु भन्दा पहिलेको श्रीमतीका छोराहरूलाई अंश दिएर मात्रै बनाइदिन्छु भन्छन् । छोराहरू कहिले आउँछन्, कहिले बन्छ नागरिकता थाहा छैन् ।’ उनीसँग न अहिले विवाह दर्ता छ, न नागरिकता ।

नुवाकोट घर भई हाल काठमाडौं गुहेश्वरीमा बस्दै आएकी ३९ वर्षीया मिना तामाङको समस्या पनि त्यस्तै छ । मिनासँग न नागरिकता छ, नत विवाह दर्ता नै । मिनाको नागरिकता नहुँदा उनका छोराहरूको समेत नागरिकता बन्न सकेको छैन् । भारतको आसामबाट तीन वर्षअघि विवाह गरी नेपाल आएकी तामाङको श्रीमानको मृत्यु भएको एक वर्ष मात्रै भयो ।

उनी भन्छिन्, ‘श्रीमान हुँदा नागरिकताको चासो भएन् । विवाह दर्तापनि बनाइन् । अहिले समस्या भएको छ ।

नागरिकताको लागि आफूले धेरै पटक नुवाकोट धाएको तर नागरिकता भने बन्न नसकेको उनले बताइन् । ‘श्रीमान छैनन् । विवाह दर्ता छैन । अचानक श्रीमान बिते । अहिले नागरिकतामा समस्या भएको छ । नागरिकताका लागि आसाम पुगेर कागज पत्र पनि ल्याएकी छु हेरौँ के हुन्छ’ उनले भनिन् ।

उनको ठूलो छोरा २० वर्ष पुगे । छोरी १८ वर्ष पुगिन् । कान्छो १२ वर्ष । आफ्नो नागरिकता नहुँदा छोराछोरीको समेत नागरिकता बनाउन नसकेको उनले बताइन् । उनी भन्छिन्,‘नागरिकता नहुँदा समस्या भएको छ । नागरिकता बिना केही काम बन्दो रहेनछ ।’ नागरिकता नहुँदा सम्मानित काम समेत नपाएको उनले बताइन् ।

सुनसरी दोहावी गाउँपालिका १२ की ३० वर्षीया पुनमदेवी साहको समस्या पनि त्यस्तै छ । उनीसँग नागरिकता छैन् । ‘नागरिकताको लागि धेरै ठाउँमा धाएँ । तर नागरिकता बन्न सकेन,’ उनले सुनाइन् । उनी १२ वर्षका छोरासँगै बस्दै आएकी छन् । उनीसँग विवाह दर्ता पनि छ । तर बाबुको अंगिकृत नागरिकता भएकै कारण नागरिकता पाउनबाट बञ्चित भएको उनले गुनासो गरिन् ।

उनी भन्छिन्, ‘बाबुको नागरिकता जन्मसिद्ध नागरिकता हो । श्रीमानको नागरिकता छ, तर बाबुको नागरिकताकै कारण नागरिकता पाएको छैन् ।’

नागरिकता नभएकै कारण बैंकमा पैसा राख्न नपाएको उनले दुःखेसोे गरिन् । ‘जग्गा समेत किन्न पाएको छैन । श्रीमानले हेर्दैनन् । गुजाराका लागि आफैँ केही गर्ने सोच छ । के गर्नु । जता जाँदा पनि नागरिकता चाहिने रहेछ । नागरिकताका लागि जिल्ला प्रशासन कार्यालयमा धाए । तर नागरिकता पाउन सकिन ।’

मान्छेको पहिचानसँग जोडिएको नागरिकता नपाउदा पीडित भएका यी त उदाहरण मात्रै हुन् । कानूनी जटिलता लगायत अनेकौं कारण महिलाहरू नागरिकता पाउनबाट बञ्चित भएका छन् ।

महिला, कानून र विकास मञ्च (एफडब्लुएलडी) ले गरेको एक अध्ययन अनुसार नेपालमा अझैँ ४६ लाख मानिस नागरिकताविहीन रहेको बताइएको छ । ‘नेपालमा नागरिकता प्रमाणपत्रको प्राप्तिः अनुमान र प्रक्षेपण’ विषयको पुस्तकमा उल्लेख भए अनुसार नागरिकतासम्बन्धी व्यवस्था स्पष्ट हुन नसक्दा सन् २०१४ (दुई वर्षको अवधि) सम्म ४६ लाख मानिसले नागरिकता प्राप्त गर्न नसकेका बताइएको छ ।
सन् २०११(विसं २०६७-६८) देखि संस्थाले गर्दै आएको अध्ययन अनुसार उक्त वर्ष नागरिकता नपाउनेको संख्या ४३ लाख थियो भने सन् २०२१(विसं २०७७-७८) सम्म सो संख्या बढेर ६७ लाख पुग्ने अनुमान गरिएको छ ।

मान्छेको पहिचानसँग जोडिएको नागरिकता नपाउदा पीडित भएका यी त उदाहरण मात्रै हुन् । कानूनी जटिलता लगायत अनेकौं कारण महिलाहरू नागरिकता पाउनबाट बञ्चित भएका छन् ।

महिला कानून र विकास मञ्चकी अध्यक्ष मिरा ढुंगाना नागरिकताको विषयमा धेरै सुधारको खाँचो भएको बताउँछिन् । नागरिकता नबन्दा महिलाहरू पीडित भएका छन् । श्रीमान र घरपरिवारले महिलालाई सजिलै नागरिकता नबनाइदिने प्रवृतिले धेरै महिलाहरू पीडामा रहेको उनी बताउछिन् ।

‘बाबु बेपत्ता भएको, बाबुको ठेगान नलागेको तथा बलात्कारबाट जन्म भएका बच्चाहरूलाई आमाको नामबाट निशर्त नागरिकता प्रदान गर्ने व्यवस्था गर्नुपर्छ । त्यस्तो नागरिकतामा बाबुको बेपत्ता वा ठेगान नलागेको भन्ने शव्द उल्लेख नगरि नागरिकता प्रदान गर्ने व्यवस्था गर्नुपर्ने देखिन्छ’ ढुंगाना भन्छिन् ।

नेपाली आमाले विदेशी नागरिकसँग विवाह गरी बच्चाहरूको जन्म नेपालमा नै भएका र निजहरू नेपालमा नै बसोवास गरी आएको अवस्थामा आमाको नामबाट वंशजको नागरिकता प्राप्त गर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

गृहमन्त्रालयका उपसचिव सागरमणी पाठकले नागरिकताका लागि ऐन संशोधन हुन लागेको बताए । नागरिकता ऐन संशोधन भएको खण्डमा नागरिकताबाट बञ्चित हुनुपरेका महिलालाई सहज हुन उनको विश्वास छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: