किन खस्छ पाठेघरको भित्ता ?


पाठेघरको शल्यक्रिया पछिको असर

प्रकाशित मिति :2018-02-18 14:25:34

-सर्मिला बुढाथोकी-

दोलखा । दोलखा तामाकोशी गाउँपालिका स्थित काब्रेकी ६० वर्षीया मंगलीले पाठेघरको शल्यक्रिया गरेको ५ वर्ष भयो । पाठेघर खस्ने समस्याबाट पीडित भएर शल्यक्रिया गरेपछि उनको आशा थियो– वर्षौंदेखिको पाठेघरको समस्याबाट मुक्ति पाउँछु ।

तर उनको समस्या घटेन । झनै बढेको छ । मंगलीले भनिन्– ‘आङखस्ने समस्या भएपछि पाँच वर्ष अघि अप्रेशन गरे तर अहिले पनि पाठेघर नफाले जस्तै समस्या भै रहेको छ ।’ शल्यक्रिया पछि अहिले झन् पिसाब चुहिने समस्या थपिएर पीडा भएको छ । तर उपचार गर्न जाने आर्थिक अवस्था नभएको उनको गुनासो छ ।

सर्मिला बुढाथोकी

दोलखाको गौरीशंकर गाउँपालिका स्थित जुँगुकी ५५ वर्षीया माइलीलाई पाठेघरको शल्यक्रिया पछि झन् फिस्टुला (पिसाब चुहिने) रोग थपिएको छ । माइलीले भनिन्, ‘पाठेघर फालेपछि समस्या घट्नुको साटो झन थपियो । अप्रेशन पछि हिँडडुल गर्न, काम गर्न पनि नसक्ने भएँ ।’

जिल्ला स्वास्थ्य कार्यालय दोलखाको तथ्याङ्क अनुसार जिल्लामा ३० प्रतिशत महिलामा पाठेघर खस्ने समस्या छ । कार्यालयले पाठेघरको भित्ता खस्ने समस्या भोगेका महिलाको आँकडा निकालेको छैन । यद्यपी, पाठेघरको शल्यक्रिया गरेका अधिकांशलाई समस्या घट्नुको साटो बढेको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखाकी पब्लिक हेल्थ नर्स सिर्जना लिङथेपका अनुसार पाठेघरको शल्यक्रिया पछि आराम, पौष्टिक आहारको आवश्यकता पर्छ । तर, यहाँका अधिकांश महिलाले आवश्यकता अनुसार नगरी गह्रुंगो भारी बोक्ने तथा पौष्टिक आहारमा विषयमा ध्यान नदिँदा समस्या झनै बल्झिएको हो ।

स्वास्थ्यकर्मीहरूका अनुसार पाठेघरको शल्यक्रिया पछि महिलाहरूले पर्याप्त आराम नगर्दा उनीहरूले पाठेघरको भित्ता खस्ने समस्या देखिएको हो । पाठेघरको भित्ता खस्ने समस्या भएपछि हिँड्दा अप्ठ्यारो हुने, भित्ताको मासंपेशी तानिदा पिसाब, दिसा नली तानिने र पिसाब चुहिने समस्या (फिस्टुला) देखिने भएकोले बिरामीले थप समस्या समेत व्यहोर्नु परेको लिङथेपले बताईन् ।

जिल्लामा पाठेघर खस्ने समस्या धेरै देखिएपछि जिल्ला स्वास्थ्य कार्यालय दोलखाले जिल्लाका ग्रामिण क्षेत्रमा आर्थिक वर्ष ०७४÷०७५ मा चार वटा शिविर सञ्चालन गरेको थियो । सुन्द्रावती, जँगु, काब्रे र भेड्पुमा सञ्चालन गरिएको शिविरमा स्वास्थ्य जाँच गर्नेमध्ये करिब ३० प्रतिशत महिलाको पाठेघर खसेको पाइएको उनले बताईन् ।

जसमा दोस्रो र तेस्रो तहको पाठेघर खसेका महिला धेरै थिए । ५० वर्ष भन्दा माथिका पाठेघरको शल्यक्रिया गरिसकेका ८ जना महिलाहरूमा पाठेघरको भित्ता खस्ने समस्या समेत पाइएको लिङथेपले बताईन् ।

पाठेघरको भित्ता खस्ने समस्याको उपचार विधि महंगो र झन्झटिलो हुने र स्वास्थ्यकर्मीको अभावका कारण उपचार पनि धेरै महिला रोग बल्झाएरै बसेका छन् ।

के कारणले पाठेघरको भित्ता खस्ने समस्या हुन्छ ?

पाठेघरको भित्ता खस्ने समस्या पाठेघरको शल्यक्रिया गरिसकेपछि महिलाहरूमा थप हुने समस्या हो । पाठेघर खसेपछि त्यस वरपरको मांशपेशी कमजोर भएका हुन्छन् । शल्यक्रिया पछि चिकित्सकको सल्लाह अनुसार पर्याप्त आराम गर्ने, पाठेघर वरपरको मांसपेशीलाई कसिलो बनाउन व्यायाम गर्नुपर्छ ।

तर त्यसो नगरी गहुँ्रगो भारी बोक्ने, सिंढी चढ्ने झर्ने गर्दा सिस्टोसेल (पिसाव थैली), रेक्टोसेल (दिसा थैली) खस्ने समस्या हुन्छ । स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर जमुना पौडेलका अनुसार जन्मजात कमजोर मांशपेशी भएका, महिनावारी चक्र रोकिएका महिला, पाठेघरको शल्यक्रिया पछि चाँडो शारीरिक सम्पर्कको कारणले पनि हुन्छ ।

पाठेघरको भित्ता खसेपछि हिँडडुल गर्न समस्या, पिसाब चुहिने, दिसा नअडिने समस्या हुने प्रस्तावित चरिकोट अस्पतालका डाक्टर विनोद दंगालले बताए ।

उपचार विधि
आङ खस्ने समस्या तेस्रो या चौथो चरणमा पुगेपछि धेरैले शल्यक्रिया गर्ने गर्छन् । शल्यक्रिया पछि स्वास्थ्यमा ध्याँन दिँदैनन् । परिणमः पाठेघरको भित्ता खस्ने समस्या बेहोर्छन् ।

स्वास्थ्यकर्मीहरूका अनुसार पाठेघरको शल्यक्रिया पछि महिलाहरूले पर्याप्त आराम नगर्दा उनीहरूले पाठेघरको भित्ता खस्ने समस्या देखिने गरेको छ । पाठेघरको भित्ता खस्ने समस्या भएपछि हिँड्दा अप्ठ्यारो हुने, भित्ताको मासंपेशी तानिदा पिसाब, दिसा नली तानिने र पिसाब चुहिने समस्या (फिस्टुला) देखिने भएकोले बिरामीले थप समस्या समेत ब्यहोर्नु परेको छ । 

यो समस्याको उपचार दुई पद्धतीबाट मात्रै गर्न सकिन्छ । डाक्टर जमुना पौडेलका अनुसार जुन भाग खसेको छ त्यसलाई रिङ पेसरी राखेर माथि लैजान सकिन्छ । अर्को चाँही शल्यक्रिया गरेर खसेको भागलाई माथि लैजाने पद्धती हो ।

यद्यपी, पाठेघरको भित्ता खसेपछि समस्या भएपछि उपचार विधि महंगो हुने र उपचार पनि निश्चित स्वास्थ्य संस्थामामात्रै भएकोले अधिकांश महिला उपचारको पहुँच बाहिर रहेका पब्लिक हेल्थ नर्स लिङथेपको भनाइ छ ।

नेपाल सरकारको नीति

सरकारले सकेसम्म आङखस्ने समस्यालाई पहिलो चरणमा नै समाधान गर्न चेतनामूलक अभियान, तालिम, गोष्ठि र ग्रामीण स्तरमा छलफल कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

पाठेघरको शल्यक्रिया सेवा नेपाल सरकारले निःशुल्क गरेको छ । तर, पाठेघरको भित्ता खस्ने समस्यालाई सरकारले सम्बोधन गरेको छैन । यसको सहज उपचारको पहुँचमा भने महिला छैनन् । नेपालमा पाठेघरको भित्ता खसेमा उपचार गर्ने चिकित्सक निकै कम छन् । सबै सरकारी अस्पतालमा समेत यो सेवा उपलब्ध छैन ।

ग्रामीण महिलाहरूमा आङ खस्ने समस्याको उपचार पछि ध्यान नदिँदा थप जटिलता आए पनि उनीहरू उपचारको पहुँचमा छैनन् । महिलाहरु सबैभन्दा पहिला पाठेघर जोगाउन सचेत छैनन् । तेस्रो र चौथो चरणमा शल्यक्रिया गर्ने मध्ये धेरैमा शल्यक्रिया पछि थप समस्या आउने जोखिम हुन्छ ।

जिल्ला स्वास्थ्य कार्यालय दोलखाकी पब्लिक हेल्थ नर्स लिङथेप स्वास्थ्य समस्या भन्दा कामलाई बढी प्राथामिकता दिँदा महिलाले थप स्वास्थ्य जोखिम भोगेका बताउँछन् । उनले महिलालाई पाठेघरको उपचार पछि चिकित्सकको सल्लाह मानेर पर्याप्त आराम गर्न, पाठेघरको भित्ता बलियो बनाउने व्यायाम गर्न र पौष्टिक आहार खान सुझाव दिईन् ।

(पत्रकार बुढाथोकी रामेछापबाट पत्रकारिता गर्नुहुन्छ ।)

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: