रेडियोमा बोल्ने मान्छे, कसरी छाउ बार्नु ?


प्रकाशित मिति :2018-01-22 13:29:21

मेनुका ढुंगाना

अछाम । पुसको महिना । रातको १ बजे पहिलो पटक महिनावारी भएको त्यो दिन म कहिल्यै बिर्सन सक्दिन । यहि समाजमा हुर्के बढेकी म पनि छाउ बार्ने चलनबाट कहाँ अछुतो रहन सक्थे र । उसो त छाउ बार्ने नाममा ज्यानको बाजी राखेर बन्द, होचो ठाउँमा बस्नु राम्रो हैन भन्ने पनि त कहाँ थाहा थियो र !

मम्मि र दिदी महिनावारी भएकै बेला २०६७ साल पुस १ गते म पनि पहिलो पटक महिनावारी भएँ । उहाँहरू घर भन्दा १५ मिनेट टाढा रहेको सार्वजनिक छाउ गोठमा बस्न जानु भएको थियो । मध्य राती त्यती टाढाको गोठमा एक्लै जान सम्भव पनि थिएन । कहाँ जाने, कता बस्ने भन्ने टुंगो नलागेसम्म छाउ भएको कुरा कसैलाई भन्ने आँट आएन । घरमा बुवा, दाजु र भाइ थिए । पहिलो पटक छाउ भएकी छोरीले बुवा, दाई, भाईको मुख हेर्नु हुँदैन भन्ने थियो । त्यसैले मलाई भन्ने आँट आएन । भनौं भने घरमा मम्मि दिदी कोहि पनि थिएनन्, नभनौं भने छाउ भएको बेला घरभित्रै बस्दा आगो लाग्ने, बाघ लाग्ने, देउता रिसाउँछन् भन्ने सुनेकी थिए । म धर्मसंकटमा परे । मलाई लाज भन्दा डरले सतायो । अन्तिममा भन्नैपर्ने लाग्यो । लाज मानिमानि बुवालाई सुनाए । मध्यरात भएकाले बुबाले टाढा जानुभन्दा अंकलको घरको सानो गोठमा बस्ने चाजो मिलाउनुभयो ।

जब म छाउ बार्न पहिलोपटक त्यो सानो, अध्याँरो कोठाभित्र पसे, तब मलाई मृत्यु आफ्नै वरिपरि घुमे जस्तै लाग्थ्यो । जाडो महिना, होचो ठाउँ, धुवाँ बाहिर जाने कुनै ठाँउ थिएन । आजको रात कसरी बाँच्न भन्ने चिन्ता मात्र थियो । तर पहिलो पटक छाउ भएकी छोरीले ९ दिनसम्म त्यसरी नै बस्नुपथ्र्यो । म विवश थिएँ । किनकि सवै छोरीहरूले पहिलो छाउ हुदाँ यसरी नै बारेका थिए । मैले पनि रुँदैरुँदै त्यसरी नै ९ रात कटाएँ ।

समय अगाडी बढ्दै थियो । म अर्को पटक महिनावारी भएँ । त्यति बेला मैले सामूहिक रुपमा बस्ने मौका पाए । २०५४ सालमा नेपाल रेडक्रस सोसाइटीले पिपलतोलीमा निर्माण गरिदिएको छाउ गोठ थियो । त्यही गोठमा म पनि अरु दिदीबहिनीहरूसँगै छाउ बार्न बसेकी थिएँ । त्यहाँ खासै अप्ठ्यारो थिएन । कम्तिमा २२ जना अटाउने ठूलो २ तले भवन थियो । जुन अझंै पनि छ । आफूसँगै पढ्ने गाउँका धेरै साथीहरू हुने भएकाले रातहरू रमाइलो गर्दै बिते । छाउगोठ भित्रै सेल, चाउचाउ जस्ता परिकारहरू बनाएर गफ गर्दै बस्न पाउँदा समय बिताउन धेरै सहज भयो ।

मेरा साथीहरू धनेश्वरी, पुजा, टंकेश्वरी, मोतिसरा, कोकीला, निता, निर्मला, शोभा हामी जहिले पनि सँगै छाउ हुन्थ्यौं । अर्को पटक छाउ भएका बेला के गर्ने भन्ने योजना अघिल्लो महिना नै तयार हुन्थ्यो । पुस, माघको महिना पिपलतोलीमा धेरै सुन्तला फल्थे । ती महिनामा हाम्रो टिमको सुन्तला चोर्न जाने सल्लाह हुन्थ्यो । राती सुन्तला, उखु, अमिलो ल्याएर रात बिताउथ्यौं, त्यही गोठमा ।

एक्लै छाउ भएको बेला भने त्यो गोठमा बस्न डर नै थियो । सदरमुकाम नजिकको गोठ, मंगलसैनकै सबैभन्दा ठूलो पानीधारा पिपलतोली नै भएकाले रातदिन मान्छेको ओहोरदोहोर हुन्थ्यो । बजारका अल्लारे केटाहरू पनि त्यही बाटो हिँड्ने भएकाले के हुन्छ, कसो हुन्छ भन्ने डर नै हुन्थ्यो ।

समय बित्दै गयो । सुख,दुःख रमाइलो गर्दै सार्वजनिक छाउगोठमा बसेको ४ वर्ष भइसकेको थियो । एक पटक छाउ गोठमा बसेका हामी सबै जनालाई पेट दुख्न थाल्यो । म धेरै नै विरामी भएकी थिएँ । राती नै अस्पतालमा जानुपर्यो । केहि दिनपछि सञ्चो भएर घर फर्के । त्यही दिन मेरो मनमा एउटा साहस आयो । अबदेखि म छाउ भएको बेला गोठमा जान्न । २÷२ वटा घरको एक कोठामा छाउ भएको बेला बस्न दिएन भने बिद्रोह गर्छु भन्ने आँट पलायो ।

पुजा कोठामा नै जान देउ, भान्छा कोठामा नै जान देउ भन्ने मेरो माग थिएन । मात्र एक कोठामा सुरक्षित बस्न देउ भन्ने माग थियो । तर परिवारले नानाथरी कुरा सुनाउन थाले । गाउँलेले पनि तपाईहरूलाई देउता चाहिन्छ कि छोरी ? भनेर प्रश्न गरे ।

गोठमा नजाने बरु रातभर चिसोमा बाहिरै बस्ने चेतावनी दिएपछि भान्छा कोठामा खाट लगाएर बस्न दिने सहमती भयो । त्यो दिन मेरो खुशीको सीमा थिएन ।

भान्छा कोठामै बसेर छाउ बार्न थालेको करिब २ वर्ष बितेको थियो । त्यसबेला मैले भरखरै रेडियो अछाममा काम गर्न सुरु गरेकी थिएँ । मैले बिस्तारै आफ्नो कोठामा बस्न पाउनुपर्छ भन्ने माग गर्न थाले । अरुलाई सम्झाउन त्यति गाह्रो थिएन । हजुरआमालाई सम्झाउन निकै सकस भयो । म रेडियोमा बोल्ने मान्छे, मैले नै छाउ बारेको समाचार पढ्यो भने मेरो लाज होला कि नाईं ? मान्छेहरू के भन्लान ? आफै ठुला कुरा गर्छे, आफै छाउ बार्ने रैछ भनेर दुनियाँले कुरा काट्छन् । मेरो बारेमा तपाईं किन सोच्नु हुन्न ? भन्दै मम्मिलाई बारबार कुरा गरेपछि म आफ्नै कोठामा बस्न सफल भएँ । यो मेरो जीवनको सवैभन्दा ठूलो उपलब्धी हो ।

अछामलाई छाउले मात्र चिनाउने कि यसको अन्त्य पनि गर्ने हो भन्ने तर्फ ध्यान दिनुपर्छ । जिल्लामा कति शिक्षक छन्, कति कर्मचारी छन् ? कति नेता छन् ? कति जनप्रतिनिधि छन् ? कति अधिकारकर्मी छन् ? कति पत्रकार छन् ? र तिनीहरूको घरमा छाउ बार्ने अवस्था कस्तो छ भनेर बुझन् जरुरी छ ।

अछाम जिल्लामा २०६३ सालदेखि यता १२ जना महिलाले छाउ गोठमा ज्यान गुमाइसकेका छन् । यी त बाहिर खुलेर आएका घटना मात्रै हुन् । छाउ बारेकै कारण यसले शिक्षामा पारेको असर, स्वास्थ्यमा पारेको असर, मानसिकतामा पारेको असरका बारेमा पनि अब बहस हुन जरुरी छ ।

चिसो महिनामा झनै धेरै समस्या छ । घरबाट टाढा गोठ हुन्छ, सरसफाइका लागि पानी हुँदैन । धोएको लुगा सुकाउने ठाउँ हुँदैन । ओड्ने ओछ्याउने गतिलो कपडा हुँदैन । धुवाँ बाहिरा जाने ठाउँ समेत सहज हुँदैन । सुन्दा सामान्य लाग्ने धेरै समस्याहरू व्यहोर्नुपर्ने हुन्छ । निसासिएर, निमोनिया भएर, कठ्याङग्रीएर ज्यान गैरहेको छ । छाउ हुँदा आमा र बच्चाले दुधदहि खान नहुने भन्ने गलत मान्यताका कारण महिलाको स्वास्थ्य त खराब हुन्छ नै धेरै बालबालीका कुपोषणको शिकार बन्नुपरेको छ । कतिपय अवस्थामा महिला बलत्कारको शिकार हुनु परेको छ ।

समस्या छ भनेर चुप लाग्ने हो भने यो कुप्रथा हट्न अझै दशकौं लाग्न सक्छ । त्यसैले परिवर्तन आफैबाट सुरु गर्नुपर्छ । अछामलाई छाउले मात्र चिनाउने कि यसको अन्त्य पनि गर्ने हो भन्ने तर्फ ध्यान दिनुपर्छ । जिल्लामा कति शिक्षक छन्, कति कर्मचारी छन् ? कति नेता छन् ? कति जनप्रतिनिधि छन् ? कति अधिकारकर्मी छन् ? कति पत्रकार छन् ? र तिनीहरूको घरमा छाउ बार्ने अवस्था कस्तो छ भनेर बुझन् जरुरी छ

२०७५ साल भदौ महिनाबाट लागु हुने छाउपडि कुप्रथा ‘फौजदारी अपराध’ लाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्दछ ।

(पत्रकार ढुंगाना अछामबाट कान्तिपुर दैनिमा समाचारदाता हुनुहुन्छ)

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार छौँ । आफू जलेर आफ्ना चाहाना, खुशीहरुलाई

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: