मुस्ताङमा ७० वर्षीया वृद्धा बलात्कृत
छ महिनामा झन्डै साढे पाँच सय बलात्कारका घटना
–महिला खबर–
काठमाडौं । मुस्ताङमा ७० वर्षीया वृद्धा बलात्कृत भएकी छिन् । वृद्धालाई बलात्कार गरेको अभियोगमा प्रहरीले घोरपझोङ गाउँपालिका–१ चिमाङका ३१ बर्षीय सुनबहादुर बिकलाई सोमबार पक्राउ गरेको छ ।
विकले मादक पदार्थ सेवन गरि सोही स्थानकी ७० वर्षीया वृद्धालाई जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिकलाई स्थानीयबासीले नियन्त्रणमा लिइ प्रहरीलाई बोलाएका थिए ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका इन्सपेक्टर मित्र आचार्यले महिला खबरसँग कुरा गर्दै जिल्ला अदालतबाट वि.कलाई म्याद थप गरि अनुसन्धान भइरहेको बताए । उनले भने, ‘वृद्धा विरामी रहेको बुझिएको छ । युवकले मादक पदार्थ सेवन गरेको बताएका छन् ।’ उनले युवकलाई जवरजस्ती करणी अन्र्तगत मुद्धा चलाउने तयारी भइरहेको बताए ।
नेपालमा बलात्कारका घटनाको तथ्यांक बढ्दो अवस्था छ । नेपाल प्रहरीको पछिल्लो तथ्यांक अनुसार ६ महिनाको अवधिमा पाँच सय २९ महिला एवम् बालिका बलात्कृत भएका छन् । आर्थिक वर्ष २०७४\७५ को साउनदेखि पुस महिनासम्मको प्रहरीको तथ्यांकलाई हेर्दा सबैभन्दा बढी साउन महिनामा १ सय ३१ जना महिला एवम् बालिकाहरू बलात्कृत भएका छन् । यस्तै भाद्र महिनामा ९७, आश्विन महिनामा ९३, कार्तिकमा ७६, मंसीरमा ६२ र पुसमा ७० जना महिला र बालिका बलात्कृत भएका छन् ।
Comment Here!