–महिला खबर–
काठमाडौं । महिलामाथि भइरहेको बलात्कार तथा यौनजन्य हिंसाका दोषीलाई कारबाही गर्न महिला अधिकारकर्मीहरुले प्रधानमन्त्रीसँग माग गरेका छन् ।
घटनाका पीडितलाई न्याय दिई र दोषीलाई गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै माग गरेका हुन् । नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमी, महिला शक्ति महासंघकी अध्यक्ष मनु हुमागाईं, महिला सुरक्षा दवाव समूहकी अध्यक्ष सावित्री थापा, पूर्वमन्त्री कल्पना धमला लगायका महिला अधिकारकर्मीहरुको टोलीले मंगलबार बालुवाटार पुगेर प्रधानमन्त्रीलाई ध्यानकर्षण गराएका हुन् ।
टोलीले केहि दिनअघि दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा भएको सामूहिक बलात्कार, ललितपुरमा एक युवतीमाथि भएको सामुहिक बलात्कार र पूर्वको ईटहरीमा भएको सामुहिक बलात्कारको घटनामा पीडित पक्षले प्रहरी समक्ष किटानी जाहेरी दिँदा दिदैँपनि प्रहरीले घटनालाई भित्रभित्र मिलाउने भूमिका खेलको भन्दै प्रधानमन्त्रीलाई ध्यानकर्षण गराएका थिए ।
ज्ञापनपत्रमा भनिएको छ, ‘उपत्यकाका मुटु मानिने काठमाडौं, ललितपुर र भक्तपुरमै बलात्कार जस्ता अतिनिन्दनीय र अपराधिक घटनाहरु हुन्छन् भने दुर्गम क्षेत्रमा महिलाको सुरक्षाको स्थिती कस्तो होला ।’
टोलीले महिला तथा बालिकामाथि हुने यस्ता निन्दनीय कार्यका दोषीलाई कारबाही गर्नुपर्ने तथा ललितपुर, दरबारमार्ग र इटहरीका घटनाको चाँडो भन्दा चाँडो छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन र पीडितलाई संरक्षण तथा उचित न्याय सहितको क्षतिपूर्ति दिलाउन समेत ध्यानकर्षण गराएको छ ।
Comment Here!