–महिला खबर–
ललितपुर । सोलुखुम्बुकी मनकुमारी आफ्नै काकाबाट बलात्कार भईन् । केही समयपछि गर्भवती भएको थाहा पाएपछि उनी एक गैरसरकारी संस्थाको पहलमा राजधानीकै एक सुरक्षित आवास गृहमा बसिरहेकी छन् । उनले जन्माएको शिशु अहिले बालमन्दिरमा पठाइएको छ । उनी स्कुल पढ्दैछिन् । जिल्लामा आफन्त सम्पर्कमा नभएकाले कानुनी प्रक्रिया केही पनि अघि बढेको छैन ।
नवलपरासीकी १८ वर्षीया रमिला आफ्नै बाबुबाट बलात्कार भईन् । उनको मुद्दा अहिले काठमाडौं जिल्ला अदालतसम्म पुगेको छ । धादिङकी २५ वर्षीया रामकुमारी कान्छा ससुराबाट बलात्कार भईन् ।
धामी भन्दै बिरामी भएका बेला झारफुक गर्ने बहानामा उनी कान्छा ससुराबाट बलात्कृत भइन् । बलात्कारपछि कान्छा ससुरा फरार छन् । पीडितलाई समाजले नराम्रो गरेपछि उनी पनि अहिले घर छोडेर आश्रयस्थलमा बस्छिन् । फरार भनिएकालाई प्रहरीले अझै नसमातेकोमा उनी चित्त दुखाउँछिन् ।
नेपाल प्रहरीको तथ्यांकमा बलात्कारका घटना बर्षेनि बढिरहेका छन् । नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२\७३ मा जबर्जस्ती करणीका एक हजार ८९ वटा घटना भए । आर्थिक वर्ष २०७३\७४ मा एक हजार एक सय ३९ वटा घटना भएका छन् ।
बलात्कारका घटनाको संख्या बढेको बढ्यै छ । तर पीडितले न्याय पाएको महसुस गरेका छैनन् । बलात्कारी भन्दा बलात्कृत महिलाहरू गाउँ समाजबाट बहिस्कृत छन् । बलात्कृत महिलालाई न्याय दिनुपर्ने समाजले उल्टै तिमी किन बलात्कृत भएको भन्दै प्रश्न गरेका सयौं घटना छन् । कारण बलात्कृत महिलाले उल्टै समाजका प्रश्नहरूको सामना गर्दै कष्टदायी जीवन जिउनुपर्ने बाध्यता छ ।
अधिकांश बलात्कारका घटनाको अनुसन्धान फितलो हुँदा पीडितले न्याय पाउन सकेका छैनन् । बलात्कारका घटना बढ्दो तर अनुसन्धान पद्धति फितलो किन ? बलात्कार घटनाको अनुसन्धान पद्धति कसरी प्रभावकारी बनाउने त ? यसै विषयमा छायाँकन गरिएको समकोण आज बेलुका ९ बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण हुनेछ ।
(माथि उल्लेख गरिएका बलात्कृत महिलाको नाम परिवर्तन गरिएको छ ।)
Comment Here!