–महिला खबर–
काठमाडौं । कवि तथा निबन्धकार सरस्वती प्रतीक्षाको उपन्यास ‘नथिया’ सार्वजनिक भएको छ । उपन्यासको प्रदेश नम्बर ७ की प्रदेशसभा सदस्य तथा बादी अगुवा उमादेवी बादीले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिन् ।
नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा भएको कार्यक्रममा प्रमुख अतिथि उमा बादीले सदियौंदेखिका समस्या र बाध्यता उपन्यासले उर्तान सफल भएको बताइन् । उनले बादी समुदायका पीडित महिलाको अवस्थालाई उपन्यास मार्फत उतारेर लेखकले ठूलो गुन लगाएको बताइन् । ‘नथिया’ बादी समुदायका लागि गीता, महाभारत जस्तै श्रद्धाको पुस्तक बनेको उनको भनाइ छ ।
कार्यक्रममा पत्रकार नारायण वाग्लेले उपन्यासमाथि टिप्पणी गर्दै ‘नथिया’ सरल भाषामा यथार्थलाई प्रस्तुत गरिएको कृति भएको भन्दै समकालीन आख्यानमध्ये उत्कृष्ट रहेको बताए । वाग्लेले उपन्यासले पुरुषले महिलामाथि गरेका शोषण र ज्यादतिलाई औपन्यासिक रुप दिएर ज्यादतिविरुद्ध बोल्ने साहस गरेको बताए ।
राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिम्सिनाले उपन्यासको कथा हृदयस्पर्शी रहेको भन्दै बादी महिलाको आँसु, कथित ठूलाबडाको ज्यादतीलाई सशक्त रुपमा प्रस्तुत गर्न उपन्यास सफल भएको बताइन् ।
उनले यथार्थ विषय लेख्ने हिम्मत थोरैले मात्रै गर्ने भएकाले बादी महिलाको कथालाई सरल र सहज रुपमा प्रस्तुत गरेको टिप्पणी गरिन् ।
कार्यक्रममा चलचित्र निर्देशक दीपेन्द्र के खनालले नथियामाथि चलचित्र निर्माण गर्ने घोषणा समेत गरे । उपन्यासले आफूलाई प्रभावित पारेको भन्दै खनालले त्यसैमाथि चलचित्र बनाउने सोच आएको बताए ।
उपन्यासकार प्रतीक्षाले दाङको पश्चिम उत्तर क्षेत्रमा अपहेलित बादी महिलाको कथालाई उपन्यासमार्फत प्रस्तुत गरेको बताइन् ।
२०३६ देखि २०४६ सालसम्मको बादी महिलाको कथालाई प्रस्तुत गर्नु सहज नभएको भन्दै उनले ‘नथिया’ ९५ प्रतिशत सत्य घटनामा आधारित रहेको बताइन् ।
गणतन्त्र घोषणापछि आफ्ना माग पूरा गराउन सिंहदरबारमा भित्री बस्त्रमात्रै लगाएर प्रदर्शनमा उत्रिएका बादी महिलाको कारण नै आफूलाई उपन्यास लेख्ने प्रेरणा दिएको उनको भनाइ छ । नथियाको प्रकाशन बुक हिलले गरेको हो ।
Comment Here!