अंशः छोराले मागे घरमै, छोरीले मागे अदालत


प्रकाशित मिति :2018-02-12 15:19:23

-कल्पना भट्टराई- 

ललितपुर । ललितपुरकी सानुमैया ताम्राकार (४५) ले दाजुभाइ सरह अंश पाँऊ भनि तीन वर्ष अगाडि जिल्ला अदालत ललितपुरमा मुद्दा हालिन् । जिल्ला अदालत ललितपुरले सानु मैयाले दाजु सरह अंश पाउने भनि फैसला गर्‍यो  । गएको असार १६ गते अदालतले बण्डा मुचुल्का गरि आमा मंगललक्ष्मी ताम्राकारको नाममा रहेको १३ कोठे घरलाई दाजु, भाइ र उनलाई गरि तीन भागमा बाडियो । सानु मैयाको भागमा रोड साइड अगाडिको दुइ सय ३४ स्क्वायर फुट जमिनमा रहेको घर पर्‍यो । सो घरको बजार मूल्य २ करोड रुपैयाँ रहेको छ ।
त्यसको १३ दिन पछि उनका दाजु सुरेश र भाइ सुरेन्द्रले अदालतले गरेको फैसला चित्त नबुझेकोे भन्दै ‘बण्डा मुचुल्का’ बदर गरिपाँऊ भनि जिल्ला अदालतमा निवेदन दिए । जिल्ला अदालतले पहिलेकै फैसलालाई सदर गर्‍यो । उच्च अदालतले पनि जिल्लाकै फैसलालाई सदर गरिदियो । त्यसपछि दाजुभाईले फेरि पुस २४ गते उनीहरूले सर्वोच्चमा बण्डा मुचुल्का बदर गरिपाँऊ भनि रिट हालेका छन् । सानुमैया भन्छिन्, ‘अदालतले न्याय दियो, तर आफ्नै दाजुभाइले दिन चाहेनन् । अब सर्वोच्चले के भन्छ, त्यसको जवाफ कुरेर बसेकी छु ।’ सानुमैयाले विवाह गरेकी छैनन् । उनका दाजु फर्निचर व्यवसायी र भाइ सिभिल इन्जिनियर हुन् ।

सानुलक्ष्मीकी आमाको मृत्यु भएको ९ वर्ष पुगेको छ । अदालतको फैसला पछि उनले घरको १३ वटा कोठा मध्ये एउटा मात्र प्रयोग गरेकी छन् । त्यति गर्दा समेत दाजुभाइले कोठाको बत्ती र धाराको समेत लाइन काटेर दुःख दिने गरेको उनले बताइन् । ‘दाजुभाईले घरको शौचालय पनि प्रयोग गर्न दिन्न् । गाली गलौज गर्छन्’ सानुलक्ष्मीले भनिन्, ‘अंश मुद्दा हालेपछि धम्की त कति हुन् कति । घरमा पनि बस्न दिएनन् ।’ अंश मुद्दापछि केही समय काम गर्ने विद्यालयमा नै बसेको पनि उनले बताईन् ।
‘पाएको अंशमा समेत दाजुभाइले शान्तिसँग बस्न दिँदैनन् । पैसा दिने त टाढाको कुरा’ सानुमैया भन्छिन्, ‘मासिक ६ हजार तलबले मात्रै कसरी गुजारा गर्ने ?’  ८ वर्षदेखि सनराइज इङ्लिस बोर्डिङ् स्कुलमा खाना पकाउने काम गरेकी सानुमैयाले मासिक ६ हजार रुपैयाँ तलब पाउँछिन् । उनले १० कक्षासम्म मात्रै पढेकी छन् ।

मुलुकी ऐन (एघारौ संशोधन),२०५८ को महल १३ को नं १ मा अंशवण्डा गर्दा यस महलको अन्य नम्बरको अधिनमा रहि बाबु, आमा, लोग्ने स्वास्नी, छोरा छोरीहरूको जीयाजीयैको अंश गर्नुपर्छ भनि उल्लेख गरिएको छ । नेपालको संविधान २०७२ को धारा १८ मा राखिएको समानताको हकको उपधारा ५ मा पैतृक सम्पत्तिमा लैंगिक भेदभाव बिना सबै सन्तानको समान हक हुनेछ भनिएको छ । तर, छोरीले अंश मागेपछि अदालतको ढोका ढकढकाउनु पर्ने बाध्यता छ । संविधान र कानुनमा लैंगिक भेदभाव बिना बराबर सम्पत्ति पाउने भए पनि परिवारले छोरीलाई अंश दिन नमान्दा समस्या भएको अधिवत्ता पूण्यशिला दवाडी बताउँछिन् ।

उदयपुरकी बिमला ढुंगाना पनि तिनै छोरी मध्येकी एक हुन् । २०५६ सालमा बुबासँग अंश मागिन् । बुबाले छोरीलाई सम्पत्ति नदिने भन्दै ठाडै इन्कार गरे । बुबाले सम्पत्ति नदिएपछि उनी अंशको हक माग्न जिल्ला अदालत उदयपुर गईन् । बिमलाको बुबाका दुई श्रीमती छन् । जेठीबाट उनी लगायत चार दिदीबहिनी छन् । ‘बुबाले सानैदेखि हामीलाई माया र रेखदेख गर्नुभएन’ बिमलाले भनिन्, ‘बुबाले सबै सम्पत्ति बेचेर बसाईसराई गर्ने निर्णय गरेपछि हामी दिदीबहिनीले बुबासँग सम्पत्ति माग्याै‌ ।’ तर बुबाले सम्पत्ति नदिने भन्दै ठाडै इन्कार गरेको उनले बताइन् । आपसी समझदारीमा बुबाले सम्पत्ति दिन नमानेपछि बिमला र उनकी बहिनी निलाले २०६३ सालमा जिल्ला अदालत उदयपुरमा अंश पाँऊ भनी मुद्दा दर्ता गराए । ‘बुबासँग सम्पत्ति माग्दा छोरीले पनि छोरा सरह सम्पत्ति पाउँछन् भन्ने थाहा थिएन्’ उनले भनिन्, ‘कानुनी प्रक्रियामा जाने निर्णय गरेपछि बल्ल थाहा पाएँ ।’ अंश मुद्दा हालेपछि बुबाले सात लाख ऋण लागेको भन्दै ऋण तिरेपछि मात्र सम्पत्ति दिने बताए । ‘अदालतले बाबुको ऋण छोरीले तिर्न नपर्ने भन्दै हामी दुई (बिमला र निला)को पक्षमा २०६५ सालमा फैसला गर्‍यो’ उनले भनिन् ।

बिमलाका बुबा सम्पत्ति नदिने भन्दै पुरावेदन अदालतसम्म गए । तर पुनरावेदनले पनि छोरीहरूको पक्षमा फैसला गर्छ भन्ने लागेपछि मुद्धा दर्ता नगराई फर्किएको निर्मलाले बताइन् । बुबाको चार विघा जग्गामा नौ अंश लाग्यो । जसमा कान्छी आमा र तीन छोरी, दुई छोरा, बुबा, बिमलाकी आमा, बिमला र निलाको बिचमा अंश बाँडफाँड भयो । २०६६ साल असारमा बिमला र निलाले १८ कठ्ठा जग्गा पाए । अंश पाउँदा निर्मला ३० र नीला १६ वर्षका थिए । ‘बुबाले दिन चाहेको भए त बेकारमा अदालतको झन्झट व्यहोर्नु पर्थेन । छोराले अंश र माया पाउँदा रहेछन । छोरीले माया पनि पाउँदैनन् अंश पनि’ उनले अनुभव सुनाइन् ।

बिमलाको जस्तै समस्या भोगेकी छिन्, काठमाडौं साँघुकी इनु थापाले । इनु २२ वर्षकी भइन् । उनकी आमा विमला थापा(४५) सुत्केरी भएर माइत गएको बेला बुवाले दोस्रो विवाह गरे । ‘बुवाले मामाघर गएर आमाको काखबाट दिदीलाई खोसेर ल्याउनु भयो र आमालाई कुटपिट गर्नुभयो’ इनुले भनिन् । त्यसपछि उनकी आमा, दिदी र उनलाई बुबाले रेखदख गरेनन् । इनुले स्नातक र उनकी दिदी बिनुले एमएससी पढिरहेका छन् । पढाइ खर्च मामाले बेहोरेको उनले बताइन् । बिनुले भनिन्, ‘आमाले एक फार्मेसीमा खाना पकाउने काम गर्नुहुन्छ । त्यत्तिले मात्रै हाम्रो खर्च चल्दैन ।’ दुई वर्षअघि आमा समेतलाई अंश माग्दै दिदीबहिनीले हजुरबुबालाई विपक्षी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराए ।
हजुरबुबाले जेठी बुहारी र दुई नातिनिलाई अशं नदिने मनसायले आफ्नो नाममा भएको ४ रोपनी जग्गा अर्को व्यक्तिलाई बिक्री गरि फेरि सोही जग्गा कान्छी पट्टीका दुई नातिका नाममा किनेका छन् । इनुका हजुरबुबाले सम्पत्ति नदिनका लागि जालझेल गरेपछि यो अंश मुद्दा लम्बिएको अधिवक्ता पूण्यशिला दवाडीे बताउँछिन् । मुद्दाबाट पछि हट्न भन्दै इनुलाई फरक फरक नम्बरबाट फोनमा धम्की आउने गरेको थियो । ‘मुद्दामामिला किन गरेको हो ? पछि समस्यामा परिएला । म अदालतको कर्मचारी हुँ’ भन्दै पछिल्लो पटक एक व्यक्तिले फोनमा धम्क्याएको उनले बताइन् ।

संविधानले दिएको अंशको अधिकार छोरीहरूले सहजै पाउन सकिरहेका छैनन् । संविधानले अंशका लागि छोरा र छोरीलाई समान अधिकार दिए पनि अधिकांश नेपाली आमाबुबाहरूले अंशको एकाधिकार छोरालाई मात्र दिएका छन् । संविधानले दिएको समान अधिकारको व्यवहारिक कार्यान्वयन हुन सके हरेक छोरीहरू सम्पत्तिका मालिक हुने र त्यसको उनीहरूको चौतर्फी विकासमा टेवा पुग्ने निश्चित छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: