गुटबन्दीको सिकार भएँ : अष्टलक्ष्मी शाक्य


प्रकाशित मिति :2018-02-15 11:10:32

एमाले उपाध्यक्ष एवं प्रदेश ३ की संयोजक अष्टलक्ष्मी शाक्य प्रदेश सभा निर्वाचनमा निर्वाचित भएसँगै धेरैले उनी सो प्रदेशको मुख्यमन्त्री बन्ने आकलन गरेका थिए । शाक्य आफैँ पनि यसमा ढुक्क थिइन् । तर, एमालेले आन्तरिक निर्वाचनद्वारा संसदीय दलको नेता चयन गर्ने निर्णय गर्‍यो । निर्वाचनमा उपाध्यक्ष शाक्य अर्का प्रदेश सांसद डोरमणि पौडेलसँग पराजित भइन् । र, उनको मुख्यमन्त्री बन्ने बाटो पूर्ण रूपमा बन्द भयो । पराजित भएसँगै शाक्यले आफूलाई पार्टी अध्यक्षले जालझेल गरेर हराएको आरोप लगाउँदै आएकी छिन् । प्रदेश ३ को मुख्यमन्त्री चयन, शाक्य पराजित हुनुको कारण, उनले अध्यक्षमाथि लगाएका आरोपलगायतका विषयमा शुरोजंग पाण्डेले उपाध्यक्ष शाक्यसँग गरेको कुराकानीको सम्पादित अंश :

प्रदेश सभा संसदीय दलमा पराजित भएलगत्तै तपाईंले पार्टी अध्यक्षले धोका दिनुभयो, चरम गुटबन्दी गर्नुभयो भन्नेजस्ता आरोप लगाउनुभयो । यसका आधार के हुन् ?

दलको नेता चयन गर्ने अघिल्लो दिन अध्यक्षले मलाई छलफलका लागि संसदीय दलको कार्यालय सिंहदरबारमा बोलाउनुभयो । त्यहाँ अत्यन्त सहज वातावरणमा कुराकानी भयो । उहाँले स्थिति के छ भनेर सोध्नुभयो । मैले स्थिति अत्यन्त राम्रो छ, ठीक छ, म जित्छु भनेँ । उहाँले हार्नेगरी उठ्न हुन्न भन्नुभयो । म हार्दै हार्दिनँ, तपाईंले साथ दिनुपर्छ, सबै साथीले तपाईं उपाध्यक्ष, प्रदेश प्रमुख र धेरै सिनियर भएकाले, समावेशिताका हिसाबले पनि तपाईंको उम्मेदवारी उपयुक्त हुन्छ भन्नुभएको छ भन्ने कुरा जानकारी गराएँ । यो कुरा सुनेर उहाँले त्यसो भए उठ्नुस् भन्ने सुझाब दिनुभयो । अध्यक्षले नै यति भनिसकेपछि उहाँको सहयोग हुनेमा आश्वस्त भएँ । त्यसपछि सभामुख कसलाई बनाउने नाम दिनु भनेर अनुरोध गरेँ । उहाँले सल्लाह गरेको छैन बेलुकी फोन गर्छु भन्नुभयो । उहाँको यो वचनपछि म आश्वस्त थिएँ । तर, राति अबेरसम्म कुर्दा पनि उहाँले फोन गर्नुभएन । राति १२ बजेसम्म कुर्ने कुरा भएन । भोलिपल्ट आफ्नै ढंगले तयारीमा लागेँ । तर, मैले त्यही साँझ नै सबै माननीयलाई विभिन्न होटेलमा राख्न थालिएको सूचना थाहा पाएँ । यो सूचनाले म सशंकित थिएँ । सांसदहरूलाई किन थुन्नुप¥यो ? स्वस्थ प्रतिस्पर्धा भएको अवस्थामा जित्ने कुरामा कुनै द्विविधा थिएन । किनभने, कुराकानी गर्दा सबै साथीहरूको सहानुभूति र समर्थन प्राप्त गरेकी थिएँ । तर, सबै माननीयलाई होटेलमा थुनेर भोलिपल्ट एकैपटक मतदानस्थलमा लैजाने तयारी भएको सूचनापछि मलाई के गर्न खोजेको होलाजस्तो लागेको थियो ।

घरबाट बोलाएर होटेलमा राख्ने, फलानोलाई मत नहाल्ने भन्ने उर्दी जारी भएको कुरा आयो । छक्क परेँ । किन यस्तो आतंक मच्चाएको होला जस्तो लाग्यो । सोचेकी थिएँ– अध्यक्षले नै उठ्नुस् भनेपछि त मलाई नै सहमति दिएको हो, अर्को व्यक्ति नउठाउने होला । तर, बेलुकी अध्यक्षकै निवास बालकोटमा बसेर निर्णय भएको थाहा पाएँ । मैले स्थायी समितिमा भनेँ, बालकोटमा बैठक बस्नुभएछ, त्यो बैठकमा मलाई पनि बोलाएको भए हुन्थ्यो नि त अध्यक्षज्यू ! त्यसैले, परिणामलगत्तै मलाई बालकोटको गुटबन्दीले सिध्यायो भनेकै हो । मैले के गल्ती गरेँ ? सबै कुरा तथ्य र प्रमाणसहित बोलेकी छु ।

‘उठ्नुस्, मेरो समर्थन छ’ भन्दाभन्दै तपाईंलाई हराउन अध्यक्षले किन त्यस्ता क्रियाकलाप गर्नुभएको जस्तो लाग्छ ?

मैले त अध्यक्षबाट छलछामको राजनीति होला भन्ने अलिकति पनि सोचेकी थिइनँ । किनभने मेरो स्वभाव, शैली, काम गराइ सबै उहाँलाई थाहा थियो । प्रदेश प्रमुख भएपछि स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा बहुमत सिट जिताउने कामको नेतृत्व गरेकी थिएँ । त्यसैले अरू कारण होलाजस्तो लाग्दैन । मेरो त्याग छैन भने भन्नुपर्ने हो, दुःख गरेको छैन भने पनि थाहा हुनैपर्ने हो । बेइमान भए पनि भन्नुपर्ने हो । त्यसैले कुनै कारण थिएन ।

मैले भनेँ, मलाई किन हराइयो अध्यक्षज्यू ? जवाफ चाहियो । दुनियाँलाई के जवाफ दिऊँ ? आफैँलाई लाज लागिरहेको छ भनेर मैले स्थायी कमिटीको बैठकमा भनेकी हुँ । तर, उहाँले राम्रोसँग जवाफ दिनुभएन । लोकतन्त्रमा चुनावमा जान्छु भनेकाले मैले तपाईंलाई उठ्नुस् भनेँ, तर पराजित भइसकेपछि ममाथि खनिन कसरी मिल्छ, भन्नुभयो । मैले लोकतान्त्रिक प्रतिस्पर्धा मानेर, चुनावमा गएँ, हारजित भयो, परिणाम पनि स्वीकार गरेँ । तर, लोकतन्त्रको नाममा सांसदलाई धम्क्याउने, थुन्ने गर्न पाइन्छ ? के मैले सबै प्रमाण दिऊँ ? म सबै प्रमाण पेस गर्न सक्छु भनेपछि अध्यक्ष बोल्दै बोल्नुभएन ।

यो अस्वस्थ प्रतिस्पर्धाले एमालेभित्र के संकेत गरेको छ जस्तो लाग्छ ?

पार्टीमा विचार, विधि र प्रणाली क्रमशः कमजोर हुँदै गएको मैले महसुस गरेकी छु । पार्टी कम्युनिस्ट पार्टीजस्तो भएन, रहेन । एकल प्रणालीबाट सञ्चालित भएको देखियो । मुख्य व्यक्तिले जे भने पनि मान्नुपर्ने, छलफल केही पनि गर्नु नपर्ने अवस्था सिर्जना भयो । अब यसबारे बारम्बार कुरा उठ्नेछ । प्रदेश संसदीय दलको नेता र मुख्यमन्त्रीका बारेमा मैले स्थायी कमिटीमा हामी संघीयताको पहिलोपटक अभ्यास गर्दै छौँ, यो नयाँ अनुभव पनि हो, त्यसैले कसलाई मुख्यमन्त्री बनाउने ? प्रदेश कसरी चलाउने भन्ने विषयमा बारम्बार छलफलका लागि अनुरोध गरेँ । तर, कुनै सुनुवाइ भएन । प्रदेशका विषयमा स्थायी समिति कहिल्यै गम्भीर भएको मैले अनुभूति गरिनँ । त्यसैले विचार, विधि, प्रणाली कमजोर हुँदै गएपछि, गुटबन्दी चर्किएपछि त्यसको सिकार म भएँ ।

चुनावका वेला प्रदेश सभा र प्रतिनिधिसभामा नाम प्रस्ताव गर्ने काम मेरो थियो । त्यसवेला अष्टलक्ष्मीले माधव नेपाल पक्षधरको नाम लगेर गुटबन्दी गरेको कुरा पनि आयो । यदि साँच्चै गुटबन्दी गरेको भए मैले त्यसवेला सबै जित्नसक्नेहरूको मात्र नाम लान पनि सक्थेँ । लडेर, बाझेर, टेबुल ठोकेर यो नाम हुनैपर्छ भन्न पनि सक्थेँ होला । तर, पार्टी बलियो बनाउन, सबै सन्तुलन मिलाउन त्यस्तो गर्न चाहिनँ । त्याग, योगदानको मूल्यांकन हुनुपर्छ, पार्टीले काठमाडौंसहित सबैतिर जित्नुपर्छ, बहुमत ल्याउनुपर्छ र यसका लागि सबैलाई समेट्नुपर्छ भन्ने मान्यताका आधारमा काम गर्नु नै आज गलत साबित भएछ भन्ने मलाई अनुभूति भएको छ । ईश्वर कमरेडलाई जिताउन उहाँले भनेकै नाम बैठकबाट पास भयो, माधव कमरेडलाई जिताउन त्यसै गरियो । मैले केही पनि दायाँबायाँ गरिनँ । त्यसैगरी, अरू नेताले जित्ने गरी टिकटको निर्णय गर्ने कुरा हुँदा मैले कुनै प्रतिवाद गरिनँ । तिनै नामका व्यक्तिले जितेर आउनुभयो, उहाँहरूलाई नै गुटबन्दीमा सामेल गराएर मलाई हराउने काम गरियो ।

एमालेले समावेशितालाई प्राथमिकता दिएर जनजातिलाई सभामुख, उपसभामुख, दलितलाई राष्ट्रिय सभा उपाध्यक्ष, महिलालाई सर्वसम्मत राष्ट्रपति बनायो । तर, त्यही एमालेले पहिलो महिला मुख्यमन्त्री बनाउने अवसर गुमाएर के सन्देश दिएको हो जस्तो लाग्छ ?

त्यही त मैले केही पनि बुझ्न सकिनँ । किन यति सारो गर्नुपथ्र्यो, यसले के फाइदा पुग्थ्यो ? तपाईंले भनेजस्तै सात प्रदेशमध्ये एउटा प्रदेशमा महिला मुख्यमन्त्री बनाएर नयाँ सन्देश दिन सकिन्थ्यो । पार्टीको प्रतिष्ठा नै बढ्थ्यो होला । तर, किन चाहेन, गहिरिएर बुझ्न सकेको छैन । किनभने मैले त्यस्तो कुनै कारण नै पत्ता लगाउन सकिरहेकी छैन । अयोग्य भएको भए अध्यक्षले सीधै तपाईं नउठ्नुस्, समर्थन गर्नै सक्दिनँ किन भन्नुभएन ? मलाई उठ्नुस् भन्ने, लगत्तै भेला गर्ने, अष्टलक्ष्मीलाई हराउन आदेश दिनेजस्ता कुरामा अरू के कारण हुन सक्छ र ?

तपाईंकै कुराअनुसार अध्यक्षले जित्ने चुनाव उठ्नुस् भन्नुभयो । तर, उहाँले छुट्टै भेला गर्दागर्दै, अर्को उम्मेदवार खडा गर्न लागेको थाहा पाउँदापाउँदै पनि तपाईं प्रतिस्पर्धामा जानुभयो । यसको मतलब तपाईं जस्तोसुकै परिणाम पनि स्विकार्छु भन्ने मनस्थितिमा हुनुहुन्थ्यो कि त्यति थाहा पाएपछि पनि जितिन्छ भन्नेमा ढुक्क ?

मलाई हार्छु भन्ने लागेकै थिएन । स्वतन्त्र ढंगले छाडेको स्थितिमा मैले राम्रै मतका साथ जित्थेँ । हस्तक्षेप गरिएपछि भित्रभित्र शंकाचाहिँ लागिसकेको थियो । तर, किन अन्तिममा ब्याक हुने ? त्यो परिणामले व्यक्तिगत रूपमा मलाई मात्र नोक्सान हुने पनि होइन, सिंगै पार्टीलाई हुने हो । अन्तिममा आएर फिर्ता लिँदा त डराएको सन्देश जान्थ्यो । म पार्टीको उपाध्यक्ष पनि भएकाले नेतृत्वले चाहेको भए अन्तिमसम्म पनि कुनै न कुनै निर्णय दिनसक्थ्यो पनि । मतदान सुरु भएपछि पनि निर्णय हुनसक्थ्यो । म किन ब्याक हुन्थेँ ? त्यसैले अन्तिममा जे परिणाम आए पनि स्विकार्छु भन्ने लाग्यो । धेरैको सहानुभूति रहेकाले गुटबन्दीका नाममा पूरै निषेध गरिन्छ होलाजस्तो पनि लागेको थियो । लाइन बस्नुअघि, बस्दाबस्दै पनि कतिपय जनजाति र महिला साथीहरूले अरू जे भए पनि तपाईं नै हो, यो प्रदेशमा तपाईंकै आवश्यकता छ भन्नेहरू पनि थुप्रै थिए ।

तपाईंले पार्टी अध्यक्षमाथि मात्र आरोप लगाउनुभयो । पार्टी प्रमुख भइसक्नुभएका झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेलगायतका शीर्ष नेताहरू पनि हुनुहुन्छ । के सर्वसम्मत नगरी चुनाव गराउनुमा अरू नेताको दोष चाहिँ देख्नुहुन्न ?

मैले मुख्यमन्त्रीका लागि आन्तरिक निर्वाचन गर्नुहुन्न भन्दै आएँ । शंकर पोखरेल ५ नम्बरमा आफ्नै हिसाबबाट सर्वसम्मत भए पनि राम्रै भयो । त्यसपछि मैले पहिलो अभ्यासमा जान लागेकाले निर्वाचन गर्दा दुई पक्षमा विभाजन हुन्छ भनेर अडान राखेँ । विभाजित हुनेबित्तिक्कै सुरुदेखि नै काम गर्न असहज हुन्छ भनेकी हुँ । त्यसैले स्थायी कमिटीबाटै कहाँ, कसलाई ल्याउने हो सर्वसम्मत गरौँ भन्ने प्रस्ताव पनि राखेँ । तर, त्यसमा शीर्ष नेताहरू कसैले पनि चासो राख्नुभएन । खाली लोकतान्त्रिक विधिमा किन डराउने भन्ने मात्र कुरा आयो ।

यसमा अरू नेता दोषी हुनुहुन्न ?

अरू नेताहरू पनि दोषी हुनुहुन्छ । अध्यक्ष मुख्य दोषी हुनुहुन्छ । अरू पनि मुछिनुभएको छ । मेरो प्रस्तावमा स्थायी समितिमा गम्भीरतापूर्वक छलफल नै भएन ।

परिणामलगत्तै तपाईंले अब प्रदेश सरकार, पार्टी कसरी सञ्चालन होला, हेरौँला भन्ने प्रतिक्रिया दिनुभयो । मुख्यमन्त्रीको शपथमा सहभागी नै नभई काठमाडौं फर्किनुभयो । तपाईंको यस्तो शैलीलाई लिएर कतिपयले लोकतान्त्रिक अभ्यास स्वीकार गर्न नसकेको भन्दै आलोचना पनि गरेका छन् नि ?

मुख्यमन्त्रीको शपथबारे कसैलाई पनि थाहा छैन । यो दिन शपथ होला भनेर सांसदहरूलाई नै थाहा भएन । त्यसैले कति सांसदहरू फर्किसकेपछि मात्र मुख्यमन्त्री बन्ने प्रक्रिया सुरु गर्ने कुरा बेठीक छ । सबैलाई वेलैमा जानकारी दिनुपथ्र्यो । दोस्रो कुरा, भोलिपल्ट स्थायी समिति बैठक भएका कारण म उपसभामुखको निर्वाचनकै दिन काठमाडौं फर्किएँ । किनभने पीडा भइरहेकाले मलाई स्थायी समितिमा आफ्ना कुरा राख्नु थियो । तर, मुख्यमन्त्रीको शपथबारे मलाई मात्र होइन, अरू धेरै सांसदलाई कुनै जानकारी छैन । प्रदेश कसले, कसरी चलाउला भन्नुभन्दा पनि डोरमणिजीसँग मैले रिसइबी देखाउनुपर्ने कुनै कारण नै छैन । उहाँसँग त मैले सहज रूपमा कुराकानी गरेकी छु । चुनाव जितिसकेपछि उहाँले भेटेर कुरा गर्ने प्रस्ताव राख्नुभयो । हुन्छ भनेर मैले उहाँलाई बागबजारमा बोलाएर कुरा गरेँ । चुनावअघि पनि उहाँले भेटेरै तपाईं आउने हो भने मेरो दाबी रहन्न, मलाई पनि तपाईंको टिममा बसेर काम गर्ने रहर छ, सहज हुन्छ भन्नुभएको थियो । मैले तपाईंजस्तोे व्यक्तिले भन्नुपर्ने नै थिएन, हामी टिम मिलाएर र मिलेर काम गर्ने हो, टिममा बस्नुपर्छ भनेर कुरा भएको हो । बरू उहाँले तपाईं आउने हो भने कसैले दाबी गर्नुहुन्न, राजेन्द्र पाण्डेले पनि गर्नुहुन्न भन्नुभएको थियो ।

निर्वाचन जित्नेबित्तिकै मैले डोरमणिजीलाई बधाई दिएकी छु । अहिले पनि सोधिरहनुभएको छ । पहिलोपटक सांसदमा निर्वाचित भएकाले धेरै कुरा थाहा पनि छैन, मैले यसरी काम गर्नुपर्छ भनेर बताइरहेकै छु । मेरो आपत्ति अध्यक्ष, शीर्ष नेता र स्थायी समितिप्रति हो । वरिष्ठ नेताहरूले पनि गुटबन्दी गर्नुभयो त भन्दिनँ, किनभने माधव कमरेड त्यसवेला धनगढी हुनुहुन्थ्यो । तर, उहाँले पनि गम्भीरतापूर्वक लिनुभएन । म प्रदेश प्रमुखको हैसियतमा गम्भीर छु । राजनीतिक गफले मात्र प्रदेशमा विकास हुँदैन । हामीले नमुना विकसित प्रदेश बनाउन खाका पनि बनाइरहेका छौँ । संयोजकको हैसियतमा म प्रतिबद्ध भएर लाग्नेछु । मुख्यमन्त्रीले पनि काम कसरी गर्ने समन्वय गर्नुपर्छ ।

दुईजना मन्त्री नियुक्त भइसक्नुभयो । तपाईंसँग परामर्श भएको छ कि छैन ?

यस विषयमा मुख्यमन्त्रीले परामर्श गर्नुभएको छैन । को–को मन्त्री भए भन्ने कुरा शपथग्रहणपछि मात्र थाहा पाएँ । पार्टीको प्रदेश प्रमुख म हुँ, केही पनि थाहा छैन ।

माधव नेपाल समूह मन्त्रिमण्डलमा सहभागी हुन तयार छैनन् भनिन्छ नि ?

मनस्थिति बनाउने, नबनाउने कुरै होइन । कामै एकपक्षीय भइरहेको छ । मैले जे नहोस् भन्ने चाहेकी थिएँ, त्यही भइरहेको छ । अहिले पनि भन्छु, सबैलाई समेटेर लैजानुपर्छ । हामी विभाजित मनस्थितिका साथ अघि बढ्यौँ भने गर्न सकिने काम पनि केही पनि हुने छैनन् । किनभने हामी मात्र प्रदेश सभामा छैनौँ, अरू दलका साथीहरू पनि छन् । बहुमत ल्याएका कारण सबैलाई समेटेर लाने दायित्व हामै्र हो । तर, हाम्रै (५८ जना) सांसद विभाजित भएपछि र एउटा पक्ष एकलौटी ढंगले अघि बढेपछि स्थिति के हुन्छ ?

प्रदेश सभामा पार्टीका पोलिटब्युरो तहका सिनियर नेताहरू पनि हुनुहुन्छ । मुख्यमन्त्रीले सल्लाह गर्नुभयो भने के तपाईं ती सिनियर नेताहरूलाई मन्त्रिमण्डलमा पठाउन तयार हुनुहुन्छ ?

त्यसमा त छलफल गर्नुपर्छ । पशुपतिजी, अरुण, माधव पौडेल, राजेन्द्रमान हुनुहुन्छ । यस्ता कुरामा बसेर सल्लाह गर्नुपर्छ । तर, आफ्नो खुसीले चलेर त कसरी हुन्छ र ? पहिलो अभ्यासमा छौँ, के गर्दा उपयुक्त हुन्छ ? पहिला त बसेर छलफल गर्न तयार हुनुपर्‍यो नि । हाम्रो बहुमत छ । दुई पार्टी एकता हुँदै छ । यस्तो वेलामा पनि संकीर्ण बनेर, गुटबन्दी गरेर कसरी चल्छ ?

अहिलेसम्म समन्वय नभएको कुरा गर्नुभयो । मुख्यमन्त्री संसदीय दलको नेता पनि हुनुहुन्छ । सरकार र संसदीय दल समन्वयविना चलाउन थाल्नुभयो भने उहाँलाई प्रदेश प्रमुखको हैसियतमा कुनै एक्सन लिनुहुन्छ त ?

उहाँलाई एक्सन लिने कुरा अहिले नगरौँ । त्यसरी जानु पनि उपयुक्त हुँदैन । समझदारी र समन्वय गरेरै अघि बढ्नुपर्छ । मुख्यमन्त्रीलाई फोन गरेर भनेकी छु कि अब तपाईंले पार्टीको प्रदेश कमिटीसँग समन्वय गरेर काम गर्नुपर्छ । बरू कुनै अप्ठ्यारो छ भने भन्नुस् । प्रदेशको निर्णयविपरीत चल्नु हुँदैन । उहाँ सरकार प्रमुख हो । सरकार पार्टीसँगको समन्वय र संयोजनमा चल्ने गर्छ । केन्द्र सरकार होस् या प्रदेश सरकार पार्टीलाई बाइपास गरेर चल्नै सक्दैन । त्यसैले उहाँले संयोजन गर्नुभयो भने मैले साथ दिनैपर्छ । उहाँ संयोजनकारी भूमिकामै अघि बढ्नुहुनेछ भन्नेमा म विश्वस्त छु ।

साभार : नयाँपत्रिका

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: