अष्ट्रेलियाको मेल्बर्न शहरका मेयर रबर्ट डोयलले आफूमाथि यौन दुराचारको आरोप लागेपछि मेयर पदबाट राजीनामा दिएका छन् ।
चौंसठ्ठी वर्षीय रबर्ट डोयललाई तीन जना महिलालाई यौन दुराचार गरेको आरोप लागेको छ । साथै उनले आफ्ना सहकर्मीको अनाधिकृत रुपमा स्तन छुने गरेको पनि आरोप लागेको छ । तर डोयलले यी आरोपहरूको कडासँग अस्वीकार गर्दै आएका छन् । डोयल अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नको तेस्रो कार्यकालका लागि सेवारत थिए ।
काउन्सिलर तेसा सुलिभानले आफूमथि डोयले अवाञ्छित टिप्पणी गरेको र अनाधिकृत रुपमा संवेदनशील अङ्गहरु छुने गरेको आरोप लगाइन्। त्यसपछि गत डिसेम्बरमा डोयल विदामा बसे । त्यसपछि उनलाई अर्को शहरको काउन्सिलरसहित अरु दुई महिलाले पनि यौन दुराचारको आरोप लगाए ।
डोयल भन्छन्, ‘यस्ता आरोपहरूले म अचम्मित भएको छु । ती सबै आरोप अस्वीकार गर्छु ।’
गत आईतबार डोयलका वकिल निक रस्किनले उनी निर्दोष रहेको दाबि समेत गरे । डोयलले मेल्बर्नस्थित सार्वजनिक स्वास्थ्य कम्पनिको अध्यक्षबाट पनि राजीनामा दिइसकेका छन् ।
घटनाका बारेमा मेल्बर्न शहर परिषद्ले अनुसन्धान गरिरहेको छ । साभार– बिबिसी
Comment Here!