हामी किन बिरामी छाडेर आन्दोलनमा उत्रिनुपर्‍यो ?


प्रकाशित मिति :2018-01-17 12:08:52

-प्रतिमा खत्री, नर्स-

म एक नर्स । त्यसैले मेरो सामाजिक सञ्जालमा अधिंकास साथी नर्स दिदिबहिनीहरु तथा अग्रजहरु हुनुहुन्छ। यही कारणले मेरो फेसबुकमा नर्सिङ  क्षेत्रकै पोष्ट देखिरहन्छन्। एकदिनअघि एक जना बहिनीले आफ्नो तर्क राखेर एउटा समाचार सेयर गरेकी थिइन्। शिर्षक थियो “एक जना नर्सको बिषयलाई लिएर सेवानै बन्द गर्नु नहुने: स्वास्थ्य मन्त्री बोहरा। आँखा त्यही गएर अल्झिए। यो समाचार शिर्षकले मलाई एकपटक फेरि आफूले आफैंलाई प्रश्न गर्न बाध्य पार्‍यो? अघि भर्खरसम्म जायज लागेका मागहरु के यो समाचार शिर्षकले भनेझैं एउटी नर्सका बिषयमा मात्र छन् त? म हतार–हतार पुन: ती ११ बुँदे मागतिर आँखा दगुराउँछु। अनि एकएक गरी चामलमा बिया केलाएझैं केलाउन थाल्दछु तर मलाई फेरिपनी पटक्कै नाजायज भने लाग्दैनन्।

लाग्यो, स्वास्थ्य मन्त्री जस्तो व्यक्तिले नर्सहरुका माग नजरअन्दाज गरी कसरी ‘एउटा’ भनेर औंल्याउन सक्नु भएको? के एकजना चाहिँ अन्यायमा पर्दा केही हुँदैन? कानुनी राज्यमा एकजनामाथि पनि अन्याय नहुनु पर्ने होइन र? एक–एकजना मिलेर धेरै हुने होइन र ?  एउटा भोटको कति महत्व हुन्छ,  अस्ति भर्खर चुनाव लड्दा अनुभव भयो होला । कति चाँडै बिर्सिनु भएछ । नभए त उहाँजस्तो जिम्मेवार पदमा असिन व्यक्तिले यस्तो भन्न नहुने हो।

मन्त्रीज्यू माथि यस्ता प्रश्न तेर्स्याउने दुस्प्रयासको लागि माफ चाहन्छु । तर मन्त्री ज्यू, मेरो दिमागमा अहिले ठ्याक्कै यही कुरा खेलिरहेको छ। त्रजिना जति जो काठमाडौं उपत्यकाभित्रै रहेको र स्वास्थ्य मन्त्रालय भन्दा खासै भौतिक दूरी नभएको ठाउँमा काम गरिरहेकी नर्स हुन् । उनीमाथि यस्तो अन्याय भइरहेको छ भने दूरदराजमा काम गरिरहेका नर्सहरु कति पीडित होलान् ?  के यो प्रश्न मन्त्रीज्यूले आफूलाई गरेर नै यस्तो अभिब्यक्ती दिनुभएको होला त? यो विषयमा यति नै । किनकी छानबिन समितिले व्यवस्थापन पक्ष दोषी ठहर्‍याएर प्रतिबेदन पनि बुझाइसकेको छ। तरपनि कुनै कारवाही भएको देखिँदैन।

त्यस्तै बुँदा नम्बर २ को नर्सिङ महाशाखा पुनर्स्थापना। बीस वर्ष अगाडि नर्सिङ महाशाखा थियो रे अहिले छैन । त्यस्लाई खारेज गर्दा हाम्रा अग्रज दिदीहरुले किन केही नबोलेको होला भन्ने सधैं लागिरह्यो र हरेक पटक यो प्रसंगको कुरा आउँदा मैले मेरो अग्रजलाई यही प्रश्न गर्ने गरेकी थिएँ। तर उहाँहरु मौन बसिदिनु हुन्थ्यो मनमा ग्लानीको बोझ बोकेर। तर म भन्दा पछिको पुस्ताले मलाई यही प्रश्न सोध्ला रे, के म ङिच्च दाँत देखाएर बस्नु? यस्तो गर्न म सक्दिनँ ।  त्यसैले आज म बोल्नैपर्छ, संघको आन्दोलनमा मैले साथ दिनैपर्छ। नभए म नर्स होइन।

हामी नर्सको अर्को उपनाम बनिरहेको छ “छुच्ची”। यसो भन्नुअघि तपार्इंले सोच्नुभयो, ‘नर्स किन छुच्ची’ भनेर। अहँ, हो त्यही छुच्चोपनको उपाधीको दाहसंस्कार गर्नको लागि तेस्राे माग नर्स बिरामी अनुपातको माग राखेका छौं। के आफ्नो पेशाको गुणस्तर सुधार्न खोज्नु नाजायज माग हो? सरकारी र निजी क्षेत्रमा तलब भत्ता एउटै होस् जुन अझै परिमार्जन गर्न जरुरी छ। अनि भोलेन्टियर प्रथाको अन्त्य होस् भन्न पनि नपाउने त ? किन कि बाआमाले घरखेत बेचेर लाखौं तिरेर पढाइसकेपछि पनि फेरि बाआमासँग कसरी हात फैलाउनु? त्यो पिडा त छँदैछ त्यसमाथि बसेको ठाउँबाट भोलेन्टियर गरिरहेको ठाउँसम्म पुग्न पनि समस्या हुन्छ। सार्वजनिक गाडिको पैसा उठाउने ब्याक्तिले बिचरा भोलेन्टियर हो यो सँग पैसा छैन होला भन्दैन। अनी त्यै अस्पातलमा काम गरिरहेको बेला भोक लागेमा क्यान्टिनको मान्छेले तिमी भोलेन्टियर है तिमीसँग पैसा छैन होला, सित्तैमा खाउ भन्दैन ।  अनी भोको पेटमा काम गर्न पनि सकिँदैन। छैन त पीडा ?

नेपालका नीतिनियम साह्रै राम्रा छन् । तर कार्यन्वयन खासै भएको देखिँदैन। सार्वजनिक क्षेत्रमा धुम्रपान निषेध छ तर सार्वजनिक ठाउमै धुम्रपान गरेको देखिन्छ । त्यहीं प्रहरी धुम्रपान गरेको मुकदर्शक भएर हेरिरहन्छ । हरेक स्कुलमा एक नर्स अनिवार्य हुनुपर्ने सरकारकै नियमलार्इ प्रभावकारी रुपमा छिटो र छरितो  लागू गर्न भनेका हौं । यसलाई फेरी म नाजायजको बिल्ला कसरी लगाउँ?

देशका अधिकांस नर्स विकसित देशतिर लाग्छन् किनकी त्यहाँ कामको सम्मान हुन्छ। त्यसलाई एउटा नजरले हेर्दा त हाम्रा नर्स बिकसित मुलुकमा सेवा दिराछन तिनिहरुको भबिष्य सुरक्षित भयो तर के सधैंभरि अर्काको देशकै लागि मात्र जनशक्ति उत्पादन गर्ने त? आफ्नो देशमा सेवा दिउन भन्नलाई उचित कामगर्ने वातावरण कहिले बनाउने?

हामी नर्स स्नातक, स्नाकोत्तर तथा पिएचडी गरेका छौं तर पढाई अनुसारको अवसर खै त? स्नातक गरेकाहरु स्टाफ नर्सको काम स्नाकोत्तर गरेकाहरु स्नातक तहको काम कहिले सम्म गरिरहने हो सरकार? अनी नेपालको छोरा मान्छे गएर अर्काको देशमा नर्स पढ्ने तर उस्ले आफ्नै देशमा नर्सिङ पढ्न किन नहुने हो?

अस्पातलका बेडमा दुखिरहेका बिरामीलाई चटक्कै छाडेर सडकमा जानु हाम्रो रहर होइन, बाध्यता हो। जालसाझी गरेर ल्याएका सर्टिफिकेटले देश लुटेका समाचारहरु सक्कली सर्टिफिकेट सिरानमा राखेर कहिले सम्म चुप बसिरहने त? त्यसैले सडकमा जाउँ भनेर जुरमुराउन त बल्ल थालेका हौं। तर हामी भित्रभित्रै आन्दोलित छौ। अनि नर्सिङ संघको आन्दोलनमा म किन आन्दोलित नहुनु त?  त्यसैले मेरो समर्थन नर्सिङ संघको आन्दोलनलाई छ।

खत्री महाराजगञ्जस्थित मनमाेहन कार्डियोथोरासिक एन्ड भाष्कुलर सेन्टरमा कार्यरत छिन्।

साभार : स्वास्थ्य खबरपत्रिका

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: