बलात्कार, चित्कार र बिचौलिया


प्रकाशित मिति :2018-02-06 15:13:53

-हिसिला यमी-

सरकारी संयन्त्रहरूको कमजोरीका कारण नेपाल बिचौलियाहरूको चंगुलमा फँस्दै गएको छ । जनयुद्धताका जब महिलाहरूको सहभागिता बढ्न थालेको थियो, त्यतिखेर म माओवादी पार्टीको महिला विभागको प्रमुखको हैसियतले हर्षित थिएँ ।

किनभने उनीहरूको सहभागिताले जनयुद्धलाई साँच्चैको जनताको युद्धमात्र नभएर प्रतिक्रान्तिलाई रोक्ने हतियारसमेतका रूपमा हामीले बुझेका थियौं । उनीहरूको सहभागिताले मलाई के अनुभूति गराएको थियो भने यो पुरानो राज्यसत्ताको विघटन र विनाशको प्रतीक हो । किनभने महिला भनेको परिवारभित्रको आधारभूत समुदाय हो । स्थानीय निकायभित्रको आधारभूत जनता हो । र देशभित्रको आधारभूत नागरिक हो । त्यसैले लेनिन भन्ने गर्थे– देशको आधारभूत स्थिति बुझ्नका लागि महिलाको आधारभूत परिवेशबुझ्नुपर्छ । आज नयाँ संविधानले नयाँ राजनीति र राजनीति गर्ने पार्टी, नेतृत्व, संगठन, योजनाको माग गरिरहेको छ । के हामीले ती पाएका छौं त ?

आज आएर देशका विभिन्न भागमा महिलामाथि शृंखलाबद्ध ढंगले हँुदै आएको घरेलु हिंसा, बेचबिखन, बालविवाह, विदेश पलायन र बलात्कारका घटनाहरू सुन्दा यो देश अग्रगमन होइन, पश्चगमनतिर गएको भान हुन्छ । कुरा कहाँनेर छ भने पञ्चायतकालमा पनि महिलामाथि हिंसा, बलात्कार हुन्थ्यो । तर त्यतिबेला सबै पार्टी, भलै भूमिगत नै किन नहुन्, तिनका भगिनी संगठनहरूले एक भएर त्यसको विरोध गर्थे । कारण– त्यतिबेला सबैको शत्रु राजतन्त्र थियो, त्यसैले सबै एकै ठाउँमा गोलबन्द हुने गर्थे ।

तर आजका ‘शत्रु’ को हुन् रु आजको शत्रु पुराना नेतृत्व, पार्टी, संगठनको संरचना, सत्ताकेन्द्रित राजनीति, सत्ताकेन्द्रित योजना हो । त्यसैले यस्तो पेचिलो विषयमा तिनीहरू, तिनका भ्रातृ संगठनहरू प्रायस् मौन छन् । आज तिनीहरूले औंला ठड्याउँदा तीनवटा औंला आफूतिर सोझिन्छ भनेर चुप लाग्न थालेका छन् । अब शत्रु बाहिर होइन, भित्रै खोज्नु जरुरी छ ।

अब त देश झन्भन्दा झन् अस्थिर र परनिर्भर हुँदै गइरहेको छ । यस्तो बेलामा महिला हिंसाको विषय महिलाको मात्र सीमित र सरोकारको विषय बन्दैन । यो त देशको गरिबी, दुरवस्था र दिशाहीनताको प्रतीक हो । किनभने महिलामाथिको हिंसा भनेको अन्ततस् परिवार, समुदाय र देशमै बज्रिन आउँछ । जस्तै– घरभित्र एउटा निर्दोष महिला पिटिन्छिन् भने त्यसरी पिट्ने मान्छे हिंसकमात्रै होला रु सायद बेरोजगार होला, आफ्नो कामको हैसियत अनुसार दाम पाएन होला रु अर्थात् आफ्नो भविष्यप्रति चिन्तित पनि होला कि रु आफ्नी श्रीमती, बहिनी, दिदी, आमा, काकीलाई पिट्ने ती पुरुषले कालान्तरमा आफ्नो दाजु, भाइ, बुबा, हजुरबुबा, काकालाई पिट्न बाँकी राख्ला रु

आज आफ्ना देशका युवकमात्रै नभएर युवतीहरूसमेत विदेशमा पलायन भएका छन् । यो देशको गम्भीर परिस्थितिको द्योतक हो, किनभने आज प्रत्येक परिवार अधुरो भएको छ, न्यास्रिएको छ, नुन नहालेको तरकारीजस्तो भएको छ । र विखण्डनतिर गइरहेको छ । आज घरगाउँमा, सहरमा वृद्धाहरूमात्र बाँचिरहेका छन्, देशका नेताहरूमात्र बाँचिरहेका छन् । यहाँ उल्लेखनीय कुरा के छ भनेएउटा उच्चकोटीको कर्मचारीले बढो गर्वका साथ विदेशमा पढ्न गएको नेपालीलाई स्वदेश नफर्कनु भन्ने अर्ति दिन्छ । जबकि ऊ यो देशको स्थायी सरकारको प्रतिनिधि हो । यहाँका नेताहरू आफ्ना सन्तान र नातेदारहरू अमेरिका, युरोप, क्यानाडामा पलायन भएकोमा गर्व गर्छन् । जबकि नेताहरू आफैं जनताको लागि आशा–भरोसाको केन्द्र बन्नुपथ्र्यो ।

यहाँ बुझ्नुपर्ने कुरा के हो भने जुन गरिब देशमा महिलाहरू बलात्कृत हुन्छन्, त्यहाँ प्रकृतिको पनि बलात्कार हुन्छ । आज नेपालका वनपाखाहरू, नदीका बालुवाहरू, जंगलका जनावरहरू कोपरिएका छन् । जसरी बेपत्ता भएका बालबालिका, महिला तथा विदेशिएका पुरुषहरूको ठेगान राखिएको छैन, त्यसरी नै नेपालका सम्पदाहरू कति बाहिर गए, कति देशभित्रै बेचिए, त्यसको लेखाजोखा छैन । बलात्कार गर्ने भनेको यौन तृप्तिको प्रतीकमात्र होइन । कतिपय बलात्कारहरू राजनीति केन्द्रित, राज्यद्वारा निर्देशित, नश्लीय दंगाकेन्द्रित र धार्मिक दंगाकेन्द्रित पनि हुन्छन् । त्यस्ता संस्थागत बलात्कारको दूरगामी असर हुन्छ । संयोगवश नेपालको अहिलेको परिस्थितिमा भइरहेको बलात्कार यौनद्वारा निर्देशित देखिन्छ । तर यो शृंखला बढ्दै जाँदा बिचौलियाहरू संगठित भएर र विभिन्न पार्टीको संरक्षणमा आउँदा यसले पनि संस्थागत स्वरुप लिन पुग्छ । तसर्थ यस्तो हुनुभन्दा अगाडि नै आम जनता, राजनीतिक पार्टीहरू, अधिकारकर्मीहरू, भगिनी संगठनहरू र सम्बन्धित सरोकारवालाहरू सचेत हुन र संघर्ष गर्न जरुरी छ । नभए सिङ्गो देश नै बलात्कृत हुनपुग्छ ।

विश्वमा ‘मि टु’ अर्थात् ‘यौनजन्य पीडामा म पनि’ अभियान चलिरहेको बेला नेपालमा भने देखिनेगरी, घाइते हुनेगरी, मर्नेगरी खुलेआम महिलाहरूको अस्मिता लुटिएको छ । तर आफूलाई देशीय तथा अन्तरदेशीय महिलारपुरुष अधिकारकर्मीहरू, भगिनी संगठनहरू, नेतागण ठान्नेहरू प्रायस् सबै मौन छन् । अझ आफूलाई खाँटी क्रान्तिकारी भन्ने पार्टी र त्यसका भगिनी संगठनहरू कहाँ छन्  ? विशेषगरी अहिले उपत्यकाभित्रै शृंखलाबद्ध रूपमा भइरहेको बलात्कारका घटनाहरू उल्लेखनीय छन् । गएको मंसिर २ गते ललितपुरको गोदामचौर गाउँमा एउटा नवविवाहित महिला आफ्नो अफिसबाट घर फर्किरहेको मौका छोपी तीनजना पुरुषबाट सांघातिक हमलाका साथै बलात्कारसमेत भयो । तिनले किटानी जाहेर गर्दागर्दै पनि साथै मेडिकल रिपोर्ट नआउँदै ती तीनजना अभियुक्तलाई बिनाधरौटी साधारण तारेखमा छाडिएको छ । यो घटना नसेलाउँदै यही माघ ७ गते दरबारमार्गस्थित होटल ल्यान्डमार्कमा अर्को महिला सामुहिक बलात्कारमा पर्न गइन् । त्यस बलात्कारको घटनालाई मिलापत्र गराउनका लागि करिब ३० लाख रुपैयाँको चलखेल बिचौलियाबाट भइरहेको गन्ध आइरहेको छ । अचम्मको कुरा के छ भने दुवै घटनामा त्यहाँका स्थानीय प्रहरीहरूले पीडकलाई दण्ड दिनुको सट्टा मेलमिलाप गराउन खोजिरहेका छन् ।

नेपाल प्रहरीका अनुसार गएको तीन वर्षमा महिला र बालबालिकामाथि भएको बलात्कारको तथ्यांक वर्षेनि बढ्दै गएको देखिन्छ । २०७०र७१ सालमा ९ सय ८१ बलात्कारका घटना भएका थिए भने ०७२र७३ मा आएर त्यो १ हजार ८९ पुगेको छ । त्यसैगरी २०७३र७४ मा आएर बलात्कारको घटना १ हजार १ सय ३१ पुगेको छ । यो त प्रहरीलाई रिपोर्ट गरेको आधारमा तयार पारिएको तथ्यांकमात्रै हो । कतिपय घटनाहरू प्रहरीले नै स्थानीय रूपमा मेलमिलाप गर्न खोज्छ । कतिपय घटनामा त पीडितले वा उसको परिवारले रिपोर्ट नै गर्दैनन् । कतिपय यस्ता घटनाहरूमा संघ–संस्थाद्वारा सम्बोधन गरिएको हुन्छ, जो आधिकारिक तथ्यांकमा आइपुग्दैन । यहाँनेर के बुझ्नु जरुरी छ भने जनताको सचेतना बढेको कारणले पनि यस्ता घटनाहरूको रिपोर्टिङ भएकोले यो बढ्दै गएको देखिन सक्छ । तर रिपोर्टका आधारमा दण्ड–सजाय नपाउँदा पनि यस्ता अपराधले प्रश्रय पाउँदै गएको हुनसक्छ । तसर्थ देशमा यस्तो दण्ड–सजायको अभावमा लैङ्गिक हिंसाले अरू अन्य अपराधलाई समेत प्रोत्साहन गर्दै लैजान्छ भनेर हेक्का राख्नुपर्छ ।

सरकारी संयन्त्रहरूको कमजोरीको कारण आज नेपाल बिचौलियाहरूको चंगुलमा फँस्दै गइरहेको छ । अब त अभाव, अकर्मण्य, पीडा, चित्कारलाई व्यवस्थापन गर्नका लागि पनि बिचौलियाहरूको बिगबिगी बढ्न थालेको छ । सडकमा दुर्घटना हुन्छ, त्यहाँ बिचौलियाहरूले चलखेल गर्छन् । अस्पतालमा अकालमै मृत्यु हुन्छ, त्यहाँ बिचौलिया पुग्छन् । बलात्कार हुन्छ, त्यहाँ पनि बिचौलिया पुग्छन् । वैदेशिक रोजगारमा पठाउने संस्था पनि आफैं वैधानिक बिचौलिया बनेको जगजाहेरै छ ।

हाम्रो देश उत्तरमा एकातिर विश्वकै दोस्रो अर्थतन्त्र बनेको चीन र दक्षिणपूर्व तथा पश्चिममा आर्थिक रूपमा उदीयमान भारत रहेको छ । त्यसैलेनेपाल चुनौती सँगसँगै सम्भावनाको देश पनि हो ।

यो देशलाई सन्तुलित रूपमा हाँक्न सकियो रविधिमा लैजान सकियो भने बलात्कारजस्ता जघन्य अपराध पनि कम हुँदै जान्छन् । र भए पनि दण्ड–सजायको माध्यमबाट कुनै बिचौलिया सक्रियहुन पाउँदैनन् । कम्तीमा अहिले हामी सचेत हुनैपर्छ, ताकि हाम्रो देश आफैं बिचौलिया देशमा परिणत हुन नपाओस् ।
साभार : कान्तिपुर

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: