बैतडी-जिल्लामा बालविवाह न्यूनीकरण गर्न भन्दै पाँच वर्षे रणनीतिक योजना तयार पारिएको छ । आगामी पाँच वर्षभित्र बालविवाहमुक्त जिल्ला घोषणा गर्नका लागि अपनाउनुपर्ने कार्ययोजनासहित रणनीतिक योजना तयार पारिएको हो ।
संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा नेपाल रेडक्रस सोसाइटी र परामर्शदाता संस्था ओआरडीएसले उक्त रणनीतिक योजना तयार पारिएको जनाइएको छ ।
कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले गएको चैतदेखि रणनीतिक योजना बनाउने कार्य शुरु गरी तयार पारिएको बताए । बैतडी धेरै बालविवाह हुने जिल्लामध्ये पाँचौँ स्थानमा पर्दछ ।
रणनीतिक योजनामा बालिका र किशोरीे सशक्तीकरण, उनीहरूका लागि गुणस्तरीय शिक्षा तथा बालक, किशोर र पुरुषको सहभागिता, परिवार र समुदायको परिचालन, सेवा प्रवाह र कानून तथा नीतिको सुदृढीकरण र कार्यान्वयन समेटिएको छ ।
रणनीतिक योजना सार्वजनिक गर्दै ओआरडीएसका लोकेशलाल शाहले बालविवाह न्यूनीकरणका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बालविवाह कानूनविरुद्धको कार्य भएपनि अहिलेसम्म जिल्लामा यस विरुद्ध कुनै उजुरी नपरेको बताए । महिला विकास अधिकृत अनिता बुढाऐरले बालविवाहको रोकथामका लागि सबै लाग्नुपर्नेमा जोड दिइन् ।
Comment Here!