–महिला खबर–
काठमाडौं । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव राधिका अर्यालले एकल महिला सुरक्षा कोषको रकम लिने प्रक्रिया झन्झटिलो भए सरल बनाउन सकिने बताएकी छन् ।
मानवअधिकारका लागि महिला एकल महिला समूह र अक्सफामको संयुक्त आयोजनामा काठमाडौंमा भएको एक दिने राष्ट्रिय कार्यशाला गोष्ठिमा बोल्दै सहसचिव अर्यालले भनिन् ‘यदी एकल महिलालाई एकल महिला सुरक्षा कोषको रकम झिक्न झन्झटिलो भए छलफल गर्न सकिन्छ, सरल गर्न सकिन्छ ।’ अर्यालले देश संघीया संरचनामा प्रवेश गरेको भन्दै मन्त्रिमण्डल विस्तारसँगै कोषको विषयमा थप छलफल गर्ने बताइन् ।
कार्यक्रममा मानवअधिकारका लागि महिला एकल महिला समूहकी संस्थापक अध्यक्ष लिली थापाले एकल महिला सुरक्षा कोषको वर्तमान स्थितिको बारेमा जानकारी गराउँदै उक्त कोषलाई ट्रष्टको रुपमा विकास गर्नुपर्ने बताइन् ।‘यो कोषलाई ट्रष्टको रुपमा विकास गर्न सकिन्छ । यसबाट आउने व्याजबाट नेपाल भरिका एकल महिलालाई सहयोग गर्न सकिन्छ’ उनले भनिन् । थापाले एकल महिलाहरूले कोषको रकम लिन ५० लाखको उपचार खर्च जसरी लामो प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता रहेको बताइन् । झन्झटिलो प्रक्रियाकै कारण ३-४ वर्षको अवधिमा समेत कोषको रकम ५० हजार रुपैयाँसम्म पनि प्रयोग हुन नसक्ने अवस्थामा पुगेको बताइन् ।
कार्यक्रममा सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुरका महिला बालबालिका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले जिल्लामा एकल महिला सुरक्षा कोषको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा एकल महिला समूहकी निजा सिलवाल र अधिवक्ता पून्यसिला दवाडिले नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको एकल महिला सुरक्षा कोषको, नागरिकता एवम् व्यक्तिगत घटना दर्ता सम्बन्धि वर्तमान स्थितिको बारेमा जानकारी गराएका थिए । सो अवसरमा सहभागि एकल महिलाले झन्झटिलो प्रक्रियाकै कारण एकल महिला सुरक्षा कोषको रकम लिनबाट आफूहरू बञ्चित हुनुपरेको गुनासो गरेका थिए ।
कार्यक्रममा एकल महिला सम्वन्धि बनाइएको एप्स ‘थाहा छ’ का बारेमा एकल महिलालाई जानकारी गराइएको थियो । सो अवसरमा एकल महिला सुरक्षा कोष पुस्तिका समेत बिमोचन गरिएको थियो ।
समूहकी अध्यक्ष निर्मला ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा समूहकै राजिन रायमाझीले कार्यक्रमको उदेश्यका बारेमा जानकारी गराएकी थिइन् । गोष्ठिमा काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट र सिन्धुपाल्चोकका एकल महिलाहरूको सहभागिता रहेको थियो ।
Comment Here!