
शिविरमा आँखा उपचारको लागि पुगेका महिलाहरू
–महिला खबर–
दोलखा । दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ लाकुरीडाँडाकी ८३ वर्षीया ठुलीमाया भुजेल लामो समयदेखि आँखाको समस्याबाट पीडित थिईन् । मोतियाविन्दुको कारण राम्रोसँग आँखा देख्न नसक्ने समस्याले उनलाई सौचालय जान समेत समस्या थियो । तर अहिले मोतियाविन्दुको अप्रेशनपछि उनी आँखा राम्रोसँग देख्ने भएपछि निकै खुसी भएकी छन् ।
‘बुढेसकालमा आँखा नदेख्दा निक्कै समस्या थियो, सौचालय जान सँधै साथी नपाउने भएकोले पेटको समस्याबाट समेत पीडित भएको थिए । तर अहिले अप्रेशनपछि बुढेसकालमा आखा राम्रोसँग देख्ने भएकोले निक्कै खुसी भएको छु– ठुलीमायाले भनिन् ।
लाकुरीडाँडाकै ७० वर्षीया जेष्ठ नागरिक लालमाया थामीको समस्या पनि ठुलीमायाको जस्तै थियो । मोतियाविन्दुको कारण आँखा राम्रोसँग नदेख्दा उनलाई दैनिक गतिविधिमा निक्कै समस्या थियो । तर अहिले अप्रेशनपछि उनी निक्कै खुसी छन् । लालमाया भन्छिन्, ‘अब म हरेक काम आफै गर्न सक्छु । कसैको भर पर्नुपर्दैन । त्यसैले अप्रेशनपछि म खुसी छु ।’
तिलगंगा आँखा प्रतिष्ठान र दोलखा लायन्स आँखा केन्द्रको सहयोगमा लाकुरीडाँडा स्वास्थ्य चौकीले दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ९ लाकुरीडाँडामा सञ्चालन गरेकोे आँखा शिविरमा १ सय २३ महिलाले आँखाको उपचार गरेका थिए । शिविरमा आँखाको उपचार गराएका १ सय ७४ जना मध्य १ सय २३ जना महिला रहेको भीमेश्वर नगरपालिकाको स्वास्थ्य शाखाका हरिहर न्यौपानेले बताए ।
शिविरमा आँखाको उपचारको लागि आएका १ सय ७४ मध्य १४ जनाको आँखाको अप्रेशन गर्नुपर्ने अवस्था रहेको र त्यसमा ७ जना महिला रहेकोमा दुई जना महिला र दुई जना पुरुषले अप्रेशन गरेको न्यौपानेले बताए ।
Comment Here!