–महिला खबर–
प्यूठान । आफ्नै भिनाजुले शरीर बन्धक बनाई बिहे गराइदिएकी एक बालिकाको प्रहरीले उद्धार गरेको छ ।
जिल्लाको दुर्गम गाउँमा १४ वर्षीया साली (बालिका)लाई आफ्नै भिनाजुले गाउँकै युवकसँग जर्वजस्ती बिहे गरिदिएर भोज खुवाउँदै गरेको अवस्थामा प्रहरीले मंगलबार राती १ बजे बालिकाको उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी राजेन्द्र पोखरेलका अनुसार दिदीको घर गएकी बालिकालाई भिनाजुले मंगलबार दिउसो बसमा चढाएर आउछु भन्दै लिएर गएका थिए । बीच बाटोमा पुगेपछि भिनाजुले म दिसा गरेर आउँछु, तिमी पर्खिराख भन्दै बाटोमा पर्खाएको र केही बेरपछि तीन जना अरु युवाहरु साथमा ल्याएर आए । भिनाजुले यो तिम्रो श्रीमान हो भन्दै एक युवकलाई देखाए । भिनाजुसहित तीन जना युवकले रोई कराई गर्दा समेत नमानेपछि बालिकालाई जर्वजस्ती धनबहादुरको घरमा तानेर लिए । घर पुगेपछि २० वर्षीय युवक धनबहादुर मस्र्याङ्दीसँग बालिकाको बिहे गराइदिए ।
बालिकाकी दिदीले राती माइतीमा फोन गरेर बहिनी पुग्यो कि पुगेन भनि फोन गरेर सोधेपछि घटना सार्वजनिक भएको प्रहरीको भनाइ छ ।
दिदीले सोधीखोजी गर्दा आफ्नै श्रीमानको पहलमा बालिका बहिनीलाई गाउँमै जर्वजस्ती सिन्दुर हालेर बिहे गराई भोज समेत खाएको कुरा थाहा पाएपछि माइतीमार्फत घटना प्रहरीले थाहा पाएको पनि डीएसपी पोखरेलले बताए ।
घटना थाहा पाउने बित्तिकै प्रहरी घटनास्थल पुगेको र राती १ बजे बालिकालाई युवकको घरबाट उद्धार गरि जिल्लामा ल्याएको प्रहरीको भनाइ छ ।
घटनामा संलग्न भिनाजुसहित बालिका बिहे गर्ने युवक र अन्य संलग्नको खोजी गर्न यतिबेला प्रहरी टोली गाउँमा पुगेको डीएसपी पोखरेलले महिला खबरलाई टेलिफोन मार्फत जानकारी दिए ।
बालिकाको शरीर बन्धन बनाइ जर्वजस्ती बिहे गराइदिने बिरुद्ध के कस्तो मुद्दा चलाउने भन्ने बारेमा प्रहरीले सरकारी वकिलसँगको सल्लाह लिई अघि बढ्ने प्रहरीले बताएको छ ।
Comment Here!