-अप्रिल अधिकारी-
रामेछाप । जिल्लाको लिखु गाउँपालिकाका विद्यालय जाने किशोरीहरूको दैनिकीमा पछिल्लो पटक परिवर्तन आएको छ । केही समय अघिसम्म विद्यालय जाने र घरायसी काम धन्दामा मात्रै सिमित रहने उनीहरूले कलिलो उमेरमै गाउँ परिवर्तन गर्ने सोच बनाएका छन् । त्यही सोचलाई साकार पार्न दिनरात प्रयासरत छन् उनीहरू ।
पढाइ सँगसँगै घरको समेत काम सकेर किशोरीहरू गाउँको परिवर्तनका लागि जुटेका हुन् । महिला तथा किशोरीहरूलाई सुरक्षित बनाउने अभियानमा क्रियाशील उनीहरू भन्छन्, ‘अवस्था परिवर्तन गरेरै छाड्छौं ।’
मानव अधिकार संचार प्रतिष्ठान अन्तर्गत न्यायमा पहुँच परियोजनाले जिल्लाका विभिन्न स्थानहरूमा परियोजनाका गतिविधिहरू संचालन गरेपछि त्यसबाट प्रभावित किशोरीहरूले अहिले नयाँ अभियान थालेका हुन् ।
परियोजनाले संचालन गरेको विविध खाले गतिविधिमा सहभागि भएकै कारण जिल्लाको लिखु गाउँपालिका वडा नं ४ की १८ वर्षीया यसुदा विकको दिनचर्या मात्रै होइन, विचार नै परिवर्तन भएको छ ।
पहिले साँझ विहान एक्लै गाउँघरमा हिड्न समेत डराउँथिन् उनी । कहाँ कतिबेला हिंसामा परिने हो भन्ने डरले सताइरहन्थ्यो उनलाई । अहिले आफूमा त्यो डर हटेको उनले बताइन् । ‘डरै नलाग्ने त हैन । तर हिंसामा पर्नबाट कसरी जोगिने र हिंसामा परिहाल्यो भने कसरी कानुनी उपचार खोज्ने भन्ने बारेमा सचेत छु’ उनले भनिन् । ‘हामी महिलाहरु स्वभावैले कमजोर हौं भन्ने लाग्थ्यो । मान्छेले जब म कमजोर छु भन्ने सोच्छ, तब उसले केही गर्ने हिम्मत पनि नगर्दोरहेछ’ यसुदाले थपिन्, ‘अहिले त आइलाग्नेसँग जाइलाग्न सक्छु भन्ने हिम्मत बढेको छ ।’
हिंसाविरुद्ध लड्न आत्मबल कसरी बढाउने भन्ने बारेमा गाउँमा अरु किशोरी तथा महिलाहरू पनि सचेत हुनुपर्ने यसुदा बताउँछिन् । त्यही जागरणको अभियानमा लागेकी उनी महिला हिंसा, चेलीबेटी बेचविखन तथा ओसारपसार विरुद्धका सचेतनामूलक कार्यक्रम र बाल अधिकार संरक्षणका लागि आवाज उठाउन सक्ने भएकि छन् ।
न्यायमा पहुँच परियोजना रामेछाप मार्फत मानवअधिकार सञ्चार प्रतिष्ठान (इह्किन)ले बिजुलीकोटमा सञ्चालन गरेको किशोरीहरूका लागि आत्मरक्षा तालिममा सहभागि भए पश्चात आफूमा यस्तो आँट र साहस पलाएको उनले बताइन् ।
गाउँकै श्री झट्टेश्वर माध्यामिक विद्यालय धोबि बजारमा कक्षा १२ मा पढ्दै गरेकी ३ दाजु र ६ दिदीहरूपछि जन्मिएकी यसुदासँग यतिबेला उनका अभिभावकहरू समेत दंग छन् ।
हिजोसम्म छोरीमा रहेको डरको डेरा हटेपछि अरुलाई पनि आफू जस्तै सक्षम र परिवर्तन हुनुपर्छ भन्दै सिकाउदै हिडेको देख्दा आफूहरूमा खुसी छाएको उनका आमा बाबु बताउँछन् । केही समय अघिसम्म विद्यालय जाने, पढ्ने र घरका सामान्य काम मात्र गर्ने यसुदाले पछिल्ला दिनमा गाउँमा हुने बैठक, भेला र सार्वजनिक कार्यक्रमहरूमा चासो दिएर सक्रिय रुपमा सहभागिता जनाउँदै आएको बताइन् ।
न्यायमा पहुँच परियोजनाले बिजुलीकोटमा संचालन गरेको ३ महिने आत्मरक्षा (मार्शल आर्ट तेक्वान्दो) तालिम र दुइ दिने आत्मबल बढाउने शसक्तिकरण तालिम लिई प्रमाणपत्र समेत लिइसकेकी छन् । उनले तालिमको प्रमाण पत्र लिने बेलामा नै आफूले सिके जस्तै आत्मरक्षा तालिम थप १० जनालाई सिकाउने प्रतिबद्धता समेत गरेर सोही अनुरुपको कार्य गर्दै गरेको न्यायमा पहुँच परियोजना रामेछापका संयोजक रमेश ढुंगेलले बताए ।
इमान्दार र लगनशील भएका कारण उनी बिजुलीकोटको तालिममा सहभागि किशोरीहरू मध्ये अब्बल दर्जामा रहेको तालिमका प्रशिक्षक राजु लामाले बताए ।
त्यस्तै लिखु गाउँपालिका वडा नं ५ नागदहकी कुन्ती तामाङको दिनचर्या पनि यशुदाको झै फेरिएको छ । उनको विगत पनि यशुदाको भन्दा फरक थिएन । घरबाट कतै बाहिर जानु पर्दा कहिले भाइ, कहिले बैनी त कहिले आमालाई साथी लिएर जान्थिन् उनी । ३ महिनाको तालिमले बढाएको आत्मविश्वास बारे उनले खुलेर प्रशंसा गरिन् ।
श्री बुद्ध जनप्रिय माविमा कक्षा १० मा अध्ययनरत तामाङले पनि अब गाउँमा हुने गरेका महिला हिंसा विरुद्धका विभिन्न अभियानहरू सञ्चालन गर्न र वाल अधिकारको लागि लड्न तालिम र न्यायमा पहुँच परियोजनाले गाउमा संचालन गरेका अन्य जनचेतनामूलक कार्यक्रमहरूले निकै सहयोग गरेको उनको भनाइ छ ।
उनको राम्रो काम देखेर उनलाई स्थानीय बुद्ध जनप्रिय माविका वालवालिकाद्वारा गठन गरिएको स्मार्ट बाल क्लबले उनलाई क्लबको अध्यक्ष समेत बनाएका छन् । अहिले उनी पढाइ र घरको कामका अलावा सामाजिक काममा संलग्न हुन थालेकी छन् ।
यतिबेला उनीसँगै अन्य ८ जना किशोरीहरूले थप १० जना किशोरीहरूलाई गाउँमै १ महिने आत्मरक्षा तालिम दिइरहेका छन् । आफूसँग भएको सिप जति अरुलाई बाँड्यो त्यति नै आफ्नो सिप पनि तिखारिने उनको भनाइ छ ।
Comment Here!