–महिला खबर–
ललितपुर । आज फेब्रुअरी २० तारिख अर्थात अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवस । विभिन्न कार्यक्रमको आयोजना गरि यो दिवस मनाइदै छ ।
संयुक्त राष्ट्र संघको सन् २००७ को २६ नोभेम्बरमा बसेको महासभाले प्रत्येक वर्षको फेब्रुअरी २० लाई सामाजिक न्याय दिवसका रुपमा मनाउन आफ्ना सदस्य राष्ट्रहरूलाई आह्वान गरेको थियो । त्यस दिनबाट यो दिवस मनाउन थालिएको हो ।
अहिले विश्वभर सामाजिक न्यायको कुरा चर्को स्वरमा गुञ्जिन थालेको छ । व्यक्ति व्यक्तिबिच हुनु पर्ने समानतालाई सामाजिक न्याय भनि व्याख्या गरिएको छ । तर, लैंगिक समानताको खाडल भने अझै पनि गहिरो छ । सामाजिक न्यायको दृष्टिले पुरुषहरूको तुलनामा महिला निकै पछाडि रहेका छन् ।
नेपालकै सन्दर्भमा हेर्दा कुरीति, कुसंस्कारका कारण महिलाहरू दिनहुँ जसो हत्या, घरेलु हिंसा, यौन हिंसाको शिकार भईरहेका छन् । नेपाल प्रहरीको तथ्याङ्कमा आर्थिक वर्ष २०७१\०७२ यता ३ हजार ७ सय ५० महिला तथा बालिका बलात्कृत भएका छन् । त्यस मध्ये बालिकाको संख्या धेरै छ ।
जिल्ला अदालत काठमाडौंमा यहि आर्थिक वर्षमा मात्रै २ सय ९१ अंश सम्बन्धी मुद्दा दर्ता भएका छन् । जस मध्ये २ सय ५१ वटामा महिलाले अंशदाबी गरेर मुद्दा दर्ता गरेका छन् ।
अधिवक्ता अनिता शर्मा प्रश्न गर्छिन्, ‘संविधानमा छोरा र छोरीले समान अंश पाउने व्यवस्था छ । तर छोरीले अंश पाउन कानुनी लडाई लड्नु पर्ने अवस्थामा कसरी सामाजिक न्याय समान हुन्छ रु’ उनले थपिन्, ‘महिलाहरूले आफ्नो हक अधिकारको लागि कानुनी लडाई लड्दा पनि न्याय पाउन गाह्रो हुन्छ ।’
अदालतमा दर्ता भएको मुद्दा अनुसार पनि महिला पीडित भएको देखिन्छ । अदालतबाट फैसला भएको मुद्दा कार्यान्वयन नहुँदा न्याय पाउन कठिन भएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार कृष्णप्रसाद नेपालले बताए । उनी भन्छन्, ‘सम्पत्तीसँग जोडिएका अधिकांश मुद्दामा महिलाले अदालतबाट न्याय पाए पनि घर परिवारबाट पाउँदैनन् ।’
Comment Here!