सफल बन्दै उद्यमी महिला


प्रकाशित मिति :2018-01-19 16:04:05

           -बेलिना थापा-

लमजुङ । जिल्लाकै पहिलो र एक मात्र पुष्प व्यवसायी हुमा गुरुङ (३६) एक उदाहरणीय उद्यमी महिला हुन् । जो स्वदेशमा केही गर्न सकिदैन वा महिलाले के नै गर्न सक्छन् र ? भन्नेहरुका लागि प्रेरणाको स्रोत बनेकी छन् । उनले विरुवा र फूल बेचेरै मनग्य आम्दानी गरिरहेकी छन् । उनको यो नौलो र सृजनशील कार्य युवा पुस्ताका लागि उदाहरण मात्र बनेको छैन, उनले यही व्यवसायमा भविष्य पनि देखेकी छन् ।

पहिलेदेखि नै आफैँले केही गर्नुपर्छ भन्ने सोच बोकेकी उनले ४ बर्षअघि गैरसरकारी संस्थाको अधिकृतको जागिर छाडेर नर्सरी शुरु गरेकी थिइन् । बेसीशहर नगरपालिका, २ बोहोराबेसीमा स्थापना गरिएको रोज नर्सरीमा उनले सुरुमा ४० प्रजातीका विरुवा राखेकी थिइन् । अहिले २ सय भन्दाबढि प्रजातीका फलफूल र फूलका बेर्ना छन् । दुई वटा आधुनिक टनेल निर्माण गरि बाह्रैमासे फूल तथा बेर्ना उत्पादन गरेकी छन् ।

                                                         – हुमा गुरुङ –

हुमाको नर्सरीमा दैनिक ग्राहकको भिड लाग्ने गर्छ । सिजनमा त बेर्नाबाट मात्रै मासिक ५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको गुरुङले बताइन् । फूल भन्दा बेर्नाको व्यापार राम्रो छ । उनका अनुसार बेर्नाको जात, प्रकार हेरेर १० रुपैयाँदेखि ४÷५ हजार रुपैयाँसम्म पर्छ । दशै, तिहार जस्ता चाडपर्वमा त फूलको बिक्री वितरण झनै राम्रो हुन्छ । सिजनलसँगै बहुबर्षिय फूल तथा विरुवा उत्पादन तथा बिक्री गर्ने भएकाले पनि उनको व्यापार राम्रो भएको हो ।

झण्डै साढेँ चार रोपनी क्षेत्रफलमा फैलिएको उनको नर्सरीमा लमजुङसँगै छिमेकी जिल्ला गोर्खा, तनहूँ र मनाङबाट पनि ग्राहकहरु फूल तथा बेर्ना खरिदमा आउने गरेका छन् ।

नर्सरीमा उनले ४० लाख रुपैयाँ भन्दा बढी लगानी गरिसकेकी छन् । मासिक १० लाख रुपैयाँ भन्दा बढीको कारोबार हुने उनको नर्सरीले दुई जना महिलालाई रोजगारपनि दिएको छ । जुनसुकै काम पनि दृढ संकल्पका साथ फरक तरिकाले गर्न सके सफल भइने उनको भनाइ छ ।

बेसीशहर ६, चण्डीस्थानकी भवानी अधिकारी रिमाल, (२८) आफ्नै दालमोठ उद्योग संचालन गरि मासिक एक लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएकी छन् । ऋण निकालेर विदेश जानुको सट्टा त्यही रकम स्वदेशमै उद्योग धन्दामा लगानी गरि उनले हालसम्म ५० लाख रुपैयाँ बढी कारोबार गरिसकेकी छन् ।

२०७३ सालमा ३२ लाख रुपैयाँ लगानी गरि उनले बेसीशहरमा रिमाल दालमोठ उद्योग संचालनमा ल्याएकी हुन् । उद्योगमा मिक्स, स्पेसल भटमास, चना, केराउ फ्राई, फुरनदाना, बदाम, भुजिया, मुँगदालको दालमोठ उत्पादन हुन्छ । उनले हालै मात्र रिमाल कुटानी पिसानी उद्योग पनि दर्ता गरि विभिन्न प्रकारका मसलाहरु उत्पादन गर्न थालेकी छन् । आफ्नो उत्पादन धेरैले रुचाएको उनी बताउछिन् । उनको उत्पादनले जिल्लामा मात्र हैन, छिमेकी जिल्ला मनाङसम्म बजार पाएको छ ।

                                                -भवानी अधिकारी रिमाल-

भवानीले अहिले हेड मिस्त्रीसहित तीन जना महिलालाई रोजगारी समेत दिएकी छन् । आफू महिला भएकाले पनि महिलालाई नै रोजगारमा प्राथमिकता दिएको उनी बताउँछिन् । आफैले केही गर्न सके आफू मात्र हैन, अरुलाई पनि रोजगार दिन सकिन्छ भन्ने हेतुले लमजुङ उद्योग बाणिज्य संघको सहज रोजगार छोडेर व्यवसायमा लागेको उनले बताइन् । ‘श्रीमान आर्मी, बालबच्चा पनि हेर्नुपर्ने मान्छेलाई जागिर नै सजिलो थियो । तर आफैले केही नयाँ गर्न सके, आफू मात्र नभएर अरुलाई पनि रोजगार दिलाउन सकिन्छ भन्ने सोचले व्यवसाय थालेकी हुँ ।’ रिमालले भनिन् । व्यवसाय गरेदेखि चुनौति सामना गर्ने क्षमता र सृजनशीलता बढेको उनले बताइन् । व्यवयासले आत्मविश्वास नै छुट्टै हुने उनको अनुभव छ ।

२१ वर्षकै उमेरमा आफ्नै फर्निचार व्यवसाय थालेकी बेसीशहर नगरपालिका ८ की सिता सुनारको अनुभव पनि त्यस्तै छ । उनी एक वर्षदेखि एक्लैले फर्निचर उद्योग संचालन गरिरहेकी छन् । उनको पुमा फर्निचार उद्योग २०७३ साल फागुनबाट सुरु भएको हो । उनले लमजुङ सिप विकास प्रतिष्ठान गैरी क्यापसमा २ वर्षे कार्पेन्टि एण्ड इन्टेरियर डिजाइनिङ अध्ययन गरेकी छन् । पढेको कुरा व्यवहारमा लागू गर्न आफैले व्यवसाय थालेको उनले बताइन् ।

                                                                 – सिता सुनार-

आमाबुवाकै सहयोगमा ५ लाख रुपैयाँ ऋण लिएर उद्योग थालेकी उनले आफ्नै व्यवसाय भएपछि छुट्टै खालको जोस जाँगर बढेको अनुभव सुनाइन् ।
सीताको उद्योगमा उनीसहित पाँच जनाले रोजगारी समेत पाएका छन् । सुरुका दिनमा गाह्रो भएपनि अहिले सहज हुँदै गएको उनले बताइन् । ‘व्यवसाय गर्न सहज छैन । तर गर्दै जाँदा राम्रै होला भन्ने विश्वास छ’ उनले भनिन् ।

त्यस्तै कार्कीडाँडा घर भई बेसीशहरमा पाँच वर्षदेखि सिलाईकटाई व्यवसाय गर्दै आएकी लक्ष्मी बसेल (३०) पनि आत्मनिर्भरताले महिलालाई आत्मविश्वास बढाउने अनुभव सुनाउँछिन् ।

उनले सिलाईसँगै पसलमा कपडा बेचेर महिनामै एक डेढ लाख रुपैयाँको कारोबार गर्छिन् । त्यही व्यवसायबाट छोरा-छोरीलाई नीजि स्कूलमा पढाएकी छन् । कामले सीप विकाससँगै आम्दानी पनि हुने भएकाले जीवन निर्वाह गर्न धेरै सजिलो भएको उनले बताइन् । ‘पहिले पकेट खर्च पनि मागेर चलाउनुपथ्र्याे । अहिले आफ्नै कमाईले घर खर्च पनि धान्न सक्ने भएकी छु । पैसा भएपछि आत्मविश्वास नै बलियो हुँदोरहेछ’, उनले भनिन् ।

-लक्ष्मी बसेल-

आफ्नै व्यापार, व्यवसायले रोजगारीसँगै आम्दानी पनि हुने हुँदा अहिले जिल्लामा धेरै युवा महिलाहरु उद्यममा लागेका छन् । बढी मात्रामा महिलाहरु किराना पसल, व्यूटीपार्लर, फेन्सी, कस्मेटिक पसल, जस्ता थोरै लगानी र कम जोखिम हुने व्यवसाय गरिरहेका छन् । केहीले भने फर्निचार उद्योग, पुष्प व्यवसाय, फ्रेस हाउस, सटर ग्रिल उद्योग जस्ता नयाँ र जोखिमयुक्त काम थालेका छन् ।

विगतमा फुर्सदको समयमा गफ गरेर समय खेर फाल्ने महिलाहरु पनि अहिले सानातिना व्यवसाय गरेर आय आर्जनतर्फ लागेको देखिन्छ । केही गृहिणी महिलाहरु घरमै बसेर गर्न सकिने उद्यम (धुप बनाउने, मैनबत्ति बनाउने, गुडिया बनाउने जस्ता काम) गर्न थालेका छन् ।

उद्यमले महिलाको समय र सीपको सदुपयोगसँगै आर्थिक उपार्जनमा पनि टेवा पुगेको लमजुङ बाणिज्य संघका अध्यक्ष राजेश थापा बताउँछन् । उनका अनुसार संघमा दर्ता भएका २ हजार उद्योग मध्ये ६ सय बढी उद्योग महिलाको नाममा दर्ता छन् ।

पछिल्लो समय सरकारले महिलाका लागि तालिम र आर्थिक सहयोगको व्यवस्था पनि गरेकाले महिला उद्यमीको संख्या बृद्धि भएको अध्यक्ष थापाको भनाइ छ । महिला उद्यमीलाई प्रोत्साहन दिन संघले पनि विभिन्न तालिम, अन्र्तक्रिया संचालन गर्र्दै आएको उनले बताए । घरेलु तथा साना उद्योग विकास समिति, लमजुङका अनुसार जिल्लामा ९ सयको हाराहारिमा महिलाले संचालन गरेका लघु उद्योग दर्ता भएका छन् ।

कार्यालयका प्रमुख शिक्षक नासु मन्दिरा श्रेष्ठका अनुसार पछिल्लो समय उद्यममा महिलाहरुको आकर्षण बढेको छ । तर महिला उद्यमीहरुले भने राज्यको तर्फबाट कुनै प्रोत्साहनमूलक काम हुन नसकेको गुनासो गर्छन् । बाध्यताले व्यवसाय अगाल्नेहरुको अर्कै कुरा हो । तर अहिले त सजिलो विकल्प छाडेर आफूले काम नगरे पनि हुने अवस्थाका महिलाहरु समेत जोखिम उठाएर उद्योग व्यवसायमा हात हाल्न थालेका छन् । यस्तो अवस्थामा महिलाहरुलाई स्थानीय सरकार र राज्यको तहबाट प्रोत्साहन गर्न जरुरी छ । तर असहयोगी सामाजिक संस्कार, सम्पतीमा महिलाको अधिकार नहुनु, साना उद्यमीलाई उद्यमी नै नमान्ने राज्यको व्यवहारले उद्यममा आउन सक्ने जति महिलाहरु पनि अगाडि आउन सकिरहेका छैनन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: