एकल महिला सुरक्षा कोषः रकम पाउने प्रक्रिया नै झन्झटिलोे


प्रकाशित मिति :2018-02-20 11:20:12

–महिला खबर–

काठमाडौं । भक्तपुरकी ३८ वर्षीया मिना श्रेष्ठ एक वर्षअघि बिरामी भइन् । उनको घाँटीमा समस्या देखियो । तत्काल अप्रेशन गर्नुपर्ने भयो । आर्थिक अवस्था कमजोर रहेकी उनलाई उपचारमा रकम जुटाउन मुस्किल पर्‍यो।

उनी एकल महिला हुन् । दुई सन्तानकी आमा मिनालाई अप्रेशन गर्न समस्या भयो । मानव अधिकारका लागि महिला एकल महिला समूह भक्तपुरकी सदस्य समेत रहेकी मिनाले आफ्नो समूहमा समस्या राखिन् ।

मिनालाई समूहले एकल महिला सुरक्षा कोषको रकम लिन सहयोग गर्ने निर्णय गर्‍यो । जिल्ला उपाध्यक्ष दिललक्ष्मी प्रजापति सहित उनी महिला तथा बालबालिका कार्यालयमा तीन पटकसम्म धाइन् । तर रकम भने पाउन सकिनन् ।

समूहकी जिल्ला उपाध्यक्ष  दिललक्ष्मीले भनिन् ‘कोषका लागि मिनालाई समेत लिएर महिला तथा बालबालिका कार्यालयमा निवेदन, वडाको सिफारिस सहित गयौ । तर रकम दिलाउन सकिएन ।’

‘एकल महिला सुरक्षा कोषबाट रकम लिन झन्झटिलो हुँदो रहेछ । बिरामीको तत्काल उपचार गर्नुपर्ने हुन्छ । हामीले दुई महिनासम्म कुर्‍याै‌ । तर मिनालाई कोषको पैसा उपलब्ध भएन’ दिललक्ष्मीले महिला खबरसँग भनिन् ।

रकम पाउने आशा मरेपछि मिनाले आफन्त र साथीभाइसँग ऋण खोजेर अप्रेसन गरिन् । उनको चाँडै उपचार हुन नसकेको भए क्यान्सर हुने सम्भावना रहेको डाक्टरले बताएका थिए ।
‘सुरक्षा कोषको रकम लिनलाई जिल्ला हुँदै मन्त्रालयसम्म कागजात पुग्नुपर्ने, प्रक्रिया लामो छ’ दिललक्ष्मीले भनिन् । जिल्लाका अन्य असहाय एकल महिलाले समेत सुरक्षा कोषको रकम पाउन नसकेको उनको भनाई छ ।

नुवाकोट विदुर नगरपालिकाकी देवकी पौडेललाई पनि एकल महिला सुरक्षा कोषको रकम लिन त्यस्तै सास्ती खेप्नुपर्‍यो । एकल महिलाले कोषको रकम पाउँछन् भन्ने

थाहा पाएपछि उनले २०७१ सालमा सात सदस्यीय समिति बनाएर महिला तथा बालबालिका कार्यालय नुवाकोटमा प्रस्ताव सहित निवेदन दिइन् । लामो समय लगाएर उनीहरूले एक लाख रुपैयाँ पाए । त्यहि रकमबाट असहाय एकल तीन जनाको पाठेघरको अप्रेशनमा सहयोग गरे ।

दोस्रो पटक एकल महिलाका क्षेत्रमा आयमूलक काम गर्ने भन्दै गत वर्ष प्रस्ताव हाले । तर रकम भने अहिलेसम्म पाउन सकेका छैनन् ।

उनी भन्छिन्, ‘कोषबाटै पाँच लाख रुपैयाँ पाउने भन्ने थियो । तर २ लाख ४८ हजार रुपैयाँ मात्र पाउने भन्ने सुन्नमा आएको छ । एक वर्ष भयो अहिलेसम्म आएको छैन् । महिला विकासमा बुझ्न गयो खातामा रकम आएको छैन् भन्छन् ।’
रकमबाट एकल महिलाको लागि स्वास्थ्य, शिक्षा र स्वरोजगारमा खर्च गर्ने योजना बनाएको पौडेलले बताइन् । ‘रकम आउने अत्तोपत्तो छैन् । अझै कति कुर्नुपर्ने हो थाहा छैन’ पौडेलले भनिन् ।

काठमाडौं तारेकेश्वर नगरपालिका एकल महिला समूहकी अध्यक्ष शशीदेवी भट्ट भन्छिन्, ‘एकल महिला सुरक्षा कोषको रकम लिन झन्झटिलो छ । अझ एकल महिला बिरामी भए भने त झ्न समस्या हुन्छ । बिरामी हस्पिटलमा छट्पटाइरहेको हुन्छ । कोषको रकम आउने कहिले हो कहिले । रकम लिन झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।’ भन्झटिलो प्रक्रियाकै कारण सुरक्षा कोषप्रति एकल महिलाको वितृष्णा भएको भट्टले बताइन् ।

के हो एकल महिला सुरक्षा कोष ?

महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले नेपाल सरकारको राष्ट्रिय कार्य योजना मार्फत एकल महिला सुरक्षा कोष (संचालन) नियमावली २०७० पारित गरी मापदण्ड २०७१ समेत बनाई कार्यान्वयनमा ल्याएको छ ।

एकल महिलाको सशक्तिकरण, क्षमता तथा सामाजिक मर्यादा अभिवृद्धि गरि सामाजिक न्यायको लागि जनचेनामूलक कार्यक्रम सञ्चालन गर्दै सामाजिक तथा आर्थिक दृष्टिले कमजोर तथा विपन्न वर्गका एकल महिलाको हित र संरक्षण तथा प्रवर्धनको सम्बोधन गर्नका लागि नेपाल सरकारले ल्याएको एउटा कोष जसलाई एकल महिला सुरक्षा कोष भनिन्छ ।

सो कोषमा नेपाल सरकारले रकम फ्रिज नहुने गरि वार्षिक कार्य योजनामा नै राखेको छ । सो कोषको मुख्य लक्षित वर्ग एकल महिलाहरू नै हुने भएकाले सो कोषको नाम नै ‘एकल महिला सुरक्षा कोष’ राखिएको छ ।

लक्षित एकल महिला

विभिन्न कारणले विवाहित महिलाका श्रीमानको मृत्यु भएमा, ३५ वर्षसम्म विवाह नगरी बसेका, सम्बन्ध विच्छेद गरि एक्लै बसेका महिला, अंशवण्डा गरेर वा मानो छुटिई पतिसँग अगल बसेकी महिला र पाँच वर्षदेखि पति हराई वा बेपत्ता भएका श्रीमानका श्रीमती महिलाले यो रकम पाउने गर्दछन् ।

खर्च हुने शिर्षक
उद्धार, राहत तथा पुनस्र्थापना, औषधी उपचार, कानूनी सहायता, शिक्षा र सीपमूलक तालिम र स्वरोजगार कार्य सञ्चालनका लागि कोषको रकम उपलब्ध गराइन्छ ।

झन्झटिलो प्रक्रिया

एकल महिला सुरक्षा कोषको रकम लिनका लागि एकल महिलाले व्यक्तिगत प्रयोजन तथा एकल महिला हक÷हितमा कार्य गर्ने संस्थाले रकम माग फारम गरि माग गर्न सक्छन् ।

सो कोषले ५ हजार देखि २५ हजार रुपैयाँसम्म अवस्था हेरी सहयोग गर्न सक्छ । सहयोग लिनका लागि एकल महिला भएको प्रमाणित हुने कागजात, नेपाली नागरिकताको प्रमाणपत्र, आफूले चाहेको सहयोगको विवतरण सहितको निवदेन र सम्बन्धित स्थानीय निकायले आर्थिक, सामाजिक रुपले कमजोर-विपन्न हो भनेर प्रमाणित गरिदिएको सिफारिस पत्र आवश्यक पर्ने हुँदा प्रक्रिया लामो हुने गर्दछ ।

मानवअधिकारका लागि एकल महिला समूहकी संस्थापक अध्यक्ष लिलि थापा भन्छिन्, ‘एकल महिलालाई उपचारका लागि पाउने रकम पचास लाखको उपचार खर्च जस्तो लामो प्रक्रिया छ, यसलाई सरल बनाउनुपर्छ ।’

‘सरलीकृत गर्न सकिन्छ’

कोषको मूल समिति महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तर्गत सचिवको अध्यक्षतामा गठन हुने गर्दछ । सो कोषको समितिमा विभिन्न मन्त्रालय तथा विभागका प्रतिनिधि रहन्छन् । समाज कल्याण मन्त्रालयलकी सहसचिव राधिका अर्याल भन्छिन्, ‘एकल महिलाको सुरक्षा कोषलाई सरलीकृत गर्न सकिन्छ । यसका लागि छिट्टै छलफल गर्दैछौ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: